सल्यान, २५ फागुन ।
सल्यानमा विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिला सहभागिता बढेको छ ।
गाउँमा पुरुषको उपस्थिति कम भएपछि उपभोक्ता समितिदेखि विकास निर्माण कार्यमा महिलाहरू मात्रै हुने गरेका हुन् । गाउँघरमा भइरहेका प्रायः सबै समितिका सदस्य र कामदार महिलाहरू मात्रै भेटिन्छन् । पुरुष रोजगारी र अध्ययनका लागि बाहिर गएपछि गाउँको विकासलाई महिलाहरूले अघि बढाएका हुन् । स्थानीय तहले तय गरेका विकास निर्माणका काम र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि प्रायः महिलाहरू छनोट भएका छन् ।
महिलाहरुले चुलोचौको हुँदै घरायसी काम मात्रै गर्नुपर्ने र विकास निर्माणका कार्यहरुमा पुरुषहरु मात्रै सक्रिय भएर लाग्ने पुरानो अवस्था अहिले छैन । अहिले गाउँका विकासमा महिलाहरु सक्रिय भएका छन् । विकासमा महिलाहरुलाई नामका लागि मात्रै सहभागी बनाउने र अन्य सबै काम पुरुषले गर्ने परिपाटीको पनि महिलाहरुले अन्त्य गरेका छन । एकातिर पुरुषहरु गाउँघरमा कम हुने र अर्कोतिर महिलाले पनि विकास निर्माणमा काम गरेर देखाउने अवसरका रुपमा सल्यानका महिलाहरुले विकासमा नेतृत्व लिन थालेको उनीहरु बताउँछन् ।
सल्यानको कालीमाटी गाउँपालिका–७ ¥याङमा मन्दिर निर्माणका लागि गाउँपालिकाबाट तीन लाख रुपैयाँ विनियोजन भयो । मन्दिर निर्माणको लागि स्थानीय पवित्रा पुन आफै उपभोक्ता समितिको अध्यक्ष हुनुभयो । महिलाहरुको सक्रियतामा उपभोक्ता समितिको अध्यक्ष, सचिव, कोषाध्यक्षसँगै सबै पदमा महिलालाई सहभागी बनाएर मन्दिर निर्माण गरिएको छ । आँट गरेर विकास निर्माणका काममा नेतृत्व लिन थालेको र समस्या पनि खासै नभएको अध्यक्ष पुनले बताउनुभयो ।
‘समाजमा हुने विकास निर्माणका कार्यहरुको महिलाले नै जिम्मेवारी लिएर पूरा गर्न सक्छन्, बिहान साँझ घरको काम ग¥यो, दिनभर विकासको काममा सक्रिय भएर लाग्यो’– पुनले भन्नुभयो । शारदा नगरपालिका–१० मा गोरेटो बाटो बनाउन प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत पाँच लाख ७७ हजार रुपैयाँ विनियोजन भयो । पैयाँखर्कदेखि पैयाँखर्क मसानघाटसम्म जाने बाटोको स्तरोन्नतिमा पनि महिला सहभागिता धेरै छ । बाटो बनाउने काममा अहिले आठजना महिला हुँदा पुरुष दुईजना मात्रै छन् । वडाअध्यक्ष कृष्णबहादुर बोहराले पछिल्लो समय विकासमा महिलाको सहभागिता बढेको बताउनुभयो ।
‘पुरुषहरु रोजगारीको लागि होस् या अन्य कामको लागि बाहिरै जान्छन्, गाउँमा महिलाको संख्या धेरै छ, बिहानसाँझ घरायसी काम गर्ने महिलाहरु दिउँसोको समयमा विकासका काममा जोडिएका छन्’– उहाँले भन्नुभयो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले महिलालाई विकासमा जोडेको उहाँको भनाइ छ । उनीहरुले एक सय दिनको रोजगारी पाउँछन् । सुख्खायाममा खेतीपाती पनि राम्रो नहुने भएपछि फुर्सदिला बनेका महिलाहरु विकास निर्माणका काममा एकजुट भएका छन् ।