आज मानव जाती असाधारण र अदृष्य कोरोना भाईरसबाट संकटमा फसेको छ । संसारका अधिकांश देशमा कोरोना भाईरसको संक्रमण बिस्तार भइसकेको छ । लाखौ मानिसहरूको मृत्यु पनि भईसकेको छ । लगभग पुरै बिश्व एकसाथ ठप्प भएको छ । यो अवस्था कहिलेसम्म भोग्नुपर्ने हो ? समस्याको समाधान कहिले हुन्छ ? यी प्रश्नको उत्तर कसैसँग छैन । संसारमा हरेक चिज क्षणिक छन् । त्यसैले आशा गरौं, कोरोनाको प्रकोप मानव जातिका लागि क्षणिक समस्या हुने छ ।
मानव जातिले व्यहोरी रहेको यो दुःख न त मानव जातिको इतिहासको पहिलो हो न अन्तिम । सन् १९५७ मा चलेको एसियन फ्लु भनिने महामारीका कारण चीन, सिंगापुर, हङकङ, अमेरिका लगाएतका देशमा २० लाख मानिसको मृत्यु भएको थियो । सन् १९६८ मा हङकङबाट सुरु भएको हङकङ फ्लुबाट हङकङ, सिंगापुर, भियतनाम, फिलिपिन्स, भारत, अमेरिका, अस्ट्रेलिया, युरोपमा १० लाख मानिसको मृत्यु भएको थियो ।
सन् १९८१ देखि फैलिएको एचआईभी एड्स संक्रमणको महामारीबाट आजसम्म विश्वमा कम्तीमा चार करोड मानिसको मृत्यु भइसकेको छ । सन् २००९ मा मेक्सिकोबाट सुरु भई संसारभर फैलिएको स्वाइन फ्लुबाट विश्वभर डेढ अर्ब मानिस प्रभावित भएका थिए भने लगभग ६ लाख मानिसको मृत्यु भएको थियो ।
त्यसैले प्राकृतिक माहामारीबाट बच्न अबका दिनमा मानब जातिले प्रकृतिको दोहन र शोषणलाई घटाएर पृथ्वीलाई अनुकूलनमा रहन दिन प्रयत्नशील रहनु बुद्धिमानी हुनेछ । यही स्तरमा विकास, सुविधा र समृद्धिको नाममा प्राकृतिक स्रोत, जमिन, जल, वातावरण, बोटबिरुवा र अन्य जनावरको दोहन र विनाश जारी राखेमा मानव जातिले यो भन्दा भयानक महामारी भोग्न तयार हुनैपर्छ ।
विकास र सुविधाका नाममा हामीलाई विज्ञान र प्रविधिमा रहेर कृत्रिम जीवन प्यारो भयो । हामी प्रकृतिको दोहन गर्न त खतरा भयौ तर प्रकृतिलाई संरक्षण गर्न तयार भएनौँ । अझ उल्टो प्रकृति विरूद्ध कार्य गरेर उसको सहि गति बिगारी दियौं । भाईरसहरुलाई मलजल पुग्ने किसिमका गतिविधि गर्दै आयौँ ।
डा.दयाराम भुषालले प्रकृतिलाई चिठी लेखमा भन्नुभएको छ ‘प्रत्येक दिन हामी मानब कै कारणले हजारौं बोट बिरुवा, चराचुरुङ्गी, कयौं पुतली र हजारौं हजार अन्य जिबजन्तु लोप हुदै छन् ।’
उहाँले भने जस्तै मनुष्य आफूलाई विवेकशिल प्राणी सम्झन्छ । तर, मनुष्य नै त्यो प्राणी हो, जो हण्डर ठक्कर नखाई चेत्दै चेत्दैन । जब प्रकृति र हामी मानबहरूको सम्बन्ध बिग्रियो, तब पटक पटक देखा पर्ने नयाँ नयाँ माहामारी यसैको परिणाम जस्तो भईरहेको छ । जस्तै अहिलेको कोभिड १९ ।
प्रकृतिको दोहन गर्नु, वातावरण प्रदुषण गर्नु, परम्पराको विनाश गर्नु आधुनिक मानव सभ्यतालाई असर पार्नु नै हो । प्राकृतिक स्रोत साधन, प्रकृतिको संरक्षण, र परम्पराको सहि गतिको आधारमा हामि मानब अडिएको तथ्य हामीले भुल्नु हुँदैन ।
नेपालको सन्दर्भमा कोरोनाका कारण बैदेशिक रोजगारमा गएका लाखौँ युवाहरू नेपाल आउने निश्चित छ । देश भित्रै रहेका युवा पनि बेरोजगार छन्, यस्तो अबस्थामा आफ्नै देश विकासमा युवाहरूलाई परिचालन गर्नु सरकारको मुख्य दायित्व रहने छ । प्रधानमंन्त्री रोजगार कार्यक्रमलाई प्रभाबकारी बनाउनु पनि सहज हुनेछ ।
अर्कैको देशको भरमा परजिवी जसरी बाँचिरहेका हामी युवाहरूलाई कृषि, बन र विकास पुर्बाधारका काममा विशेष परिचालन गर्नुपर्छ । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले जुन सुकै विकास निर्माणका काममा होस् अत्याआबश्यक बाहेक अन्य काममा मेसिन हैन युवालाई रोजगार दिनुपर्छ । लकडाउनका कारण अधिकांश युवाहरू अत्तालिएका छौँ, सडकका नाली खनेर भएपनि आधारभुत आबश्यकता पुरा गर्नुपर्छ भन्ने सोच सबैमा आएको छ । कोरोनालाई संकटको रूपमा मात्रै नलिई अबसरको रूपमा लिएर विकास निर्माणका काममा युवाहरूलाई परिचालन गरि देश समृद्ध बनाउने सरकारको निति हुनु आबस्यक छ ।
कोरोनाको प्रभाबमा सबै क्षेत्र ठप्प हुदा अचाक्ली पिडा महसुस भएको छ । के गरू कता जाउ, कसरी जिबनयापन गर्ने भन्ने पिरलो छ । कोरोनाले अब परजिवी होईन आत्मनिर्भर बन्न सकाउदै छ, बाँजो रहेको खेतबारी खन्न सिकाउदै छ, सबै भन्दा उत्तम पेशा कृषि रहेछ भन्ने सिकाउदै छ, संसारकै बहुमुल्य बस्तु अन्न रहेछ भन्ने सिकाउदै छ, विदेश होईन आफ्नै देशमा गर भन्ने सिकाउदै छ, प्रविधि र कृतिममा होईन प्राकृतिकमा रमाउन सकाउदै छ, प्रकृति विरूद्ध कार्य गर्नु गलत रहेछ भन्ने सिकाउदै छ ।
अन्त्यमा, आशा गरौं, कोरोना महामारी छिट्टै नियन्त्रण हुने छ र हामी मानव जाति, हाम्रो नवीन भविष्य निर्माणमा प्रकृतिले दिएको नयाँ शिक्ष सहित अगाडि बढ्ने छौं । त्यसैले मनोबल उच्च राखौ, कोरोनाबाट सचेत रहाँै, लकडाउनको पुर्ण रूपमा पालना गरौँ । धन्यबाद ।
विष्णु न्यौपाने
शारदा नगरपालिका वडा नं. १५ माल्नेटा सल्यान ।