सल्यान १३, साउन ।
सल्यानमा मौरीपालन ब्यबसाय तर्फ किसानको आकर्षण बढेको छ । कम लगानी र खर्चमा मनग्य आम्दानी हुनथालेपछि मौरीपालन व्यावसायिक बन्दै गएको हो । जिल्लाको कालीमाटी गाउपालिका, कुमाख गाउपालिका लगाएतका क्षेत्रका किसानहरुले ब्यबसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । अहिले जिल्लाभर १ हजार ५ सय ३० आधुनिक घारमा मौरीपालन भैरहेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।
कालीमाटी गाउपालिका वडा नम्बर २ झिंगानेका मौरीपालक किसान नेत्र लाल वलीले कम लगानी र खर्चमा नै मनग्य आम्दानी हुनथालेपछि ब्यबसायिक रुपमा मौरीपालन गर्दै आएको बताउनुभएको छ । केही बर्षयता ब्यबसायिक रुपमा नै मौरीपालन गर्दै आउनुभएका उहाँले मौरीको मह तथा गोला बिक्रीबाट बर्षेनी लाखौँ आम्दानी गर्दै आएको उहाँको भनाई छ ।
यस बर्ष मात्रै मह बिक्रीबाट साढेँ २ लाख आम्दानी भएको उहाँले जानकारी दिनुभयो । जसको लागी २ क्वीन्टल मह उत्पादन भएको थियो । यस्तै १ सय ५० घार मौरीका गोला बिक्रीबाट करिब ५ लाख आम्दानी भएको उहाँको भनाई छ ।
४४ प्रतिशतले मह उत्पादनमा कमी
जिल्लामा यस आर्थिक बर्ष मह उत्पादनमा कमी आएको छ । अघिल्लो आर्थिक बर्ष २०७५/०७६ मा जिल्लाभर १९ मेट्रिक टन मह उत्पादन भएको थियो । तर आर्थिक बर्ष २०७६/०७७ मा जिल्लामा मह उत्पादनमा कमी आएर १० दशमलव ५ मेट्रिक टन मात्रै मह उत्पादन भएको कृषि बिकास कार्यालयको भनाई छ ।
अघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्ष मह उत्पादनमा ४४ प्रतिशतले कमी आएको कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । मौरीको मूख्य चरण मानिएको चिउरी फूल्ने समयमा लगातार बर्षात भएका कारण मौरी जंगलमा चर्न जान नपाएपछि मह उत्पादनमा कमी आएको उहाँको भनाई छ । जिल्लाका किसानले उत्पादन गरेको करिब ६० प्रतिशत मह जिल्लामा नै खपत हुने गर्दछ ।
यस बर्ष मौरी ब्लक र पकेट क्षेत्र कार्यक्रम सञ्चालन
मौरीको चरण क्षेत्र राम्रो भएको र मह पनि बर्षेनी राम्रो उत्पादन हुने भएपछि जिल्लामा आर्थिक बर्ष २०७६/०७७ मा मौरी ब्लक र मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । कृषि बिकास कार्यालय सल्यानका सुचना अधिकारी बस्नेतले रु.३९ लाख ५० हजारबाट मौरी ब्लक र रु.३ लाखबाट पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको छ ।
उहाँका अनुसार कालीमाटी गाउपालिकाका वडा नम्बर १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउपालिका वडा नम्बर ३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई ब्यबसायिक मौरीपालन तर्फ आकर्षित गर्ने र यस ब्यबसायलाई ब्यबस्थित रुपमा सञ्चालन गर्ने उद्धेश्यका साथ मौरी ब्लक र पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
मौरी ब्लक कार्यक्रमबाट ७५ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । ब्लक क्षेत्रमा सात सय वटा आधुनिक खाली घार वितरण गरिएको छ । यस्तै चार सय वटा मौरीका गोला, दश वटा महदानी, फलामका घार स्ट्याण्ड लगाएतका सामाग्रीहरु वितरण गरिएको छ । यसबाट किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
यस्तै मौरी पकेट क्षेत्र कार्यक्रम मार्फत २२ घरधुरी लाभान्वित भएका छन् । त्यहाँ पनि ८५ घार मौरीका गोला वितरण गरिएको छ । यस्तै अन्य उपकरणहरु पनि वितरण गरिएको कार्यालयको भनाई छ ।