आगामी चैत मसान्त सम्म सल्यानमा २ सय ४ शिक्षक दरबन्दी रिक्त हुँदै

गणित र बिज्ञान बिषयको शिक्षक अभाव

सल्यान १९, असोज ।
सल्यानमा २ सय ४ शिक्षक दरबन्दी रिक्त हुने भएको छ । आगामी चैत मसान्तसम्म जिल्लाभर प्रावि, निमावि र माबि गरेर २ सय ४ शिक्षक दरबन्दी रिक्त हुने भएको हो । जसमा प्रावि तर्फ १ सय ७०, निमावि तर्फ १८ र मावि तर्फ १६ दरबन्दी रिक्त हुन लागेको शिक्षा बिकास तथा समन्वय इकाइ सल्यानले जनाएको छ ।

जिल्लाभर १ हजार ३४ दरबन्दी रहेको छ । ती मध्ये प्रावि तर्फ ८ सय ४० मा १ सय ७० दरबन्दी, निमावि तर्फ १ सय ३ मा १८ र मावि तर्फ ९१ मा १६ दरबन्दी रिक्त हुन लागेको हो । जसमा सबैभन्दा धेरै बिज्ञान र गणित बिषयको दरबन्दी रिक्त हुन लागेको छ । निमावि तर्फ बिज्ञान बिषयको ५, नेपाली ४, गणित ३, सामाजिक ३, अंग्रेजी २ र गणित बिज्ञानको १ दरबन्दी रिक्त हुन लागेको छ ।

यस्तै मावि तर्फ गणित बिषयको ७, बिज्ञान ६, नेपाली १, अंगे्रजी १ र सामाजिक बिषयको १ दरबन्दी रिक्त हुन लागेको शिक्षा बिकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख लाल बहादुर घर्ती मगरले जानकारी दिनुभयो । उहाँले प्रावि तहमा धेरै भएपनि निमावि र मावि तहमा थोरै संख्यामा दरबन्दी रिक्त हुन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रावि तहमा शारदा नगरपालिकामा २७, बन्गाड कुपिण्डे नगरपालिका २७ र बागचौर नगरपालिकामा ७ दरबन्दी रिक्त हुन लागेको छ । यस्तै कालिमाटी गाउँपालिकामा ३०, त्रिबेणी गाउँपालिकामा २२, छत्रेश्वरी गाउँपालिकामा १९, कुमाख गाउँपालिकामा १४, कपुरकोट गाउँपालिकामा १३, सिद्धकुमाख गाउँपालिकामा ११ दरबन्दी रिक्त हुन लागेको छ ।

तर जिल्लाको दार्मा गाउँपालिकामा भने शून्य दरबन्दी रिक्त हुन लागेको उहाँले जानकारी दिनुभयो । जिल्लामा राहत तर्फ प्राविमा ३ सय ५६, निमाविमा १ सय र माविमा ६२ कोटा रहेको छ । लामो समयदेखि शिक्षक सेवा आयोग पदाधिकारीविहिन हुँदा स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्न सकेको थिएन ।

आन्तरिक प्रतिस्पर्धा तथा बढुवा हुन नसक्दा एकैपटक ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त हुन लागेको हो । शिक्षकको खुला विज्ञापन र आन्तरिक प्रतिस्पर्धा तथा बढुवाबाट पदपूर्ति गर्नका लागि २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको जिल्ला, विषय एवम् तहगत विवरण जिल्ला बाट आयोगलाई पठाइएको छ । जिल्लाभर प्रावि, निमावि र मावि गरेर ४ सय ४३ वटा सामुदायिक बिद्यालय रहेका छन् भने झण्डै ६५ हजारको हाराहारीमा बिद्यार्थी संख्या रहेका छन् ।

महेन्द्र माद्यामिक बिद्यालय लेखपोखराका प्रधानाध्यापक रोमहर्ष केसीले निमावि र माविमा स्थायी शिक्षक दरबन्दी बिना नै बिद्यालय सञ्चालन भैरहेको बताउनुभयो । उहाँका अनुसार यस बिद्यालयमा प्रावि दरबन्दी ४, निमावि राहत ३ र मावि अनुदान १ रहेको छ । ३ सय ११ जना बिद्यार्थीले अध्ययन गर्दै आएको यस बिद्यालयले निजी स्रोतबाट शिक्षक राखेर बिद्यालय सञ्चालन गरिरहेको छ ।

यस्तै ७ सय १८ जना बिद्यार्थीले अध्ययन गर्दै आएको प्रभाकर माद्यामिक बिद्यालय देवस्थल पनि शून्य दरबन्दीमा सञ्चालन भैरहेको छ । प्राविमा ४ दरबन्दी, निमाविमा ३ राहत, माविमा २ राहत र उमाविमा १ अनुदान रहेको प्रधानाध्यापक शिखर कुमार यरीले बताउनुभयो । बिद्यालयमा आम्दानीको स्रोत नभएपनि अभिभावकको सहयोगबाट बिद्यालय सञ्चालन भैरहेको उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस