सल्यान ३०, असोज ।
सल्यानमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । अहिले सल्यान जिल्ला अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्रद्धय लेखपोखरा र थारमारे तथा अन्य केही स्वास्थ्य चौकीहरुले पनि सेवा प्रवाह गरेपछि सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।
गत आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर २ सय ३३ जना महिलाले सुरक्षित गर्भपतन गरेका छन् । जसमा सल्यान जिल्ला अस्पतालबाट मात्रै १ सय ७१ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित गर्भपतन गराउने महिलाहरु मध्ये १३ जना २० बर्ष मुनिका रहेका छन् ।
यस्तै अघिल्लो आर्थिक बर्ष २०७५/०७६ मा जिल्लाभर ३ सय ३७ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको उहाको भनाई छ । उहाँले जिल्ला अस्पताल, २ वटा प्राथामिक स्वास्थ्य केन्द्र, देवस्थल स्वास्थ्य चौकी लगाएतका सरकारले सुचिकृत गरेका स्वास्थ्य संस्था र सचिकृत तथा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भैरहेको जानकारी दिनुभयो ।
मुलुकी ऐन ११ औँ संशोधनको परिच्छेद–४ मा सुरक्षित गर्भपतनको व्यवस्था गरिएको छ । जसअनुसार गर्भधारण गरेको १२ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न पाइने व्यवस्था छ । तर अनिच्छित वा बलात्कार भई गर्भपतन गराउनु परेमा २८ हप्तासम्मको गर्भलाई कानूनी मान्यता प्रदान गरिएको छ ।
जिल्ला अस्पताल सल्यानमा कार्यरत डा. प्रदिप शर्माले सरकारले सुरक्षित गर्भपतनको सेवालाई निःशुल्क गरेपनि अझै कयौँ महिलाले असुरक्षित वा सरकारले मान्यता नदिएको स्वास्थ्य संस्था तथा व्यक्तिबाट गर्भपतन गराइरहेको जानकारी दिनुभयो । ‘धेरै महिलाले सुरक्षित तथा कानूनी मान्यता प्राप्त संस्थाबाट सेवा लिन नसक्नुका मुख्य कारणमा कानून र सेवाबारे कम जानकारी हुनु, सबैका लागि गर्भपतनको पहुँचयोग्य सेवा उपलब्ध नहुनु तथा महिला आफैंले निर्णय लिन नसक्नु नै हो’ उहाँले भन्नुभयो ।
विवाहित किशोरीको आधाजसो गर्भ अनिच्छित हुने गरिएको तथा त्यस्तो गर्भका कारण किशोरीको गर्भले उनीहरुको स्वास्थ्य, शिक्षा, रोजगार तथा वृत्तिविकासमा बाधा पर्ने भएकाले गर्भपतन गर्न बाध्य हुने गरिएको उहाँको भनाई छ । उहाँले सर्वसुलभ रुपमा पाइने परिवार नियोजनका साधनहरुको कम प्रयोगले गर्दा गर्भपतनको समस्या आउने गरेको बताउनुभयो ।
असुरक्षित गर्भपतन गराउँदा रक्तश्राव धेरै हुने जस्ता समस्या आउने गरेको उहाँको भनाई छ । दुर्गम गाउँमा गर्भपतनका लागि आवश्यक औषधि उपलब्ध नहुनु, गर्भपतनका लागि प्रविधि र प्राविधिक जनशक्तिको अभाव तथा सूचनाको पहुँच नहुनाले पनि गर्भपतनमा ठूलो चुनौती रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।