तीन जिल्लाका करदातालाई सहजता : एकै बर्षमा ५१ करोड राजस्व संकलन

२०७७ सालमा सल्यानसहित रुकुम पश्चिम र रुकुम पूर्वका नागरिकको सहजताका लागि सल्यानको श्रीनगरमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो ।

सल्यान, ३१ साउन ।

करदाता सेवा कार्यालय सल्यानले झण्डै ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले गएको आर्थिक वर्ष २०७९/०८० मा ५० करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । एक वर्षको अवधिमा ४१ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा करिब १२३ प्रतिशत बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

२०७७ सालमा सल्यानसहित रुकुम पश्चिम र रुकुम पूर्वका नागरिकको सहजताका लागि सल्यानको श्रीनगरमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो । कर सम्बन्धी काम जिल्लामा नै भएपछि तीन जिल्लाका नागरिक तथा व्यवसायी दाङ जानुपर्ने बाध्यता अन्त्य भएको छ । कार्यालयका सूचना अधिकारी विष्णु खड्काले एक बर्षको अवधिमा ३३ करोड ५९ लाख रुपैयाँ आयकर संकलन गरिएको बताउनुभयो ।

उहाँका अनुसार मूल्यअभिबृद्धि करतर्फ १६ करोड ४५ लाख रुपैयाँ र अन्तःशुल्कतर्फ ९४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै सोही अवधिमा आयकर तर्फ एक हजार छ सय १३ वटा फर्म दर्ता भएका छन् । यस्तै मूल्यअभिबृद्धि करतर्फ एक सय ५७ वटा र अन्तःशुल्कतर्फ एक सय छ वटा फर्म दर्ता भएका छन् ।

यस्तै एक वर्षमा चार हजार एक सय ७४ जनाको व्यक्तिगत स्थायी लेखा नम्बर र ५ सय ८८ वटा सरकारी निकायको स्थायी लेखा नम्बर जारी गरिएको छ । यो अवधिमा एक सय ६१ पटक बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा जरिवानामार्फत तीन लाख ७९ हजार रुपैयाँ संकलन भएको छ । यस्तै सबैखाले तीन सय ७७ वटा फर्म खारेजी भएका छन् । व्यवसायहरुको कारोवार नभएका, फर्मका सञ्चालक विदेश गएका तथा मृत्यु भएका कारण धेरै फर्म खारेजीमा परेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

उहाँले तीन जिल्लाका नागरिकको सहजताका लागि सल्यानमा करदाता सेवा कार्यालय सञ्चालन भएको र राजश्व संकलन सहज हुँदा लक्ष्य भन्दा धेरै राजस्व संकलन भएको बताउनुभयो । ‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ’– उहाँले भन्नुभयो– ‘बाध्यात्मक अवस्था बाहेक कर समयमै उठ्ने गरेको छ ।’

अहिले यस क्षेत्रमा करदाता बढ्नुको साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि शुरु भएको छ । करदाताहरुले आफ्नो कर्तव्य सम्झेर कर तिर्ने लहर चल्न थालेपछि हरेक वर्ष कार्यालयले लक्ष्य भन्दा बढी कर संकलन गर्न थालेको छ । अहिले नागरिकलाई कर शिक्षा समेत प्रदान गर्न थालिएको छ ।

‘गएको वर्ष कर शिक्षा सम्बन्धी दश वटा कार्यक्रम सञ्चालन गरेका हौं, आर्थिक ऐनमा भएको करसम्बन्धीको व्यवस्था, करको दायरा, समयमै कर तिर्नुपर्ने, सबैले कर तिर्नुपर्ने, कर छलि गर्न नहुने लगायतका विषयमा शिक्षा दिदै आएका छौं’– उहाँले भन्नुभयो– ‘अहिले नागरिकलाई सहज भएको छ, कर छलिका घटना हाम्रो कार्यक्षेत्रमा भएको पाइ‘ँदैन ।’

अहिले व्यक्तिगत प्यान, व्यावसायिक प्यान र भ्याट दर्ता तथा खारेज, करचुक्ता प्रमाणपत्र प्रदान, कर विवरण, आय विवरण, अन्तः शुल्क विवरण बुझाउनेलगायतका सेवा लिन जिल्ला बाहिर जानु नपर्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस