सल्यान महोत्सवमा सल्यानी खुकुरी देखी विद्युतीय घट्टसम्म

महोत्सवको प्रवेशद्धार नजिकैका स्टलमा राखिएका ती सामाग्रीले जिल्लाका स्थानियको सिपलाई झल्काएको मात्रै छैन्, उत्पादित सामाग्रीको प्रचारप्रसार र वजारीकरणमा समेत टेवा पुगेको छ ।

सल्यान, २२ पुस ।
सल्यानमा जारी महोत्सवमा सल्यानी खुकुरी र विद्युतीय घट्ट सबैको रोजाइमा परेका छन् । पुस १३ गते देखी जिल्लाको प्रमुख व्यापारीक केन्द्र श्रीनगरमा जारी लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा सांस्कृतिक महोत्सवमा स्थानियले आफ्नै सिपबाट निर्माण गरेका खुकुरी र विद्युतीय घट्ट दर्शकहरुको रोजाइमा परेका हुन् ।

महोत्सवको प्रवेशद्धार नजिकैका स्टलमा राखिएका ती सामाग्रीले जिल्लाका स्थानियको सिपलाई झल्काएको मात्रै छैन्, उत्पादित सामाग्रीको प्रचारप्रसार र वजारीकरणमा समेत टेवा पुगेको छ । अहिले सल्यानी खुकुरी र विद्युतीय घट्ट हेर्ने, फोटो खिच्ने, नयाँ खरिद गर्नेहरुको जमात धेरै नै छ । महोत्सवले आफुहरुले उत्पादन गरेका सामाग्रीहरुको वजारीकरण र प्रचारप्रसारमा टेवा पुर्याएको उद्यमीहरुको भनाइ छ ।

जिल्लाको शारदा नगरपालिका २ खलंगाका बिष्णु बिश्वकर्माले आफुले बनाएका सल्यानी खुकुरीहरु प्रदर्शनीमा राख्नुभएको छ । उहाँले राखेका सल्यानी खुकुरीको प्रचारप्रसार मात्रै भएको छैन्, बजारीकरण समेत भएको छ । केही खुकुरी बिक्री भैसकेका छन् भने केहीले नयाँ खुकुरीका लागि अर्डर गरेका छन् । देश, विदेशमा सल्यानको चिनोको रुपमा खुकुरी पठाउनु तथा अन्य घरायसी कामको लागी प्रयोग गर्नेको संख्यामा बृद्धि भएपछि सल्यानी खुकुरीको माग पनि बढेको छ ।

जिल्ला भित्र हुने बिभिन्न कार्यक्रममा सहभागी पाहुनाहरुलाई उपहार स्वरुप खुकुरी दिन थालेपछि सल्यानी खुकुरीको माग झन् बढेको हो । तर माग अनुसारको खुकुरीको उत्पादन हुन सकेको छैन् । उहाँले फलामवाट वन्ने खुकुरी, खुडा, चुलेसि, चक्कु, हसिया लगाएतका सामाग्री बनाउदै आएको बताउनुभयो ।

उहाँले दशैँ लगाएतका चाडपर्वका समयमा माग अनुसारको खुकुरी बनाउनै नसकिने बताउनुभयो । ‘खुकुरीको माग दशैको बेलामा धेरै आउँछ, अहिले पनि मासिक रुपमा एक लाख बढीका खुकुरी, खुडा लगाएतका सामाग्री बिक्री हुन्छन्’ उहाँले भन्नुभयो ‘सल्यानी खुकुरीको प्रचारप्रसार र वजारीकरणमा महोत्सवले ठुलो सहयोग मिलेको छ ।’ सल्यानी खुकुरी काठमाण्डौ, नेपालगञ्ज, दाङ्ग, र अमेरिका, अष्टे«लिया लगायतका देशमा उपहारका रुपमा पठाउने गरिन्छ ।

सल्यानी खुकुरीको प्रदर्शनी स्टलसँगै रहेको छ सल्लीवजारमा रहेको कालिका इन्जिनियरिङ्ग उद्योगमा उत्पादन भएको विद्युतीय घट्ट । यसले पनि महोत्सवमा आउने जो कोही को पनि मन जितेको छ । पछिल्लो समयमा पानीका मुहान सुक्दै जानथालेपछि पानी घट्टको विकल्पको रुपमा सञ्चालक घनश्याम केसीले विद्युतीय घट्ट निर्माण गर्नुभएको छ ।

विद्युतीय घट्टको प्रचारप्रसार र वजारीकरणमा सहयोग होस् भन्ने हेतुका साथ महोत्सवमा विद्युतीय घट्ट र धान कुटानी मेसिन प्रदर्शनीमा राखिएको उहाँको भनाइ छ । पानी कम भएको ठाउँका लागि विद्युतीय घट्ट प्रभावकारी भएको उहाँले बताउनुभयो । ‘सल्यानका डाँडामा रहेको बस्तीका बासिन्दाहरु कुटानी पिसानी गर्न खोलामा झर्नु पर्ने बाध्यता देखेर विद्युतबाट चल्ने घट्ट बनाएको हुँ, अहिले सल्यानमा मात्रै नभएर रुकुम र जाजारकोटमा समेत यसको माग धेरै छ’ उहाँले भन्नुभयो ।

एक जोडी विद्युतीय घट्ट ७० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री हुने गरेको केसीले बताउनुभयो । ‘महोत्सवमा मात्रै ४ वटा विद्युतीय घट्ट विक्री भए, केही घट्टको अर्डर समेत आएको छ’ उहाँले भन्नुभयो ‘पानी घट्टमा लाग्ने जाँतो नै यसमा प्रयोग हुन्छ, तर पानीको ठाउँमा घट्ट घुमाउन बिजुली प्रयोग गरिएको हुन्छ ।’ उहाँले विद्युतीय घट्टले एक घण्टामा २ मुरी पिस्ने बताउनुभयो ।

खुकुरी र विद्युतीय घट्टको प्रदर्शनीको लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले निशुल्क स्टलको व्यवस्था गरिदिएको थियो । ‘उद्योग गरौं, उद्यमी बनौं, देश बिकासमा टेवा पु¥याऔँ, मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानले सञ्चालन गरेको महोत्सव पुस २३ गते शनिवार समापन हुदैँ छ । महोत्सवमा करिब दुई सय स्टल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस