सल्यान, ४ बैशाख ।
सल्यानका किसान खाद्यबाली लगाउन छाडेर मुलाको बीउ उत्पादनमा आकर्षित भएका छन् । छोटो समयमा राम्रो आम्दानी हुने भएपछि किसान बीउ उत्पादनमा लागेका हुन् । विशेष गरी मुलाको बीउको माग जिल्ला बाहिर बढ्दै गएपछि किसान बीउ उत्पादनमा आकर्षित भएका छन् । जिल्लाको शारदा नदीको किनारमा खाद्यान्न बाली लगाउँदै आएका किसान पछिल्लो समय बीउ उत्पादनमा लागेका छन् ।
जिल्लाको बरला, भट्टाचौर, ढोरचौर, मोख्ला, रागेचौर, लान्ती, लुहाम, बाँझकाँडा, काभ्रा लगायतका स्थानमा बीउ उत्पादनमा लाग्ने किसानको संख्या बढ्दै गएको छ । गाउँका प्रत्येक किसानले अहिले २ देखि ५ रोपनी जग्गामा मुलाको बीउ लगाएका छन् । किसानले बीउका लागि लगाएको मुला फुल्न थालेपछि अधिकांश बस्ती सेताम्मे र मनमोहक देखिन थालेको छ । स्थानीय बजारमा मुलाको बीउ प्रतिकिलो दुई सय रुपैयाँमा विक्री हुने गरेको छ ।
शारदा नगरपालिका वडा नं २ जोगीदेखोलाका किसान घमण्ड डाँगीले गहुँबाट भन्दा मुलाको बीउबाट आम्दानी बढी हुन थालेपछि बीउ उत्पादनमा लागेको बताउनुभयो । ‘मुलाको बीउ बनाउँदा धेरै दुःख हुने भए पनि, आम्दानी राम्रो हुने भएकाले मुलाको विउ उत्पादनमा लागेकोे छु, अहिले गाउँमा दुई दर्जन घरधुरीले व्यावसायिक बीउ उत्पादन गर्दै आइरहेका छौ’ उहाँले भन्नुभयो ।
आफुले विगत २५ बर्षदेखी मुलाको वीउ खेती गर्दै आएको बताउनुभएको छ । ‘गत बर्ष मुलाको राम्रो उत्पादन हुन सकेन्, यसले आम्दानी कम भयो, तर यो बर्ष उत्पादन राम्रो हुने आस छ, क्षेत्रफल पनि बढाएको छु’ उहाँले भन्नुभयो । उहाँले मुलको वीउ खरिदकर्ता बारीमै आउने भएकाले पनि बीउ विक्रीमा बजारको समस्या नभएको बताउनुभयो ।
अर्का स्थानिय सुरेन्द्र शाहले मुलाको बीउबाट राम्रो आम्दानी हुने भएकाले आफूहरू यसतर्फ आकर्षित भएको बताउनुभयो । विगत देखि नै करिब ३ रोपनी जमिनमा मुलाको विउ उत्पादन गर्दै आएको उहाँको भनाइ छ । पछिल्लो समय गाउँमा मुलाको बीउ राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।
अर्का स्थानिय केशर बहादुर भण्डारीले अहिले प्रतिकेजी २ सय रुपैँयामा मुलाको विउ बिक्री भैरहेको बताउनुभएको छ । ‘उत्पादन गर्नुपर्छ, विक्रीमा कुनै समस्या छैन्’ उहाँले भन्नुभयो ‘कृर्षि पेशामा गहुँ भन्दा मुुला व्यवसाय र सहज खेति हो ।’ गहुँ रोप्ने कार्तिक, मंसिरको समयमा मुला रोपिन्छ भने बैशाख, जेठ तिर उत्पादित गेडा भित्र्याइन्छ ।
जिल्लामा हावापानी राम्रो भएको धेरै सिँचाइ र गोडमेल गर्न नपर्ने भएकाले पनि किसान बीउ उत्पादनमा आकर्षित भएको कृर्षि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार तरकारी भन्दा बीउ उत्पादनमा राम्रो आम्दानी हुने, खेर नजाने र बर्सेनी मूल्य बढ्दै गएकाले किसानको आकर्षण बढिरहेको छ ।
सल्यानी मुलाको बीउको माग विभिन्न जिल्लामा भएकाले किसान बीउ उत्पादनमा उत्साहित भएको कृषि विकास कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले बताउनुभयो । ‘जिल्लामा व्यवसायिक मुला खेतीको सम्भावना धेरै छ, अहिले मुलाको वीउले वजार पनि राम्रो पाउन थालेको छ’ उहाँले भन्नुभयो । अहिले जिल्लाभर करिब ३ सय रोपनी जग्गामा व्यावसायिक रूपमा मुलाको बीउ उत्पादन भइरहेको छ ।
जिल्लाबाट वार्षिक करिब १ सय ८० क्विन्टल मुलाको बीउ बाहिर जाने गरेको छ । सलादको रूपमा, तरकारी र अचार बनाएर खान मिल्ने भएकाले ताजा मुलाको मागसमेत जिल्लामा बढ्दै गएको छ ।