अझै घटेन् बालबिवाह

बालबिवाहकै कारण किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य समस्या

सल्यान १४, साउन ।
सल्यानमा उमेर नपुगेर गरिने बिवाहमा कमी आउन सकेको छैन् । जिल्लामा बालबिवाह न्युनिकरणका लागि धेरै प्रयास भएपनि बालबिवाह गर्नेको संख्यामा भने कमी आउन नसकेको हो । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा बालबिवाहको दर केही घटेको देखिएपनि उल्लेख्य रुपमा भने कमी आउन सकेको छैन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार पछिल्लो तीन वर्षको अवधिमा जिल्लाभर ४ हजार ७ सय २३ जना २० बर्षमुनिका किशोरीहरु गर्भवति भएका छन् ।

कार्यालयका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर ७ हजार २ सय ५७ महिला गर्भवति भएकोमा १ हजार ७ सय ५७ जना गर्भवति २० बर्षमुनिका थिए । यस्तै आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाभर ६ हजार १९ महिला गर्भवति भएकोमा १ हजार ५ सय ९५ जना गर्भवति २० बर्षमुनिका थिए भने यस बर्ष ५ हजार ८ सय ५ जना गर्भवति भएकोमा १ हजार ३ सय ७१ जना २० बर्षमुनीका रहेका छन् ।

कार्यालयका सुचना अधिकारी थलराज डिसीले जिल्लाभरका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० बर्ष मुनिका किशोरीहरुको संख्यामा कमी आउन नसकेको बताउनुभयो । बर्षेनी जिल्लामा २० बर्ष मुनिको गर्भ जाँच गराउन आउने किशोरीहरुको संख्यामा तुलनात्मक रुपमा कमी आएपनि अपेक्षाकृत रुपमा कमी आउन नसकेको उहाँले बताउनुभयो । केही गर्भवतिहरु पायक पर्ने छिमेकी जिल्लाका स्वास्थ्य संस्थाहरुमा पनि गर्भजाँच गराउन जाने भएकाले जिल्लाको तथ्यांकमा कम देखिएको हुनसक्ने उहाँको भनाइ छ ।

२० वर्ष नपुगी गरिएका बालबिवाह स्वतः रद्ध हुने, बिवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद र जरिवाना वा दुवै हुन सक्ने कानूनी व्यवस्था रहेपनि बालबिवाह गर्ने क्रम रोकिएको छैन । बालबिवाह गर्ने १५ वर्षदेखि १९ वर्षका रहेका छन् । बालबिवाहले किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यमा समस्या निम्तिने गर्दछ ।

शारीरिक र मानसिक रुपमा परिपक्व नभई बिवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले २० वर्ष पुगेपछि मात्रै बिवाह गर्न उपयुक्त हुने जिल्ला अस्पताल सल्यानका डा. अभिशेक सिंहले बताउनुभयो । सानै उमेरमा गरिने बिवाहका कारण मातृमृत्युदर समेत बढी हुने उहाँको भनाइ छ । महिलाको शारिरीक विकास नभइ सकेको अवस्थामा गर्भ रहदाँ बच्चामा नकारात्मक प्रभाव पर्ने र बच्चा कम तौलको जन्मिने, सुष्त मनस्थितीको हुने, बच्चा खेर जाने, कुपोषण हुने समस्या देखापर्ने उहाँले बताउनुभयो ।

उहाँले २० बर्षभन्दा कम उमेरमा बिवाह भैसकेको अवस्थामा पनि परिवार नियोजनका साधनहरुको प्रयोग गर्नुपर्ने र उपयुक्त उमेर एवम् समयमा गर्भाधारण गर्नुपर्ने बताउनुभयो । शिक्षित समुदायमा भन्दा चेतनास्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा बालबिवाह बढी पाइन्छ । यदाकता समुदायका मानिसहरूले सामाजिक मूल्य र इज्जतका कारण समेत बालबिवाह बिरुद्ध बोल्न नसकेको अधिकारकर्मीहरुको भनाइ छ ।

चेतनाको अभाव, सहि सूचनाको अभाव, विद्यालय पहँुचको अभाव, किशोरीका लागि सुरक्षाको अभाव तथा सामाजिक वहिस्कार जस्ता पक्षहरुले गर्दा बालबिवाहमा कमी आउन नसकेको अधिकारकर्मी रामचन्द्र रेग्मीले बताउनुभयो । बालबिवाह न्यूनीकरणका लागि तीनै तहका सरकारले प्रभावकारी कानुन बनाएर सिघ्र कार्यान्वयनमा जानुपर्ने उहाँको भनाइ छ । उहाँले स्थानिय समुदाय आफै अग्रसर नभएसम्म बालबिवाह न्युनिकरण गर्न नसकिले बताउनुभयो ।

‘उमेर नपुग्दै बिहे गर्नेमा स्कुले बालबालिका रहेको पाइएको छ, खास गरेर आठ–नौ कक्षाका विद्यार्थीले बिहे गर्ने गरेका छन्’ उहाँले भन्नुभयो ‘अभिभावकले असहमति जनाए पनि बालबालिकाले बिहे गर्ने गरेका घटना धेरै छन् ।’ बालविवाह कै कारणले निम्तिने समस्याको बारेमा कतिपय अभिभावक जानकार नभएका कारण पनि बालबिवाहमा कमी आउन नसकेको उहाँको बुझाइ छ ।

 

प्रतिक्रिया दिनुहोस