प्रदेश आयुर्वेद औषधालय स्तरोन्नति गरिँदै

सल्यान टुडे,
सल्यान १६, कार्तिक ।
सुर्खेतको वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश आयुर्वेद औषधालयलाई १५ शैय्याको चिकित्सालय बनाइने भएको छ । कर्णाली प्रदेश सरकारले जनताको बढ्दो मागलाई सम्बोधन औषधालयलाई विशेषज्ञ चिकित्सालय बनाउन लागेको हो ।

यसका लागि प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसकेको बताएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकले कर्णालीको आफ्नै मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय निकायसम्म र्पुयाउन आवश्यक रहेको बताउनुभयो । ‘प्रदेश सरकार कर्णालीमा उपलब्ध जडीबुटीको संकलन, भण्डारण तथा प्रशोधन गर्न आवश्यक बजेट तथा स्थलको छनोट तयारीमा छौं,’ उहाँले भन्नुभयो ।

यस्तै, जुम्ला तथा रुकुमको चौरजहारीमासम्भाव्यता अध्ययन गरी जडीबुटी प्रशोधन तथा औषधि उत्पादन कार्य शुरु गरिने योजना प्रदेश सरकारले बनाएको उहाले जानकारी दिनुभयो । कर्णालीमा उपलब्ध बहुमूल्य जडीबुटी संकलनसँगै आयुर्वेद औषधि तथा चिकित्सा पद्धतिका बारेमा व्यापक छलफलका लागि प्रदेश सरकार सुर्खेतमा छिट्टै राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागेको उहाँको भनाई छ ।

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले विशेषज्ञ चिकित्सालय सहित प्रदेश आयुर्वेद औषधालयलाई जडीबुटी संकलन, भण्डारणसँगै देशकै नमूना आरोग्य केन्द्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्र औषधालयको विकासका लागि हरेक स्तरबाट सहयोग गर्न आतुर रहेको बताउँदै उहाँले संघको पहलमा शुरू गरिएको जडीबुटी संकलन केन्द्रलाई पूर्णता दिन प्रदेश सरकारको ध्यानकर्षण गराउनुभयो ।

प्रदेश आयुर्वेद औषधालयका अध्यक्ष विनोद ढकालले पहिलेको तुलनामा प्रदेश आयुर्वेद औषधालयको सेवा सुविधा विस्तार गरिएको भए पनि अझै अपर्याप्त रहेको बताउनुभयो । औषधालयबाट विशेषगरी जन्डिस, अम्लपित्त, पक्षाघात, पाइल्स, फिस्टुला र फिसरका बिरामीले बढी सेवा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस