पाक्यो स्याउ : बगैंचामा स्याउ किन्ने, फोटो र भिडियो बनाउनेको भीड

‘मेरो घर यही नजिकै हो तर म अहिलेसम्म आएको थिएन, बोटबाट नै स्याउ टिपेर खान पाइने र टिकटक बनाउन पाइने भएकाले आएको हुँ, निकै रमाइलो लाग्यो’– उहाँले भन्नुभयो ।

सल्यान, १ साउन ।

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीको डाँडा स्याउ पाकेर रंगिएको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि जयतपानीको डाँडामा लगाइएका स्याउका रुखमा हाँगै भाँच्चिनेगरी लटरम्म स्याउ फलेका छन् । स्याउ पाकेपछि रुख नै राताम्मे देखिएका छन् । स्याउ पाकेसँगै बगैंचाबाटै स्याउ किन्नेको भीड लाग्न थालेको छ ।

अहिले स्याउ किन्न, फोटो खिच्न, भिडियो तथा टिकटक बनाउन स्याउ बगैंचामा आउनेको भीड नै लाग्ने गरेको कृषक शिशिर कुमार थापाले बताउनुभयो । ‘आठ वर्ष पहिले झण्डै एक विगाह क्षेत्रफलमा दुई सय बढी स्याउका बोट रोपेको थिएँ, रोपेको ५ वर्षपछि फल दिन शुरु गरे, फल दिन थालेको यो तेस्रो पटक हो’– उहाँले भन्नुभयो– ‘बोटमा अहिले स्याउ पाकेर राताम्मे भएका छन् ।’

उहाँले स्याउ बिक्री गर्ने सिजन शुरु भएको बताउनुभएको छ । ‘अब त बगैंचामा मानिसको भीड थामी नसक्नु हुन्छ, बगैंचामा आएर किन्ने, फोटो खिच्ने, भिडियो बनाउने धेरै हुन्छन्, पारिवारिक घुमघामको लागि उपयुक्त छ, सदरमुकाम खलंगाबाट १५ मिनेटमा नै बगैंचामा आइन्छ’– उहाँले भन्नुभयो– ‘स्याउ बेच्नलाई बजार पठाउनुपर्दैन, चाख्ने नै पुग्दैन, यो वर्ष डेढ लाख बढी आम्दानी होला ।’

उहाँकै छिमेकी लोकेन्द्रबहादुर बुढाथोकीले १२ रोपनी जग्गामा करिब तीन सय स्याउका बोट रोप्नुभएको छ । ती मध्ये आधा बोटले फल दिन थालेका छन् । अहिले पाकेका स्याउको रेखदेख गर्ने, स्याउ टिप्ने, बिक्री गर्ने उहाँको दैनिकी छ । ‘नयाँ जातको स्याउ भएकाले हेर्न पनि आउँछन्, स्वाद लिन पनि आउँछन्’– उहाँले भन्नुभयो– ‘शनिबार र बिदाको दिनमा सय बढी मान्छे यहाँ आएका हुन्छन् ।’

स्याउको बगैंचाकै कारण जयतपानी पर्यटकीय क्षेत्रका रुपमा समेत विकास हुँदै आइरहेको उहाँको भनाइ छ । उहाँले स्याउ बजारीकरणको समस्या भन्दा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई नै पु¥याउन गाह्रो भइरहेको बताउनुभयो । स्याउको बगैंचा हेर्न स्थानीय बजार, खलंगा, श्रीनगर, बाबियाचौर, सल्लीबजारसँगै सुर्खेतबाट समेत आउने गरेको उहाँको भनाइ छ ।

स्याउको बगैंचा हेर्न आएका मानिसहरुले बोटबाटै किनेर लग्ने गरेका छन् । ‘स्याउको स्वाद लिन बगैंचामा पुगेपछि स्वर्गकै अनुभूति हुन्छ, चिसो सिरेटो अनि कुहिरोभित्र हराउँदा बेग्लै आनन्द आउँछ’– बागचौर नगरपालिका– ६ का कुमार वलीले भन्नुभयो– ‘स्याउ बगैंचा हेर्न र स्याउ खान आएको हुँ, बजारमा पाइने भन्दा यो स्याउ निकै मिठो र स्वादिलो छ ।’

बगैंचामा प्रवेश गरेपछि स्याउसँग टिकटक बनाउन र आफूलाई आवश्यक पर्ने स्याउ खरिद गर्न सजिलो भएको शारदा नगरपालिका–५ दुल्धारा पोखराका कुश्मा राणाले बताउनुभयो । ‘मेरो घर यही नजिकै हो तर म अहिलेसम्म आएको थिएन, बोटबाट नै स्याउ टिपेर खान पाइने र टिकटक बनाउन पाइने भएकाले आएको हुँ, निकै रमाइलो लाग्यो’– उहाँले भन्नुभयो ।

जिल्लाको जयतपानी, दमाचौर, गुर्दासे, चाँदे लगायतका क्षेत्रमा स्याउ खेती गरिन्छ । जिल्लाभर करिब ४५ हेक्टरमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख रेशमकुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार जिल्लामा चार सय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । यसक्षेत्रमा लो चिलिङ्ग स्याउको सम्भावना धेरै छ ।

‘बाहिरी देशको स्याउ जिल्लामा आइ नसकेको र अरु जिल्लामा स्याउ पाकी नसकेकाले यहाँको स्याउले राम्रो बजार पाउँछ, अधिकांश स्याउ स्थानीय बजारमा नै खपत हुन्छ’– उहाँले भन्नुभयो– ‘असारको अन्तिमदेखि भदौसम्म यहाँको स्याउ बजारमा जान्छ ।’ हिउँदे फलफूल अन्तर्गत ओखर र स्याउ खेतीलाई प्रवद्र्धन गर्न आउँदो वर्ष विशेष कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस