प्यूठान जिल्ला अस्पतालमा चिकित्सकको अभाव

सल्यान टुडे,
सल्यान २५, कार्तिक ।
प्यूठान जिल्ला अस्पतालमा दरबन्दी अनुसार चिकित्सकको अभाव भएको छ । १४ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा तीन जनाको पदपूर्ति छ । उपलब्ध डाक्टर समेत बिदामा बस्दा बिरामीको उपचारमा समस्या भएको प्यूठान अस्पतालका व्यवस्थापक राजन घिमिरेले बताए । ‘अस्पतालमा अहिले एक जना पनि डाक्टर छैनन्,’ घिमिरेले भने, ‘मेडिकल सुपेरिटेन्डेन्ट नहुँदा औषधि खरीद गर्न समेत सकिएको छैन ।’

अस्पतालमा कार्यालय सहयोगी सहित ५४ जनाको दरबन्दी भए पनि हाल २७ जना मात्र रहेको उनले बताए । अस्पतालमा चिकित्सक नहुँदा बिरामीहरू सामान्य उपचारका लागि पनि निजी क्लिनिक तथा जिल्ला बाहिरका अस्पताल धाउन बाध्य छन् । अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा उपलब्ध उपकरणहरू सञ्चालन गर्न नसकिएको र बिरामीलाई बाहिर रेफर गर्नुपरेको व्यवस्थापक घिमिरेको भनाइ छ । समस्याबारे प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयलाई जानकारी गराइए पनि सुनुवाइ नभएको गुनासो उनले गरे ।

प्रतिक्रिया दिनुहोस