सल्यान, २५ मंसिर ।
सल्यानको शारदा नगरपालिका– ४ साहुटोलमा रहेको शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयका बिद्यार्थीले पुरै कोर्स पढ्न नपाएर नै बार्षिक परिक्षा दिएका छन् । बहुप्राविधिक शिक्षालयमा पशु बिज्ञान तर्फ तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीले पुरै कोर्स नपढेर नै अहिले बार्षिक परिक्षा दिइरहेका हुन् । उनीहरुको केही दिनअघि देखी मात्रै बार्षिक परिक्षा सुरु भएको छ ।
तेस्रो बर्षमा पढ्नुपर्ने ७ वटा बिषय मध्ये अधिकांश बिषयको पुरै पढाइ नसकिएको र कर्मसियल डेरी बिषयको पढाई नै नभएर बार्षिक परिक्षा दिएको एक बिद्यार्थीले बताए । ‘जेठमा खानेपानीको अभाव भएर एक महिना शिक्षालय बन्द भयो, अनि फेरी प्रयोगात्मक सिकाईँका लागि शिक्षालय बाहिर जानुपर्यो, अहिलेसम्म पनि यस बिषयको पढाइ भएन्, नपढेर नै परिक्षा दिँदा गाह्रो भएको छ’ उनले भने ।
यस शिक्षालयमा सिभिल इन्जिनियरिङ तर्फ प्रशिक्षकको अभाव नभएपनि पशु बिज्ञानमा भने प्रशिक्षकको अभाव रहेको छ । शिक्षालयमा ८ जना प्रशिक्षक र २ जना सहायक प्रशिक्षकको दरबन्दी छ । तर पशु बिज्ञान तर्फको ५ दरबन्दीमा हाल एक जनामात्रै प्रशिक्षक रहेका छन् । बाँकी आंशिक समयका प्रशिक्षक रहेका छन् । जसले गर्दा पठनपाठन नियमित नभएको बिद्यार्थीहरु बताउँछन् ।
नियमित पठनपाठन नभएको, पुरै कोर्स पढ्न नपाएको भन्दै आइतवार यस शिक्षालयमा बिद्यार्थीले ताला लगाएका थिए । पशु डाक्टरको कमी हुनु, शिक्षालयको व्यवस्थापन कमजोर हुनु, दरबन्दी अनुसारको पदपुर्तीमा ढिलाई गर्नु, आंशिक समयका प्रशिक्षकहरुलाई सेवासुविधा दिन कन्जुस्याँइ गर्नु जस्ता कारण शिक्षालयमा प्रशिक्षकहरुको अभाव भएको स्रोतले जनाएको छ ।
यता शिक्षालय प्रशासनले भने बहुप्राविधिक शिक्षालयमा प्रशिक्षक अभाव भएर बिद्यार्थीको पढाई पुरा नभएको बारेमा अनविज्ञता जनाएको छ । चैतमा हुनुपर्ने परिक्षा सिटिइभिटिले पहिले नै बनाउदा कोर्स नसकिएको तर्क छ । निमित्त शिक्षालय प्रमुख यमलाल पाण्डेले शिक्षालयमा दरबन्दी अनुसारको प्रशिक्षक र सहायक प्रशिक्षक नभएपनि आंशिक समयका प्रशिक्षक राखेर पठनपाठन नियमित गरिएको दावी गर्नुभयो ।
दरबन्दी पदपुर्तीका लागि बिज्ञापन आह्वान भैसकेकाले अबको केही समयपछि प्रशिक्षकको अभाव नहुने उहाँको भनाइ छ । ‘शिक्षालय प्रमुख हुदा यसबारेमा मलाई थाहा हुने कुरा भएन्, मंसिर १५ गतेबाट मात्रै मैले निमित्त शिक्षालय प्रमुखको जिम्मेवारी पाएको हुँ, शिक्षालयलाई राम्रो बनाउने र गुणस्तरीय शिक्षा प्रदान गर्नेमा नै हाम्रो जोड रहन्छ, पशु बिज्ञान पढाउने डाक्टर नपाउँदा समस्या भएको हो’ उहाँले भन्नुभयो ।