सल्यानमा भू तथा जलाधार संरक्षणमा झण्डै २ करोड खर्च

सल्यान २६, आषाढ ।
सल्यानमा भू तथा जलाधार संरक्षणमा झण्डै दुई करोड खर्च गरिएको छ । जिल्लाका बिभिन्न सात स्थानमा तटबन्ध तथा पहिरो नियन्त्रण लगाएतका कार्यमा रु. १ करोड ९२ लाख ५० हजार खर्च गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । जसमा संघिय सरकारको ससर्त वजेट रु. २० लाख र प्रदेश सरकारको १ करोड ८२ लाख ५० हजार रुपैँया रहेको थियो ।

जसमा प्रदेश सरकारको सबै वजेट खर्च भएको छ भने संघिय ससर्तको आधा रकम मात्रै खर्च भएको छ । चालु आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारको विनियोजित बजेटबाट डिभिजन वन कार्यालय मार्फत जिल्लामा भू संरक्षणका कार्यहरु सम्पन्न भएको हो ।

यस बर्ष जिल्लामा तटबन्ध निर्माणका पाँच, पहिरो नियन्त्रणका एक र भू संरक्षणका एक योजना सम्पन्न भएको भू तथा जलाधार ब्यबस्थापन शाखाका जलाधार ब्यबस्थापन अधिकृत दिपेश केसीले जानकारी दिनुभयो । जस अनुसार शारदा नदि सहित बिभिन्न खोला किनाराहरुमा भू तथा खेतीयोग्य जमिन कटान रोक्नको लागी बिभिन्न संरचना निर्माण गरिएको हो ।


बर्षेनी पहिरो जाने कपुरकोटको खारा पहिरो नियन्त्रणमा यस बर्ष ५२ लाख ५० हजार रुपैँया खर्च भएको छ । खारामा तटबन्ध निर्माण तथा बृक्षारोपण लगाएतका बिभिन्न कार्यमा वजेट खर्च भएको हो । यस्तै संग्रही खोला तटबन्ध निर्र्माण बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ७, १० र ११ मा रु. ३५ लाख, स्यानीपिप्ली भेरीनदी तटबन्ध निर्माण कुमाख गाउपालिका वडा नम्बर १ मा रु. ३० लाख खर्च भएको छ ।

यस्तै लामाडाँडा भू संरक्षण शारदा नगरपालिका वडा नम्वर ४ मा रु. ३० लाख, सिंबाङ घुरखोला तटबन्ध निर्माण कपुरकोट गाउपालिका वडा नम्बर ६ मा रु. २० लाख र पेदीखोला तटबन्ध निर्माण बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ अम्रामा रु. १५ लाख खर्च भएको छ । ‘संघिय ससर्तबाट बरला भट्टाचौर तटबन्ध निर्माणमा रु. १० लाख खर्च भएको छ, बाँकी रु. १० लाखले कालीमाटी गाउपालिकामा काम गर्ने गरी तय भएको थियो, तर कोरोनाका कारणले काम हुन सकेन्’ उहाँले भन्नुभयो ।

भूक्षय, जमिन कटान लगाएतका कार्य रोक्नको लागी यस बर्ष संरचना निर्माणको काम गरिएको हो । साथै यस कार्यले जलाधार संरक्षणमा समेत टेवा पुग्ने कार्यालयको भनाई छ ।

खारा पहिरो नियन्त्रण उपभोक्ता समितीका सचिव शिशिर गिरीले बर्षेनी झर्दै आएको पहिरोलाई नियन्त्रणको लागी यस बर्ष बिभिन्न संरचना निर्माण गरिएको बताउनुभएको छ । खारा पहिरोका कारण कपुरकोट वजार नै जोखिममा रहेको बताउदैँ यसको नियन्त्रण र रोकथामका लागी काम भैरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस