कविता : एक अदृश्य युद्ध

कौशल वली

हरेक बिहान एउटा नयन दुर बाट
अन्धो घोडा बनेर हेर्छ
लजाएर लथ्रीएको लज्जावती देखी
ताज पाएर नि राज नपाएको गजराज सम्म देख्छ ।

देख्छ, हरिण माथि जगुवारको हरण पनि
र थाहा छ हरिण र हरियो हर्लांसको राजपनी
तरङ्याउंँछ फुर्तिला छहरा र पुटुस्स परेका समुन्द्र पनि
नचाउंछ मरुभूमिका सितारा र हिमाली भुवां पनि
र आफैंमा जागृत गर्छ रोमहर्ष ।

उसले देखेको छ, स्वघोषित क्रुर शासकको प्रजाती
कुइच्छा छ सारा ब्रह्माण्ड उसैको इसाराले चलोस
वायु देखी आयुसम्म आकाश देखी पाताल सम्म
कुर देखी धुरसम्म र कक्ष देखि अक्ष सम्म
र बनोस अद्वितीय साम्राज्य ।

देखिरहे कै छ, पखेटा काटेर पंखा बनेको
खाग भाँचेर नांँक चम्काइ रहेको
किनार मासेर इनार जन्माइ रहेको
बोट काटेर रोड बनाइ रहेको
र माड्दै छ प्रलयको समृद्धि ।

एक दिन त्यो नयन दिन बनेर आउने छ
भत्काउने छ स्वघोषित साम्राज्य एक झोक्काको भरमा
प्याँला फुटोस ज्वाला लुकोस
अन्त्य होस् अन्त्य जस्तो नलागोस
प्रलयहोस तर प्रलयको भान नहोस
एक अदृश्य युद्ध ।

प्रतिक्रिया दिनुहोस