जिल्ला अस्पताल सल्यानमा फिजियोथेरापी सेवा शुरु

अहिले अस्पतालमा हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, जन्मदाँ नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्ने सम्बन्धी रोगहरुको उपचार गरिन्छ ।

सल्यान, १ चैत ।
सल्यान जिल्ला अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा शुरु गरिएको छ । विगतदेखि विभिन्न किसिमका शारीरिक समस्या भोग्दै आएका बिरामीले व्यायाममार्फत सहज उपचार पाउन सकुन् भनेर अस्पतालमा फिजियोथेरापी सेवा शुरु गरिएको हो । आवश्यक पर्ने सामान तथा बसाई लगाएतका व्यवस्थापकिय काम सम्पन्न गरेसँगै हालै सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

अहिले अस्पतालमा हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, जन्मदाँ नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्ने सम्बन्धी रोगहरुको उपचार गरिन्छ । यस्तै दुःखाई कम गर्न, व्यक्तिलाई क्रियाशील बनाउन, नचल्ने जोर्नीलाई चालमा ल्याउन, रोगको उपचारपछि अंगलाई पुनः सक्रिय बनाउन सेवा सञ्चालन गरिएको छ ।

डा.(पिटी) वि.एस. लाडली मण्डलले बिनाऔषधि सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धति जिल्ला अस्पतालमा शुरु भएको बताउनुभएको छ । विगतदेखि विभिन्न किसिमका शारीरिक समस्या भोग्दै आएका बिरामीले व्यायाममार्फत सहज उपचार पाउन सकुन् भनेर अस्पतालमा फिजियोथेरापी सेवा शुरु गरिएको उहाँको भनाइ छ ।

‘अव फिजियोथेरापीका लागि जिल्लावासीले बाहिर जान पर्दैन्, सहज रुपमा उपचार तथा सुझाव सल्लाह जिल्ला अस्पतालमा नै पाइन्छ’ उहाँले भन्नुभयो ‘गर्धन, हाडजोर्नी, ढाड लगायत शरीरका विभिन्न भागको दुखाईबाट लामो समयदेखि पीडितहरुको जिल्लामै उपचार हुन्छ ।’ अहिले उपचारका लागि दैनिक एक÷दुई विरामी अस्पतालमा आउने गरेको उहाँको भनाइ छ ।

‘फिजियोथेरापीमा विभिन्न किसिमका शारीरिक व्यायाम गराउनु पर्ने हुँदा छुट्टै ठाउँ चाहिन्छ, तर अहिले शुरुवात भएकाले विरामीको चाप कम छ, अहिलेलाई ठाउँ पर्याप्त छ, तर विरामीको चाप बढेमा अर्को विकल्प खोज्नुपर्छ’ उहाँले भन्नुभयो ‘मुख्य कुरा नागरिकलाई फिजियोथेरापी के हो ? कसरी उपचार गरिन्छ भन्ने बुझाउन आवश्यक छ ।’ उहाँले भर्खरै जन्मिएका नवजात शिशुदेखि वृद्धवृद्धाका लागि पनि पूर्ववत अवस्थामा स्वस्थ हुनका लागि फिजियोथेरापी अपरिहार्य हुने बताउनुभयो ।

‘ढाडको दुखाईसँगै शरीरको कुनै सिस्टममा असर देखियो भने फिजियोथेरापी गर्न सकिन्छ, कुनै नशा सबन्धी समस्या भयो भने फिजियोथेरापी गर्न मिल्छ, रोग नलागोस भनेर पनि फिजियोथेरापी गरिन्छ’ उहाँले भन्नुभयो ‘कतिपय बच्चा आमाको पेटमा हुदाँ नै खुट्टा बांगो हुने, नशाको समस्या हुने र जन्मिसकेपछि पनि विभिन्न समस्या भएका बालबालिकालाई पनि फिजियोथेरापी गर्न सकिन्छ ।’

स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले फिजियोथेरापी सेवालाई प्रभावकारी बनाउन पर्याप्त मात्रामा आवश्यक सामग्री र स्थानका लागि पहल भइरहेको बताउनुभएको छ । अहिले अस्पतालमा नयाँ भवन निर्माणाधिन अवस्थामा रहेकाले पछिका दिनमा शारीरिक व्यायामका लागि छुट्टै ठाउँको व्यवस्था गरिने उहाँको भनाइ छ । अहिले बिरामीको चाप नभएपनि प्रचारप्रसार भएसँगै बिरामी बढ्ने उहाँले बताउनुभयो ।

फिजियोथेरापी सेवाबाट जिल्लावासी मात्र नभई रोल्पा, रुकुमका नागरिक पनि लाभान्वित भएका छन् । १५ शैयाबाट ५० शैयामा स्तरोन्नती हुदैँ गरेको जिल्ला अस्पतालले पछिल्लो समय नागरिकको सहजताका लागि थप सेवा विस्तारमा जोड दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित