सल्यान २, आषाढ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनले बिद्यार्थीहरुको पढाई प्रभावित भैरहेको अबस्थामा सल्यानमा ‘रेडियो स्कुल’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कक्षा १ देखी कक्षा ५ सम्मका बालबालिकाहरुलाई समेटेर तयार पारिएको कार्यक्रम रेडियो स्कुल प्रभावकारी बन्दै गएको हो ।
रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राबिधिक सहयोग तथा दलित बिकास समाज सल्यान मार्फत सञ्चालित साक्षरता कार्यक्रम र रेडियो राप्ती एफ.एम., रेडियो शारदा एफ.एम. र रेडियो तहल्का एफ.एम.सल्यानको समन्वयमा उत्पादन तथा प्रशारण भैरहेको रेडियो स्कुल कार्यक्रम प्रभावकारी बन्दै गएको हो । अहिले हरेक दिन बेलुका साढे पाँच बजेपछि सल्यानका तीन वटा सामुदायिक रेडियो राप्ती, शारदा र तहल्काबाट आधा घण्टाको कार्यक्रम प्रशारण भैरहेको छ ।
यस कार्यक्रम सञ्चालन भएपछि बालबालिकाहरुले घरमा नै रमाई रमाई पढ्न थालेका छन् । कार्यक्रममा सहभागी हुने, आफ्ना रचनाहरु जस्तै कथा, कबिता, बालगित रेडियोबाट सुनाउने र रेडियोबाट गृहकार्य दिईने तथा घरैमा अभिभावकहरुबाट ती गृहकार्यको जाँच हुने भएपछि बालबालिकाहरु रेडियो स्कुल कार्यक्रम सुन्दै रमाई रमाई पढ्न थालेका हुन् ।
शारदा नगरपालिका वडा नं. १३ मा रहेको सिर्जनशिल आधारभूत बिद्यालयमा कक्षा ३ मा अध्ययनरत निरुता घर्तीले रेडियो स्कुलमा सहभागी भएर आफुले रचना गरेका रचनाहरु सबै साथीहरुको माझमा राख्न पाउदा खुसी लागेको बताउनुभयो । उहाँले घरमा नै बसेर रेडियोबाट पढ्न पाउदाँ खुसी लागेको बताउनुभयो । आफु कार्यक्रममा सहभागी नभएको दिनमा रेडियो सुनेर सहभागी हुने गरेको उहाँले बताउनुभयो ।
छत्रेश्वरी गाउँपालिका वडा नं. ५ पोखरामा रहेको कालिका प्राथामिक बिद्यालयका प्रधानाध्यापक बालाराम वलीले घरैमा बसेर पनि सिकाई हासिल गर्नको लागी रेडियो स्कुल कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । अहिले हरेक बालबालिकाहरुले कार्यक्रम सुनेर सहभागी हुने गरेको बताउदैँ उहाँले आफुले पनि नियमित रुपमा कार्यक्रम सुन्दै आएको बताउनुभयो । रेडियो स्कुल कार्यक्रमलाई बिषयगत रुपमा सञ्चालन गर्न सके अझै राम्रो हुने उहाँको भनाई छ ।
रेडियो स्कुलमा दैनिक प्रत्यक्ष रुपमा आधा दर्जन बालबालिका र अप्रत्यक्ष रुपमा रेडियो सुनेर सहभागी हुने गरेको कार्यक्रम सञ्चालक शिब डाँगीले जानकारी दिनुभयो । उहाँले लकडाउन कारण घरमा बसेका बालबालिकाहरुलाई रचनात्मक र सिर्जनशिल तथा पढ्ने बानीको बिकास गर्न रेडियो स्कुल प्रभावकारी माध्यम बनेको बताउनुभयो । कार्यक्रम सञ्चालन पश्चात बालबालिका सँगै अभिभावकहरु पनि थप जिम्मेवार बनेको उहाँको भनाई छ ।
रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले बालबालिकाहरुलाई घरमा नै बसेर पढ्न मिल्ने बातावरणको सिर्जना गर्न रेडियो स्कुल कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले यस कार्यक्रममा जिल्लाका बिभिन्न बिद्यालयहरुमा कक्षा पाँच सम्म अध्ययनरत करिब दश हजार बालबालिका सहभागी हुने गरेको बताउनुभयो । बालबालिकाहरुलाई घरमा नै बसेर पनि पढ्न र रचनात्मक कार्यमा सहभागी सहभागी हुन प्रेरित गर्ने उद्धेश्यले रेडियो स्कुल कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।