मौलिक लोक कला संरक्षण गर्दै कपुरकोट

‘पुरानो पुस्तासँगै पुराना संस्कृति पनि सकिने हो कि भन्ने चिन्ता छ, मेला, पर्व र सार्वजनिक उत्सवमा नाचिने नाचहरु हराउँदै गएका छन्, आधुनिक गीत/संगीत र प्रविधिका कारण युवापुस्ता संस्कृति संरक्षणबाट टाढा हुँदै गएका छन्’ उहाँले भन्नुभयो ‘लोक संस्कृति बचाउन मौलिक लोक कला प्रदर्शनी गरेका हौँ ।’

सल्यान, १६ कार्तिक ।

परम्परागत रुपदेखि चलन चल्तीमा रहेका मौलिक लोक कला संस्कृति दिनानुदिन लोप भईरहेको अवस्थामा सल्यानको कपुरकोट गाउँपालिकाले संरक्षण र सवर्द्धनमा जोड दिएको छ । पालिका भित्र रहेका पुराना लोक संस्कृति पैसेरी, सोरठी, झ्यांगा, साइलो जी, ठाडो भाका लगाएतका लोक संस्कृति हराउँदै जान थालेको अवस्थामा गाउँपालिकाले लोक संस्कृति संरक्षणमा जोड दिएको हो ।

एकातिर संस्कृति हराउदैँ गएको र अर्कोतर्फ नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण नहुदा लोभ हुन थालेकाले संस्कृतिको संरक्षण गर्ने र पुस्तान्तरण गर्ने कार्यमा जोड दिइएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । ‘कपुरकोट गाउँपालिका लोक सस्कृतिमा धनि छ, यहाँ पुराना थुप्रै लोक संस्कृति छन्, तर ति संस्कृतिको पहिचान र पुस्तारन्तरण हुन सकेको छैन्’ उहाँले भन्नुभयो ‘संस्कृतिको संरक्षण गर्ने दायित्व पालिकाको भएकाले हामी लागि परेका छौँ ।’

गाउँघरका ज्येष्ठ नागरिकहरुमा मात्र सीमित बनेका संस्कृति जर्गेनातिर स्थानीय सरकारले ध्यान केन्द्रित गरेको उहाँको भनाइ छ । ‘पुरानो पुस्तासँगै पुराना संस्कृति पनि सकिने हो कि भन्ने चिन्ता छ, मेला, पर्व र सार्वजनिक उत्सवमा नाचिने नाचहरु हराउँदै गएका छन्, आधुनिक गीत/संगीत र प्रविधिका कारण युवापुस्ता संस्कृति संरक्षणबाट टाढा हुँदै गएका छन्’ उहाँले भन्नुभयो ‘लोक संस्कृति बचाउन मौलिक लोक कला प्रदर्शनी गरेका हौँ ।’

 

पुराना लोक संस्कृतिको सरक्षण एवं प्रवर्द्धन गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएकाले संरक्षणमा लागि परेको अध्यक्ष पुनको भनाइ छ । ‘मौलिक संस्कृति हाम्रा चिनारी हुन्, संरक्षणका लागि पालिकाले कपुरकोट कला साहित्य संरक्षण समिती नै बनाएको छ’ उहाँले भन्नुभयो । गाउँपालिका भित्रका सबै वडा लोक कला र संस्कृतिले भरिपुर्ण रहेको उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले लोक कला संस्कृतिको संरक्षणका लागि पालिकास्तरीय पुराना सोरठी, पैसरी लगाएतका नाच प्रदर्शन गरिएको बताउनुभएको छ । ‘पुरानो पुस्ताले युवालाई संस्कृति हस्तान्तरण गर्न खोजे पनि अनिच्छुक हुँदा समस्या भएको हो, बेरोजगारीका कारण अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले पनि सीप सिक्ने इच्छा देखाउँदैनन्’ उहाँले भन्नुभयो ‘संस्कृतिको संरक्षणका लागि भनेर सबै वडाको नाच प्रर्दशन गरिएको हो ।’

उहाँले गाउँपालिकाका ६ वटै वडामा संरक्षण गरेर राखिएको पुराना लोक संस्कृतिको कालिका माद्यामिक बिद्यालय कपुरकोटमा प्रदर्शन गरिएको बताउनुभएको छ । ‘स्थानियको उत्साहजनक सहभागिता थियो, सिक्ने र सिकाउने कार्यको भर्खर थालनी गरेका छौँ’ उहाँले भन्नुभयो ‘केही युवापुस्तामा संस्कृति वचाउनुपर्छ भन्ने सोच पलाएको छ, केही लाग्नु पनि भएको छ ।’

बरिष्ठ लोक गायक तथा बाध्यवादक खर्क बहादुर बुढाले पुराना लोक कला संस्कृतिको लिपिवद्ध नगरेसम्म संरक्षण गर्न गाह्रो हुने बताउनुभएको छ । ‘पुराना लोक संस्कृतिको लिपिवद्ध गर्न आबश्यक छ, अहिलेसम्म पुराना केही पुस्ताले सोरठी गित गाउनुहुन्छ, तर पछिल्लो पुस्ताले जानेका छैनन्, त्यसैले गित लेखेर लिपिवद्ध गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘गित बुझ्यो भने पनि न गाउन जान्ने हो, त्यही भएर यसमा सबैले चासो दिनुपर्छ ।’ लोक कला संस्कृतिको संरक्षणमा पालिकाले गरेको कार्य प्रशंसायोग्य रहेको उहाँको भनाइ छ ।

कपुरकोट गाउँपालिका–५ रिमका मंगलसिंह सुनारले लोक कला संस्कृतिको संरक्षणका लागि गाउँपालिकाले गरेको काम राम्रो भएको बताउनुभएको छ । ‘पहिले हामीले सोरठी नाच्थ्यौँ, तर विचमा सोरठी नाच्ने नै मान्छे पुगेनन्, गाउँमा कोही भएनन्, केही बर्ष हामीले सोरठी नाच्न नै छोड्यौँ, अहिले फेरी सुरुवात गरेका छौँ, जतिसक्दो चाँडो पुस्तान्तरण गर्ने सोच बनाएका छौँ’ उहाँले भन्नुभयो ।

सो अवसरमा झण्डै एक दर्जन लहरे, सोरठी लगाएतका नाच प्रर्दशन गरिएको थियो । कार्यक्रममा सहभागि सबै नाचलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा एकल लोक गीत र एकल नृत्य प्रतियोगिता राखिएको थियो । एकल लोक गीतममा अनिता पुन प्रथम, पार्वती पुन दृतिय, दिलमाया घर्ती तृतीय र दिलकुमारी विक सान्त्वना हुनुभएको छ । यस्तै एकल नृत्यमा यमुना पुन प्रथम, सिम्रन आरसी दृतिय, रिता घर्ती तृतीय र भावना बोहरा सान्त्वना हुनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित