सल्यान, १२ चैत ।
सल्यानको कालिमाटी गाउँपालिका–६ का स्थानिय खानेपानीका लागि कुलोको भर पर्न बाध्य भएका छन् । यस वडाका भैँसीदमार, भलाइबास र बेल्टरी गाउँका स्थानियले सिँचाइका लागि कुलोमा आएको पानी उपभोग गर्दै आएका हुन् । बस्ती वरिपरी खानेपानीको मुहान नहुनु र टाढाबाट बस्तीमा खानेपानी ल्याउने कुनै योजना नबन्दा स्थानियले सिँचाइका लागि ल्याएको पानी पिउदैँ आएका छन् ।
स्थानियका अनुसार गाउँ नजिक खानेपानीका मुहान छैनन् । उनीहरुले खेतवारी सिञ्चित गर्नका लागि खोलाबाट २ वटा कुलोमा मानववस्ती सम्म पानी ल्याएका छन् । हो स्थानियले त्यही कुलोको पानी पिउदैँ आएका छन् । स्थानिय भक्त बहादुर थापाले आफुहरुले करिब पाँच दशक देखी कुलोको पानी पिउदैँ आएको बताउनुभयो ।
‘बि.सं.२०२९ सालमा छरछरे लगाएतका बिभिन्न स्थानबाट बसाईँ सरेर यहाँ आएका हौँ, खोलाको छेउ, उर्वर भुमी, समथर भुभाग र उत्पादन पनि राम्रो हुनेभएपछि यहाँ आयौँ, जुन बेला हामी यहाँ आयौँ, त्यो बेला देखी नै यहाँ खानेपानीको समस्या थियो, पानी ल्याउन मुहानसम्म जाने हो भने दिनभर लाग्छ’ उहाँले भन्नुभयो ‘त्यो बेला देखी नै खेतवारीमा सिँचाइ गर्न कुलोमा पानी ल्याएका थियौँ अहिले पनि त्यही कुलोको पानी प्रयोग गर्दै आएका छन् ।’
उहाँका अनुसार विगतमा कुलोको पानी सफा नै थियो । मानवबस्ती कम थियो । तर अहिले कुलोको मुहान क्षेत्रमा वस्ती विस्तार हुदैँ गएकाले पानी पनि दुषित भएको उहाँको भनाइ छ । ‘अहिले त मान्छेको बसाई बाक्लो भयो, केही घरमा अझै शौचालय भेटिदैन्, भएकाले पनि खुल्ला शौच गर्छन्, यसले गर्दा बर्खाको समयमा पानी झन् दुषित हुन्छ, तर हाम्रो बाध्यता हो, हामी यही कुलोकै पानी उपभोग गर्छौ’ उहाँले थप्नुभयो ।
अर्का स्थानिय बिर्बी रोकाले बाह्रै महिना कुलोको पानी पिउदा स्वास्थ्यमा समस्या देखिने गरेको बताउनुभयो । ‘हामी बाह्रै महिना कुलोको पानी खान्छौँ, बर्खामा पानी धमिलो हुन्छ, साना–साना खाल्टा बनाउँछौँ, केही घण्टापछि माटोको लेदो एकातीर थिग्रिन्छ, अनि हामी यसैलाई खान्छौँ’ उहाँले भन्नुभयो ‘दूषित खानेपानीकै कारण बर्खामा झाडापखाला, आऊ, हैजा, रुघाखोकी लाग्ने त सामान्य भैसक्यो ।’
उहाँले कुलोको पानी बर्खामा बढी धमिलो हुने भएकाले कतिपयले जुम खोलाको छेउमा खाल्टा बनाएरै पानी निकाल्ने गरेको बताउनुभयो । उहाँका अनुसार बस्ती देखी टाढा रहेको सिस्नेरीमा खानेपानीको मुहान छ । त्यस मुहानको पानी वस्तीसम्म ल्याउँदा प्रशस्त हुन्छ । तर पानी बस्तीमा ल्याउने न कुनै योजना छ, न त बजेट नै छ । जसका कारण आफुहरु खानेपानीकै लागि कुलोको भर पर्नुपरेको उहाँको भनाइ छ ।
यसक्षेत्रमा २७ घरधुरी रहेका छन् । उनीहरुले खेतवारीमा सिँचाइ गर्ने, बस्तुभाउलाई खुवाउने र आफुले पिउने पानी नै कुलोको हो । गाउँपालिकाकै विकट र टाढाको बस्ती भएकाले पनि सरकारले खानेपानी योजना निर्माणमा ध्यान नदिएको स्थानियको बुझाइ छ । यी बस्ती देखि वडा कार्यालय भएको बस्ती आधा घन्टाको दुरीमा रहेको छ । उक्त बस्तीका घरघरमा धारा भएपनि आफ्नो बस्तीमा भने अहिलेसम्म योजना संचालन हुन नसकेको स्थानिय बताउँछन् ।
यता कालिमाटी गाउँपालिका–६ का वडाध्यक्ष टेकराज पुलामीले यस क्षेत्रका स्थानियलाई सफा र स्वच्छ खानेपानीको पुहँचमा पु¥याउनको लागि पहल भैरहेको बताउनुभएको छ । ‘यहाँका स्थानियले खानेपानीका लागि माग गर्दै आएका छन्, यहाँको मुख्य समस्या पनि खानेपानी हो, हामीले आउँदो बर्षमा निर्माण सम्पन्न गर्ने गरी खानेपानीको योजना निर्माण र वजेटको व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो ‘आउँदो बर्षमा यहाँका तीन वटै बस्तीमा खानेपानी पु¥याउने हाम्रो लक्ष्य छ ।’