‘सायद बाँच्नु लेखेको रहिछ : आत्महत्याको मुखबाट उम्कन सफल भए’

मनोसामाजिक परामर्श र औषधी उपचारपछि यो समस्या समाधान हुन्छ भन्ने थाहा पाएपछि मनोसामाजिक परामर्श सेवा लिएको र अहिले जीवनमा बाँच्ने आशा पलाएको उहाँको भनाइ छ ।

सल्यान, २४ भदौँ ।

घटना : १

शारदा नगरपालिका निवासी ३६ वर्षीया सिता (नाम परिवर्तन) ले घरमा आर्थिक अवस्था कमजोर भएका कारण पढ्ने रहर हुँदाहुँदै पनि १६ वर्षको हुँदा विवाह गर्नुभयो । उहाँका २ छोरा छन् । ठुला छोरा सुस्त मनस्थितीका छन् । छोरा सानो छँदा केही थाहा भएन् । जव छोरा स्कुलमा पढ्न जानथाल्यो, त्यसपछि छोराको समस्या पनि बढ्दै गयो । संगैका साथीहरु स्कुल पढ्ने, साथीसंग खेल्ने, घरको अन्य काम गर्थे तर उहाँको छोराले भोक लागेको समेत थाहा पाउँदैन् थिए ।

छोराको यस्तो व्यवहारले सितालाई सधैं चिन्ताले सताउन थाल्यो । मेरो छोरा अरु केटाकेटी जस्तो किन भएन् ? यस्तो अवस्थामा कसरी हुर्काउने होला ? समाजले के भन्छ होला ? ‘छोराको कारणले मलाइ पनि घरपरिवारले हेला गरेको जस्तो महसुस हुन्थ्यो’ विगत सम्झिदैँ उहाँ भन्नुहुन्छ ‘छोरा शारिरिक रुपमा कमजोर भएकाले काम गर्न सक्दैन, पढ्न सकेको भए केही गरेर खान सक्थ्यो ।’ छोरालाई उपचारका भारत लगेपनि डाक्टरले उपचार सम्भव छैन् भने । पछि वैदेशिक रोजगारीको लागी मलेसिया गएका श्रीमानले केही समयसम्म फोन गर्ने, पैसा पठाउने गर्नुहुन्थ्यो तर विस्तारै फोन गर्न पनि छाड्नु भयो ।

‘एक्कासी श्रीमानले म दोस्रो विवाह गर्छु, दुबै जनालाइ मिलाएर राख्छु, यदि तिमी मलाइ विवाह गर्न स्वीकृती दिन्छौ भने ठिक छ नत्र मेरो घर छोडेर जाउ भन्न थाल्नुभयो, यता छोराको चिन्ता, उता श्रीमानको दोस्रो विवाहको प्रस्ताव, यसले मलाइ तनाव थपियो, म एक्लै बस्ने, रुन मन मात्रै लाग्ने, काम गर्न जाँगर नलाग्ने, कतिदिन कोठामा भोकै बसे, मेरो लागी सबै बाटा बन्द भए जस्तो लागेपछि दुइ पटक विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरे’ विगत सम्झिदै उहाँ भक्कानिनुभयो ‘सायद बाँच्नु लेखेको रहेछ दुबै पटकको प्रयास असफल भयो ।’

मानसिक स्वास्थ्यका क्षेत्रमा क्रियाशिल मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको परियोजना पछि जीवनमा नयाँ परिवर्तन भएको उहाँको भनाइ छ । ‘सीएमसी नेपाल र शारदा नगरपालिकाको साझेदारीमा संचालित प्रवासी कामदार तथा तिनका परिवारको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना अन्तरगत कार्यक्रम आएपछि मानसिक स्वास्थ्यका विषयमा धेरै कुराहरु सिक्ने र बुभ्mने अवसर मिल्यो’ उहाँले भन्नुभयो ‘कार्यक्रममा बस्दा थाहा पाए, मलाइ दिक्दारीपनको समस्या रहेछ ।’

मनोसामाजिक परामर्श र औषधी उपचारपछि यो समस्या समाधान हुन्छ भन्ने थाहा पाएपछि मनोसामाजिक परामर्श सेवा लिएको र अहिले जीवनमा बाँच्ने आशा पलाएको उहाँको भनाइ छ । ‘म अहिले मानसिक स्वास्थ्य समस्या निराकरण अभियानमा लागेकी छु, मेरो सम्पर्कमा आएका व्यक्तिलाइ सम्बन्धित ठाउँमा रिफर गर्ने गरेको छु’ उहाँले भन्नुभयो ।

घटना : २

६० वर्षीया उमा (नाम परिवर्तन) विगत ५/६ वर्ष देखी झर्को लाग्ने, रिस उठ्ने, मन नरमाइलो हुने, एक्लै बस्ने र अब बाँच्नुको कुनै अर्थ छैन बरु मर्न पाए हुन्थ्यो भनी योजना बनाइ रहनु हुन्थ्यो । ७५ वर्षीय श्रीमान सधैं मदिरा सेवन गर्ने, शंका गर्ने, गाली गर्ने, रातमा सधैं बोली रहने र घरायसी काममा जाँदा को सँग सुतेर आइस भन्दै गाली गर्ने र घर भित्र पस्न दिदैन्थेँ । श्रीमानको गालीगलौच र मानसिक यातनाले उमाले निरास हुदैँ २ पटक आत्महत्याको सोच बनाउनुभयो ।

‘एकपटक घर नजिकैको रुखमा डोरीको पासो बनाएर झुंडिनै लाग्दा छोरीको अनुहार सम्झेर घर फर्के, हुनत छोराछोरी सबैको विवाह भइ सकेको छ, छोरा विदेशमा छन्, बुहारी बजारमा बस्छन्, बुढेसकालमा सन्तानले सहारा देलान भनेको तर समय नै यस्तै रहेछ बुढाबुढी मात्रै बस्नु पर्ने, यस्तो अवस्थामा श्रीमानले पनि यातना दिन थालेपछि बाँचेर नि के गर्नु जस्तो लाग्थ्यो’ उहाँले विगत सम्झदैँ भन्नुभयो ‘एकदिन गाउँमा दलित महिलाको बैठक बसेको थियो, बैठकमा सीएमसी नेपालको प्रर्वद्धन परियोजना अन्तरगत साथी सहयोगी समुहका सदस्यले मनोसामाजिक कार्यकर्तासंग मानसिक स्वास्थ्य सम्बन्धी छलफल गरिदिन भनेपछि सो छलफलमा मैले आप्mनो समस्या राख्ने मौका पाए ।’

त्यसपछिका नियमित मनोपरामर्श र औषधि सेवनपश्चात आफुमा सुधार आएको उहाँको भनाइ छ । त्यसपछि उहाँ जिल्लास्थित स्वावलम्बन समुहको सदस्य बन्नुभयो । समुहले उमाको समस्यालाइ मध्यनजर गर्दै जिविकोपार्जन सहयोगका लागी अनुरोध गरेपछि उहाँलाइ २५ हजार रुपैयाँ बाख्रापालनका लागी सहयोग ग¥यो । त्यसपछि उहाँले बाख्रापालनसँगै अहिले समुहमा सकृय भएर काम गर्दै आउनुभएको छ । ‘मनमा भएको गाह्रो अप्ठ्यारोलाइ सुनी दिने मान्छे सम्म भै दिंदा समेत धेरै परिवर्तन आउँदो रहेछ’ उहाँ भन्नुहुन्छ ।

000

सीएमसी नेपालमा कार्यरत मनोपरामर्शकर्ता मिना बुढाथोकीले अझै पनि लाज मान्ने, डर तथा त्रास संगै विभिन्न कारणले समस्या लुकाएर बस्ने चलन समाजमा अझै पनि रहेकोले मानसिक समस्यालाई अरु रोग जसरी नै लिनुपर्ने वताउनुभयो । उहाँले जिल्लाका ४ वटा पालिकामा सीएमसीले काम गर्दै आएको बताउनुभएको छ ।

पछिल्लो समय सल्यानमा आफूले भोगेका मानसिक स्वास्थ्य समस्याबारे खुलेर भन्ने, उपचार खोज्नेहरूको संख्या बढिरहेको मनोविद्हरू बताउँछन् । मानसिक स्वास्थ्य समस्या बढेको तर त्योसँगै अन्य शारीरिक स्वास्थ्य समस्या जस्तै यो मानसिक स्वास्थ्य समस्या पनि हो भन्ने सचेतना बढेको उनीहरूको भनाइ छ । जसका कारण आत्महत्याका घटनामा कमी आएको छ ।

सामाजिक सञ्जालको यथोचित प्रयोग, सञ्चारमाध्यमको कभरेज, समस्याबाट गुज्रिरहेका र निको भएर आफ्नो भोगाइबारे खुलेर भन्नेहरूका कारण पनि जनचेतना बढ्दै गइरहेको सीएमसी नेपालका कर्णाली प्रदेश संयोजक हिमाल गैरेको अनुभव छ । ‘अहिले सामाजिक सञ्जाल, संचारमाध्यममा मानसिक स्वास्थ्य समस्या बारेमा पढ्छन्, सुन्छन्, हेर्छन्, आफूले भोगेको समस्या मिल्दोजुल्दो भए सम्बन्धित निकायमा खबर गर्छन्’ उहाँले भन्नुभयो ।

नेपालको संविधानले बाँच्न पाउने अधिकारको प्रत्याभूत गरेको भएता पनि विभिन्न बाध्यात्मक परिस्थितिबाट उम्कन नसक्दा व्यक्तिले आत्महत्यालाई अन्तिम विकल्पको रूपमा लिइरहेको भन्दै उहाँले गएको बर्ष सल्यानमा ४५ जनाले आत्महत्या गरेको बताउनुभयो । मानसिक समस्या भएका व्यक्तिको धैर्यता पूर्वक कुरा सुन्ने, सहानुभूति दर्शाउने, स्थितिलाइ गम्भीरता साथ लिने र जोखिमको आंकलन गर्ने, आत्महत्या बाहेक अन्य सम्भावनाका बारे बुझाउने, यदि धेरै जोखीम छ भने कहिल्यै एक्लो नछोड्ने गरेमा आत्महत्या रोक्न सकिने उहाँको भनाइ छ ।

सचेतिकरणको कार्यक्रम सञ्चालन गर्छौै : मन्त्री पोख्रेल

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोख्रेलले मानसिक स्वास्थ्य समस्याकाले आत्महत्याको जोखिम बढेको भन्दै यसलाई रोक्नको लागि सचेतिकरणका कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । उहाँले सार्वजनिक वृत्तमा हुने खुला बहस, सार्वजनिक व्यक्तित्वले आफूमा भएको मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गरिदिनाले मानसिक समस्या कम हुदैँ गएको बताउनुभयो ।

मानसिक स्वास्थ्य समस्याको बेलैमा उपचार गरेमा आत्महत्याको जोखिम कम हुने उहाँको भनाइ छ । ‘प्रदेश सरकारले प्राथमिकता दिन थालेपछि जनचेतना धेरै बढेको छ, तर अझै धेरै काम गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘तुलनात्मक रूपमा जनचेतना बढिरहे पनि एकदम सामान्य तरिकाले बढिरहेको छ, मानसिक स्वास्थ्य समस्या, अन्य शारीरिक स्वास्थ्य समस्या सरह हो उपचार गर्नुपर्छ, उपचारबाट निको हुन्छ भन्ने चेतना अझै ठूलो संख्याको नागरिकमा छैन, त्यसका लागि काम गर्नुपर्ने छ ।’

मानसिक स्वास्थ्य समस्यालाई सामाजिक लाञ्छना लगाउनेहरू कम हुँदै गइरहे पनि पूर्ण रूपमा हट्नका लागि केही समय लाग्ने उहाँको भनाइ छ । ‘तर पछिल्लो समय खुलेर कुरा गर्नेहरूको संख्या बढेको देख्दा विस्तारै सामान्यीकरण हुँदै गइरहेको छ, जुन अत्यन्तै सकारात्मक कुरा हो’ उहाँले भन्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित