सल्यान १७, साउन ।
सल्यानमा ब्लड बैँक स्थापनाका लागि भवन निर्माण भएको एक बर्ष पुरा भएको छ । जिल्ला अस्पताल सल्यानको परिसरमा ब्लड बैँक स्थापनाका लागि भवन निर्माण भएको एक बर्ष पुरा भएको हो । सल्यान प्रदेशसभा ‘ख’ बाट निर्वाचित कर्णाली प्रदेश सरकार सभा सदस्य तथा पुर्वआर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पूर्वाधार विकास कार्यक्रम मार्फत ब्लड बैँक स्थापनाको लागी भवन निर्माण गरिएको थियो ।
नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यान मार्फत रु. २० लाखमा तीन कोठे भवन निर्माण गरिएको एक बर्ष पुरा हुदाँ पनि ब्लड बैँक सञ्चालन हुन सकेको छैन् । जिल्लामा सरकारी सहित निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि निकैँ समस्या हुने गरेको छ ।
तर भवन निर्माण भएको एक बर्ष पुग्दा पनि ब्लड बैँक सञ्चालन भने हुन सकेको छैन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक दशरथ श्रेष्ठले आवश्यक जनशक्ति अभाव हुदाँ भवन निर्माण भएपनि सञ्चालन गर्न नसकिएको जानकारी दिनुभयो । उहाँले यसबारेमा नेपाल रेडक्रस सोशाइटी, शारदा नगरपालिका तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यानका सभापती यौवन प्रकाश श्रेष्ठले ब्लड बैँक सञ्चालनका लागि आबश्यक पर्ने औजारउपकरणहरु भएपनि जनशक्ति नहुदाँ सञ्चालन गर्न नसकिएको बताउनुभयो । रेडक्रस आफैले जनशक्ति पदपुर्ती गरेर सञ्चालन गर्न सक्ने अवस्था नभएपछि समस्या भएको उहाँको भनाई छ । जनशक्तिको ब्यवस्था गर्र्न सके ब्लड बैँक सञ्चालनमा कुनै समस्या नभएको उहाँले जानकारी दिनुभयो ।
आवश्यक परेको बेला सेना प्रहरी खोज्नुपर्छ : डाक्टर
जिल्ला अस्पताल सल्यानमा ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेहोर्नु परेको छ । बिरामीलाई रगत चाहिएको बेला व्यक्ति नै उपस्थित भएर रगत दान गर्नुपर्ने अवस्था छ । अहिले इमर्जेन्सी कक्षमा रगत नपाएर बिरामी छट्पटाइरहँदा रक्तदाताहरु खोज्नुपर्ने बाध्यता अस्पतालको रहेको छ ।
जिल्ला अस्पताल सल्यानका डा. भिमकान्त जैसीले ब्लड बैँक स्थापना नहुदाँ समस्या भएको बताउनुभएको छ । ‘अहिले जिल्लामा मोबाइल ब्लड बैँक सञ्चालन भैरहेको छ, तर आकस्मिक रुपमा रगत चाहिएको अबस्थामा बिरामीका आफन्त, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना खोज्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गर्दछ ।’
गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएपनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको उहाँको भनाई छ । अहिले पनि जिल्लामा ब्लड आबश्यक पर्ने खालका मासिक रुपमा २/४ जना विरामी आउने गरेको उहाँले बताउनुभयो । गर्भवती, सुत्केरी र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेको छन् । जिल्लामा ब्लड बैँक स्थापना पछि सहज हुने उहाँको भनाई छ ।