सुन्तला उत्पादनमा ह्रास आएपछि सल्यानका किसान निरास

ग्रिनिङ भाइरसका कारण उत्पादन घटेको हुन सक्छ : कृषि कार्यालय

सल्यान २, माघ ।
सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आएका सल्यानका किसानहरु निरास बनेका छन् । सुन्तला बिक्री गरेर नै आफ्नो जीवननिर्वाह गर्दै आएका जिल्लाका किसानहरु यस बर्ष सुन्तलाको उत्पादन घटेपछि आम्दानी कम हुनेभन्दै निरास बनेका हुन् । सुन्तलाखेतीबाट राम्रो आम्दानी हुनेथालेपछि हौसिएका यहाँका किसानहरुले परम्परागत सुन्तला खेती छोडेर ब्यवसायिक सुन्तला खेतीमा लागेका थिए ।

यस बर्ष गत बर्षको तुलनामा निकै कम सुन्तला फलेको बागचौर नगरपालिका ८ कोटमौलाका किसान यज्ञ बहादुर चन्दले गुणासो गर्नुभयो । गत बर्ष प्रतिकेजी ७० रुपैँयाका दरले करिब ८ लाख रुपैँयाका सुन्तला बिक्री गरेका उहाँले बर्ष भने करिब ३ लाख रुपैँयाको सुन्तला बिक्री हुने अनुमान गुर्नभएको छ ।

‘सुन्तलाखेतीबाट राम्रो आम्दानी हुनेथालेपछि परम्परागत सुन्तला खेती छोडेर मैले झण्डै २ दशक अघिदेखी ब्यवसायिक सुन्तला खेती गर्दै आएको छु, गत बर्ष सुन्तलाबाट राम्रो आम्दानी भएको थियो, तर यस बर्षभने गत बर्षको तुलनामा निकै कम मात्रामा सुन्तला उत्पादन भएको छ उहाँले भन्नुभयो ।


अर्का किसान भरत नाथ योगीले गत बर्ष ५ सय २७ क्वीन्टल सुन्तला बिक्री गर्दा ३४ लाख २५ हजार रुपैँया आम्दानी गर्नुभएको थियो । झण्डै एक हजार सुन्तलाका बोट रोप्नुभएका उहाँले सुन्तलाखेतीमा बर्षेनी लाखौँ रुपैँया लगानी गर्दै आउनुभएको छ । तर यस भने सबै सुन्तला बिक्री गरे ८ लाख रुपैँया जती आम्दानी हुने उहाँको अनुमान छ ।

सुन्तला खेतीलाई ब्यवसायिक वनाउन यहाँका किसानहरुले एक घर, एक नर्सरी अभियान समेत सञ्चालन गरेका छन् । तर सुन्तलाको पात पहेलोँ हुदैँ जाने र पछि रुख नै सुक्ने समस्या देखापरेपछि समस्या भएको उहाँको भनाई छ । ‘सुन्तलाको लागी गर्नुपर्ने गोडमेल सबै गरेकै छौँ, तर प्राविधिक ज्ञान र सिँचाइ नहुदाँ यस्तो समस्या भएको हुन सक्छ’ उहाँले भन्नुभयो ।

जिल्लाको कोटमौला, कोटबारा, दमाचौर, लेखपोखरा, चाँदे, फलावांङ्ग, सेजवालटाकुरा लगाएतका स्थानमा सुन्तला खेती गरिन्छ । कृषि बिकास कार्यालय सल्यानका अनुसार जिल्लाभर १ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । जसमा एक सय बढी फल दिने सुन्तलाका बोट भएका किसानको संख्या ७ सय ५० रहेको छ ।


कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले ग्रिनिङ भाइरसका कारण जिल्लामा सुन्तला उत्पादनमा कमी आएको हुनसक्ने जानकारी दिनुभयो । ग्रिनिङ भाइरसले सुन्तलाको जरा मर्ने, पात पहेँलो हुदैँ झर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या आउने गरेको उहाँको भनाई छ । यससँगै सुन्तलाको गोडमेल, जलवायु परिवर्तन लगाएतका कारणले पनि उत्पादनमा कमी भएको उहाँले जानकारी दिनुभयो ।

‘गत बर्ष जिल्लामा १० हजार ६ सय ९० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो, त्यसवाट जिल्लामा ५ करोड ४० लाख रुपैँया भित्रिएको थियो, बाँकी सुन्तला जिल्लामा नै खपत हुने गर्दछ’ उहाँले भन्नुभयो ‘यस बर्ष सबै क्षेत्रबाट उत्पादन घटेको जानकारी पाएका छौँ, वास्तविक तथ्यांक आउन केही समय लाग्छ ।’
गत बर्ष जिल्लाको बागचौर नगरपालिकाको वडा नम्बर ८ र ९ मा सुन्तला पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा उत्पादित सुन्तला दाङ्ग, नेपालगञ्ज, बुटवल लगाएत बिभिन्न शहरहरुमा निर्यात हुने गर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस