सल्यानमा नियमित बजार अनुगमण नहुदाँ उपभोक्ता मारमा

‘सरोकारवाला निकाय मौन’

सल्यान २६, असोज ।
हिन्दु नेपालीहरूको महत्वपूर्ण चाड दसैंतिहार नजिकिएसँगै बजारमा चहलपहल पनि सुरु भएको छ । तर जिल्लामा बर्षमा एकपटक पनि मुस्किल्ले हुने बजार अनुगमनका कारण आम उपभोक्ता मारमा परेका छन् । नेपालीहरूको महानपर्व दशैं आउन अब दुई हप्ता पनि बाँकी छैन तर सल्यानका बजार अनुगमनमा सम्बन्धित निकायले ध्यान नदिँदा आम उपभोक्ता मारमा परेका छन् ।

बजारहरूमा अनुगमन नहुँदा व्यापारीको मनमानी चल्ने गरेको उपभोक्ताको गुनासो छ । बजार अनुगमन नहुदाँ व्यापारीले महँगो मुल्यमा सामान बिक्री गर्ने गरेको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ का पुष्कर बिसीले बताउनुभयो । ‘व्यापारीले खुलेआम मिसावट गरिएका अखाद्य वस्तुको बिक्री वितरण र महँगो मूल्यमा सामानहरु बिक्री गरिरहेका छन्, यसले गर्दा उपभोेक्ताहरु प्रत्यक्ष मारमा परेका छन्’ उहाँले भन्नुभयो ।

संघीयता कार्यान्वयन सँगै जनताको घरदैलोमा आएको स्थानीय सरकार लगायत सरोकारवाला निकायले नियमित रूपमा बजार अनुगमन नगर्दा उपभोक्ता ठगिने गरेको उहाँको गुनासो छ । बजारमा नापतौल विभागअन्तर्गत पर्ने ढक, तराजु समेत खिया लागेका, बर्षौ पुराना तथा ढुंगाको प्रयोग हुने गरेको उपभोक्ताहरुको भनाई छ ।

उपभोक्ता हित संरक्षण समितीका केन्द्रिय सदस्य रामचन्द्र रेग्मीले बजार अनुगमन नहुँदा उपभोक्ता ठगिने क्रम बढेको बताउनुभयो । ‘व्यापारीले खरिद गरेको बिल र बिक्री गरेको बिल हेर्दा मात्रै पनि थाहा पाउन सकिन्छ, उपभोक्ता कति ठगिएका छन्, तर पनि सरोकारवाला निकाय भने मौन छ’ उहाँले भन्नुभयो । बजार अनुगमनको अधिकार पाएका स्थानीय तहले बजार नियमित रुपमा वजार अनुगमण नगर्दा समस्या भएको उहाँको भनाई छ ।

नीतिनिर्माताका रूपमा रहेका जनप्रतिनिधि नै अलमलमा परेको रेग्मीले बताउनुभयो । ‘कोरोनाका कारण समस्यामा परेका उपभोक्ताहरुले गुणस्तरी सामान नपाउदाँ थप समस्या भएको छ, यस्तो अबस्थामा हुनसक्ने कालोवजारीलाई रोक्नको लागी सरोकारवाला निकायले ध्यान दिन आबश्यक छ’ उहाँले भन्नुभयो ‘चाडपर्वमा मात्रै वजार अनुगमण गर्ने परिपाटीलाई अन्त्य गर्दै नियमित रुपमा गर्नुपर्दछ ।’

सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले कालोवजारी हुन नदिन र उपभोक्तालाई ठगिनबाट बचाउनको लागी नियमित रुपमा वजार अनुगमण गरिनुपर्ने बताउनुभएको छ । अहिले वजार अनुगमणको जिम्मेवारी स्थानिय तहलाई भएको बताउदैँ उहाँले जिल्ला प्रशासन कार्यालयले पनि स्थानिय तहसँग वजार अनुगमणका बारेमा समन्वय गरिरहेको बताउनुभएको हो ।

शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले बिबिध कार्यव्यस्तताका कारण वजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो । उहाँले वजार अनुगमणको लागी तयारी भैरहेको जानकारी दिनुभयो । मूख्यतः आर्थिक अभाव हुदाँ वजार अनुगमणमा समस्या भएको बताउदैँ उहाँले दशैँ अगाडी नै सबै वजारहरुको अनुगमण गर्नेगरी तयारी भैरहेको जानकारी दिनुभयो ।

जिल्लाका प्रमुख व्यापारिक केन्द्र श्रीनगर, खलंगा, थारमारे, सल्लीवजार, कपुरकोट सँगै अन्य ग्रामिण स्तरका वजारहरुको अनुगण गरेर नियमित बिपरित व्यवसाय सञ्चालन गरेका व्यापारीहरुलाई कारवाही गर्न उपभोक्ताहरुले माग गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस