सल्यानमा किशोरकिशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालन हुदैँ

जिल्लामा किशोरावस्थामा नै विवाह गर्ने क्रम नघटेकाले कम उमेरमा गर्भवति हुने दरमा पनि कमी आउन नसकेको हो ।

सल्यान, १ फागुन ।
सल्यानमा कम उमेरमा नै गर्भवति हुने दरमा कमी आउन सकेको छैन् । जिल्लामा किशोरावस्थामा नै विवाह गर्ने क्रम नघटेकाले कम उमेरमा गर्भवति हुने दरमा पनि कमी आउन नसकेको हो । २० वर्ष नपुगेर गरिएका बिवाह स्वतः रद्ध हुने, बिवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई कानूनी कारवाही हुने व्यवस्था भएपनि बालबिवाह गर्ने क्रम नरोकिएको हो । बालबिवाहले किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यमा समस्या निम्तिने गर्दछ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार बालबिवाह गर्ने १५ वर्षदेखि १९ वर्षका धेरै रहेका छन् । आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर ७ हजार २ सय ५७ महिला गर्भवति भएकोमा १ हजार ७ सय ५७ जना गर्भवति २० बर्षमुनिका थिए । यस्तै आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाभर ६ हजार १९ महिला गर्भवति भएकोमा १ हजार ५ सय ९५ जना गर्भवति २० बर्षमुनिका थिए । यस्तै आर्थिक बर्ष २०७८/०७९ करिब ६ हजार जना गर्भवति भएकोमा १ हजार ५ सय ९ जना २० बर्षमुनीका रहेका छन् ।

कार्यालयका प्रमुख दशरथ श्रेष्ठले आइतवार सो तथ्यांक सार्वजनिक गर्दै जिल्लाभरका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० बर्ष मुनिका किशोरीहरुको संख्यामा कमी आउन नसकेको बताउनुभयो । बर्षेनी जिल्लामा २० बर्ष मुनिको गर्भ जाँच गराउन आउने किशोरीहरुको संख्यामा तुलनात्मक रुपमा कमी आएपनि अपेक्षाकृत रुपमा कमी आउन नसकेको उहाँको भनाइ छ । शिक्षित समुदायमा भन्दा चेतनास्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा कम उमेरमा बिवाह गर्ने चलन बढी रहेको उहाँले बताउनुभयो ।

जिल्लाका किशोर किशोरीहरुलाई घरपरिवार तथा समुदायबाट स्वस्थ आचरणको अभ्यासद्धारा उनीहरुको आफ्नो पुर्ण क्षमतामा पुर्याउन सहयोग गर्ने लक्ष्यकासाथ जिल्लामा किशोर किशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम शुरु भएको छ । युएसएआइडीको सहयोग, केयर नेपाल सँगको साझेदारीमा दलित विकास समाज सल्यानमार्फत जिल्लाका तीन पालिकामा यो कार्यक्रम शुरु भएको हो ।

जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा कार्यक्रम शुरु भएको जिल्ला कार्यक्रम संयोजक छत्रराज भट्टले जानकारी दिनुभयो । यस कार्यक्रमले सार्वजनिक प्रणाली एवम् निजी संस्थाहरुलाई किशोरकिशोरीमैत्री सेवा सुविधा र उत्पादनको निम्ति सवलीकरण गर्दै जाने उहाँले बताउनुभएको छ ।

यस्तै किशोर किशोरीहरुलाई स्वस्थ व्यवहार अपनाउने अभ्यास अभिवृद्धि गर्ने, गुणस्तरीय परिवार योजना र प्रजनन् स्वास्थ्य सेवा सुविधा तथा उत्पादनको उपलब्धता र पहुँचमा अभिवृद्धि गर्नुका साथै प्रजनन् स्वास्थ्य सेवालाई संस्थागत गर्दै लैजाने उद्धेश्य रहेको उहाँको भनाइ छ । तीन वटै पालिकासँगको सहयोग र सहकार्यमा यस कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

आइतवार सोही कार्यक्रमको जिल्ला स्तरीय परिचयात्मक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका उपप्रमुख असविर बुढाथोकीले आर्थिक रुपमा सक्षम र राुजगारीका अवसर प्राप्त गरेको खण्डमा किशोर किशोरीहरु आफै स्वावलम्बन हुने र प्रजनन् स्वास्थ्यमा सुधार आउने बताउनुभयो । बालबिवाह रोक्न, कम उमेरमा गर्भवति हुने क्रमलाई न्यूनिकरण गर्न र स्वस्थ किशोर किशोरी उत्पादन गर्न यस कार्यक्रमले मद्धत गर्ने उहाँको भनाइ छ ।

दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, बन्गाड कुपिण्डे नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेल लगाएतकाले बोल्नुभएको थियो ।

कार्यक्रममा डिडिएस सल्यानका कार्यकारी निर्देशक विनायक रेग्मीले दलित विकास समाजले गर्दै आएका कामहरुको बारेमा जानकारी दिनुभएको थियो । स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अनुगमण तथा मुल्यांकन अधिकृत तोरण बुढाथोकीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस