माग अनुसार उत्पादन हुदैनन् लोकल कुखुरा

विदेशबाट फर्किएका हुन् या अन्य पेशामा संलग्न भएकाहरु पनि कुखुरापालनमा सक्रिय बनेका छन् ।

सल्यान ७, असार ।
सल्यानका कुखुरा व्यवसायिहरुले माग अनुसारको लोकल कुखुराको उत्पादन गर्न नसकेको बताएका छन् । जिल्लामा बोइलर, लेयर्स लगाएतका विभिन्न जातका कुखुराहरुको उत्पादन धेरै नै हुने भएपनि स्थानिय लोकल कुखुराको उत्पादन थोरै हुदाँ उपभोक्ताहरुको माग अनुसारको उपलब्ध गराउन नसकिएको व्यवसायिहरुको भनाइ रहेको छ ।

बागचौर नगरपालिका ५ धारापानीमा रहेको कृष्ण ह्याचरी एण्ड कुखुरा सप्लायर्सका सञ्चालक दिपक भण्डारीले उपभोक्ताहरुको मागको आधारमा लोकल कुखुरा उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाँले स्थानिय जातको लोकल कुखुराको पोथि भन्दा भालेको माग धेरै नै आउने गरेको पनि बताउनुभयो ।

तीन बर्ष पहिले गाउँघरबाट ५० वटा कुखुरा किनेर व्यवसाय सञ्चालन गरेका उहाँसँग अहिले साना ठुला गरेर झण्डै ५ हजार कुखुरा छन् । ५ बर्ष मलेसिया बसेर स्वदेश फर्किदा गाउँमा नै केही गर्ने सोच बनाएका उहाँले भन्नुभयो ‘मेहनत गरेपछि सफलता प्राप्त हुन्छ भन्ने लागेको थियो, सोही अनुसार घरमा नै कुखुरा फर्म दर्ता गरेर सञ्चालन गरेको हुँ, अहिले करिब ६० लाख रुपैँया लगानी भैसकेको छ ।’

‘कुखुरा उत्पादन गर्न मात्रै समस्या हो, तर अहिलेसम्म बिक्रीमा कुनै समस्या छैन्’ उहाँले भन्नुभयो ‘जिल्लाभित्र सँगै चौरजहारी, रुकुमकोट, डोल्पा सम्म यहाँको कुखुरा र चल्ला निर्यात हुन्छ, यस पटकको स्थानिय चुनावमा त कुखुरा पु¥याउन नै मुश्किल भयो, दैनिक माग धेरै थियो, उत्पादन कम हुँदा समस्या भयो ।’ उहाँले लोकल कुखुरा नगदमा कारोवार हुने गरेको बताउनुभयो ।

भण्डारीसँग अहिले अण्डा कोरेल्ले ह्याचरी मेसिन समेत रहेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहयोगमा उहाँले ह्याचरी मेसिन जडान समेत गर्नुभएको छ । ‘कुखुराले अण्डा कोरेल्दा अण्डा विग्रने सम्भावना धेरै नै हुन्छ, तर ह्याचरी मेसिनबाट सजिलो भएको छ, आफुलाई चाहिने चल्ला यहीबाट निकाल्छौँ, माग भएपछि लोकल कुखुराको चल्ला पनि उत्पादन गर्छौ’ उहाँले भन्नुभयो ‘लोकल कुखुराको अण्डाको माग पनि उच्च छ ।’ उहाँले यस फर्मबाट बार्षिक १० लाख रुपैँया आम्दानी गरिरहेको बताउनुभयो ।

दार्मा गाउँपालिकाको फारुलाचौरमा रहेको देवकोटा पशुपंक्षि फर्मका सञ्चालक पदम केसीले पनि लोकल कुखुराको माग उच्च भएको बताउनुभएको छ । ‘यहाँ दिनदिनै कुखुराको माग आउँछ, तर हामी कहाँ भएको कुखुराले पुग्दैन्, कतिपय भने रित्तो हात फर्किदैँ गएका छन्’ उहाँले भन्नुभयो ‘पोथी कुखुरा भन्दा भाले कुखुराको माग धेरै नै हुन्छ ।’

२ सय कुखुराबाट व्यवसाय शुरु गरेका उहाँले अहिले आफ्नो फर्ममा ३५ सय बढी कुखुरा भएको बताउनुभएको छ । यस्तै अण्डा उत्पादनका लागि ३ सय कुखुरा रहेको उहाँको भनाइ छ । पशु सेवा कार्यालयको सहयोगमा अण्डा कोरेल्ले ह्याचरी मेसिन पाएपछि कुखुराको चल्ला उत्पादनमा कुनै समस्या नभएको उहाँले बताउनुभयो । कुखुरा, चल्ला र अण्डा बिक्री गरेर बार्षिक ५ लाख बढी आम्दानी भैरहेको उहाँको भनाइ छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर दर्जनौँ युवाहरु व्यवसायिक लोकल कुखुरापालनमा सक्रिय बनेका छन् । विदेशबाट फर्किएका हुन् या अन्य पेशा व्यवसायमा संलग्न भएकाहरु पनि कुखुरापालनमा लागेको कार्यालयको भनाइ छ । मासु तथा अण्डामा आत्मनिर्भर बन्दै गएको सल्यानमा बर्षेनी करिब ४ लाख किलो कुखुरा उत्पादन भैरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस