सल्यान, १७ पुस ।
सल्यानका स्थानिय तहमा जनसहभागिता बढ्दै गएको पाइएको छ । स्थानिय नागरिक नै गाउँबस्तीस्तरका योजना छनोटदेखि, विकास निर्माणका काममा सुझाव र खबरदारी गर्दै अघिबढेपछि सुशासनमा जनसहभागिता बढ्दै गएको पाईएको हो । सुशासन, पैरवीलगायत क्षमता विकास सम्बन्धी तालिम लिएपछि गाउँमा हुने विकास निर्माण कार्यमा स्थानियको चासो बढेको छ ।
त्रिवेणी गाउँपालिका–६ की प्रेम कुमारी बोहराले बेलाबेलामा गाउँपालिकामा जाने र पालिकाबाट प्रवाह हुने सेवा सुविधाका बारेमा जानकारी लिने गरेको बताउनुभयो । ‘विगतमा हाम्रा लागि बजेट आउँछ भन्ने थाहासमेत हुँदैनथ्यो, त्यही बजेटबाट अहिले लाभ लिन पाएका छौँ’ उहाँले भन्नुभयो ‘पालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा सुविधाबारे गाउँका दिदीबहिनीलाई जानकारीसमेत गराउदैँ आएका छौँ ।’
सञ्जालकै अध्यक्ष समेत रहनुभएकी उहाँले पहिला बिभिन्न समुह बनाउने काम मात्रै गर्ने गरेको भएपनि अहिले भने सुशासनमा नागरिक सहभागिता कार्यक्रम मार्फत पालिकाले गर्ने काम, सचेतीकरण, महिला सहभागिता, महिला अधिकारका बारेमा जानकारी भएको बताउनुभयो । यसले सामाजिक विकृति अन्त्यका लागि काम गर्नुभएका साथै महिलाहरुलाई थप सशक्तिकरण बनाउदैँ लगेको उहाँको भनाइ छ ।
दार्मा गाउँपालिका–४ की उषा चन्दलाई पहिले वडा तथा पालिकाले प्रदान गर्ने सेवाका बारेमा जानकारी थिएन । नागरिक अधिकार सुनिश्चितताका लागि साझा मञ्चमा आबद्ध भएर क्षमता अभिवृद्धिका तालिम लिन थालेपछि नागरिकका लागि स्थानीय तहबाट प्रवाह हुने सेवाबारे थाहा पाएको उहाँको भनाइ छ । ‘प्रतिवेदन लेखन लगाएतका तालिम प्राप्त गरेका छौँ, पालिकामा योजना माग गर्दा सिँचाई पोखरी र च्याउँको विउ प्राप्त गरेका थियौँ’ उहाँले भन्नुभयो ।
युरोपिएन युनियनको आर्थिक सहयोग र सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाण्डौँ, आइएम स्विडिस डेभलप्मेन्ट पार्टनर काठमाण्डौँ र तेर दे जोम काठमाण्डौँको साझेदारीमा सल्यानका पाँच वटा स्थानिय तहमा सञ्चालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम सञ्चालन भएपछि अहिले स्थानियहरुले पालिकामा हुने सबै गतिविधिमा संलग्न हुनथालेका छन् ।
जिल्लाको दार्मा गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, त्रिबेणी गाउँपालिका, कपुरकोट गाउँपालिका र कालिमाटी गाउँपालिकामा यस कार्यक्रम सञ्चालन भैरहेको छ । कार्यक्रम सञ्चालन भएपश्चात स्थानियले पालिकाका योजना, पाउने सेवासुविधा लगाएतका बिषयमा चासो राख्ने गरेका छन् ।
सुशासनमा नागरिक सहभागिता कार्यक्रमका सल्यान जिल्ला संयोजक गुमानसिंह नेपालीले स्थानीय तहको सेवाप्रवाहमा नागरिकको पहुँच बढेको बताउनुभएको छ । ‘विगतमा पालिकाले दिने सेवासुविधामा बारेमा समेत जानकार नभएका महिला, दलित तथा लक्षित समुदायका नागरिकहरु अहिले भने त्यसबारेमा जानकार छन्, योजना छनौट देखी कार्यान्वयन सम्म पनि उनीहरुको सहभागिता छ’ उहाँले भन्नुभयो ।
नागरिकमा जागरुकता सँगै पालिकाले गर्ने सेवा प्रवाहका बारेमा सुधारसँगै सहकार्य गर्ने परिपाटीको विकास भएको उहाँको भनाइ छ । उहाँले जिल्लाका पाँच वटा पालिकाका ६० वटा समुहका १ हजार ९ सय ३३ जना सदस्य, ३ सय ३३ जना जनप्रतिनिधि तथा कर्मचारी र १ हजार २ सय ८५ युवाहरुलाई यस कार्यक्रमले सहयोग पुर्याएको बताउनुभयो ।
यसैविच सुशासनमा नागरिक सहभागिता परियोजनाको जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । बुधबार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न बैठकमा कार्यक्रमको उपलब्धि, सिकाइ र चुनौतीहरुको बारेमा छलफल गरिएको थियो ।
दलित विकास समाज सल्यानका उपाध्यक्ष झिन बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, कार्यक्रम सञ्चालन भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण दलित विकास समाजका कार्यकारी निर्देशक विनायक रेग्मीले गर्नुभएको थियो ।