सल्यानमा ‘मरिचमान चौक’ नामाकरण : २४ घण्टा नबित्दै हटाइयो बोर्ड

को हुन् मरिचमान ?


सल्यान, ५ बैशाख ।
सल्यानमा पुर्वप्रधानमन्त्री स्व.मरिचमान सिंह श्रेष्ठको नामबाट चौकको नामाकरण गरेर राखिएको बोर्ड हटाइएको छ । सल्यानी युवाहरुको नेतृत्वमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर शितलपाटीमा राप्ती राजमार्ग अन्र्तगत सल्यान खलंगा र रुकुम जाने सडकको चौकमा सल्यानमै जन्मिएका पुर्वप्रधानमन्त्री स्व.मरिचमानको बोर्ड राखेर मरिचमान चौक नामाकरण गरिएको थियो ।

पुर्खाको सम्मान, वर्तमानको सुधार भन्ने नारासहित देशमा सल्यानबाट पहिलोपटक प्रधानमन्त्री बन्नुभएका मरिचमानको सम्मान स्वरुप चौक नामाकरण गरिएको समृद्ध सल्यान निर्माण अभियानका संयोजक धुर्वराज वलीले जानकारी दिनुभयो । तर मरिचमान चौक नामाकरण गरेर राखेको बोर्ड २४ घण्टा नवित्दै प्रहरीले हटाएको छ । आइतवार बेलुका ८ वजे दिप प्रज्ज्वलन सहित राखिएको बोर्ड सोमबार बिहान प्रहरीले हटाएको हो ।

‘जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकासंग सहमती गरेर मरिचमान चौक नामांकरण गरी स्वः मरिचमान श्रेष्ठको तस्विर समेत राखेका हौँ, तर राजनीतिक चलखेलकै कारण चौकमा राखिएको तस्बिर सहितका सामग्री हटाईएको छ’ उहाँले भन्नुभयो ‘पुर्वप्रधानमन्त्री स्व. श्रेष्ठको तस्विर लगाएतका सामग्री फालेर एक राष्ट्रवादी नेताको अपमान गरिएको छ ।’

यता प्रहरीले भने चौकमा बोर्ड राख्दा सवारी दुर्घटनाको जोखिम हुने भन्दै बोर्ड हटाएको जनाएको छ । स्थानीय तहबाट मात्र सिफारिस लिएर नभई सडक विभाग तथा केन्द्रिय सरकारसँग चौक र शालिक निर्माण गर्न सहमती पत्र ल्याउनु पर्नेमा राजमार्गको नियम अनुसार नभएकाले दुर्घटना हुनबाट बचाउन चौकमा राखेको सामग्री हटाईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । हटाईएका तस्बिर, ड्रम जस्ता सामग्री सुरक्षित राखिएको उहाँको भनाइ छ ।

को हुन् मरिचमान ?

मरिचमान सिंह श्रेष्ठको जन्म सल्यान जिल्लाको खलङ्गा बजारमा बि.सं. १९९७ साल कार्तिक १७ गते भएको थियो । उहाँ ०१७ सालदेखि राजनीतिमा सक्रिय हुनुभयो । ०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका सिंह पञ्चायत भित्रको अनुदारवादी खेमामा हुनुहुन्थ्यो । दरवारको विश्वासपात्र सिंह ०३८ सालमा पञ्चायती व्यवस्थाको संगठन हेर्ने पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बन्नुभएको थियो ।

पञ्चायतको अन्त्यतिर ०४३ साल जेठदेखि ०४६ साल चैतसम्म उहाँ नेपालको प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री भएकै बेला नेपाल–भारत पारवाहन सन्धिको विषयलाई लिएर भारतले नेपालमा नाकावन्दी लगायो । तर उहाँ भारतसँग नझुक्ने अडान लिएर बस्नुभयो । त्यसबेला श्रेष्ठ राष्ट्रवादी छविका नेताका रूपमा चिनिनुभयो । ०४५ सालमा भारतले नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको र पारवाहन सन्धी सम्बन्धी विवाद परेका बेला श्रेष्ठले लिएको अडानको प्रशंसा हुने गरेको छ ।

उहाँ प्रधानमन्त्री भएको बेला पन्चायत विरुद्ध आन्दोलन भएको थियोे । पन्चायत व्यवस्था जोगाउन अग्रमोर्चामा रहेका उहाँले पञ्चायती व्यवस्थाको अन्त्यपछि राजनीतिक रूपमा पूर्ण निस्कृय बस्नुभयो । श्रेष्ठको निधन ०७० साउन ३० गते काठमाडौँमा भयो । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित श्रेष्ठको भारतमा उपचार गराइरहदा आफ्नै देशमा प्राण त्याग गर्ने इच्छा व्यक्त गरेपछि भारतबाट नेपाल ल्याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित