सल्यानको त्रिवेणीमा तीन लाखको ध्रुव श्रेष्ठ छात्रवृत्ति अक्षयकोष स्थापना

सल्यान, १७ भदौ ।

सल्यानको त्रिवेणी गाउँपालिकामा जेहेन्दार तथा विपन्न छात्रवृति अक्षयकोष स्थापना भएको छ । त्रिवेणी ६ लुहाम बजार निवासी श्रेष्ठ परिवारले स्वर्गीय ध्रुव प्रसाद श्रेष्ठको सम्झनामा तीन लाख रुपैयाँको गाउँपालिका स्तरिय अक्षयकोष स्थापना गरेका हुन् । समाजसेवी स्वर्गीय ध्रुव श्रेष्ठकी श्रीमति रेमु श्रेष्ठ, छोरा बुहारीहरु डाइमण्ड श्रेष्ठ, झुला श्रेष्ठ, प्रभात कुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रियवत्र श्रेष्ठ, मनिसा श्रेष्ठ, छोरी ज्वाई उपासना पुन, कृति बहादुर पुनले कोष स्थापना गरेका हुन् ।

छात्रवृति अक्षयकोष सञ्चालन कार्यविधि तयार पारेर राष्ट्रिय वाणिज्य बैंकमा बुधबार तीन लाख रुपैयाँ जम्मा गरिएको छोरा प्रभात कुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमको ब्याज वापत आउने रकमबाट हरेक वर्ष त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायीक विद्यालयमा कक्षा ५ मा उत्कृष्ट अंक ल्याउने एक जना छात्रा, एक जना छात्र र विपन्न एक जना गरी तीन जनालाई छात्रवृति प्रदान गरिने छ । ‘स्वर्गीय बुवा ध्रुव श्रेष्ठको वार्षिक पुन्यतिथि भाद्र शुक्ल चतुर्दशीका दिन छात्रवृति प्रदान गर्नेगरी कोष स्थापना गरेका हौँ,’ छोरा प्रभातले भने ।

छात्रवृति अक्षयकोष सञ्चालनका लागि रेमु श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा त्रिवेणी गाउँकार्यपालिकाबाट तोकिएका एक जना र शिक्षा शाखा प्रमुख पनि रहेका छन् । जेहेन्दार गरिव र विपन्न वर्गका वालवालिकालाई छात्रवृतिको आवश्यकता पर्ने भएकाले कोष स्थापना गरिएको श्रीमति रेमु श्रेष्ठले बताइन् । आफुहरुको सानो सहयोगले ती वालवालिकाहरुको भविष्य उज्वल हुने अपेक्षा सहित अक्षयकोषको स्थापना गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस