सल्यानमा छैन् दमकल : डढेलो निभाउन ‘स्याउला’ कै भर

‘जिल्लामा बर्षेनी डढेलोका घटनाहरु घट्ने गर्दछन्, तर पनि दमकल नहुदाँ समस्या हुने गरेको छ’ उहाँले भन्नुभयो ‘दमकलबाट वनजंगलमा गएर डढेलो निभाउन नसकिएला तर सडकको पहुँच भएका क्षेत्रका घर तर बचाउन सकिन्थ्यो ।’

सल्यान, २४ बैशाख ।

सल्यान जिल्ला नै दमकल बिहिन छ । जिल्लाका दश स्थानिय तहहरु मध्ये कुनै पनि स्थानिय तहमा दमकल छैन् । जिल्लामा आकस्मिक रुपमा आगलागी हुदा निभाउने यन्त्र नै नभएपछि समस्या हुने गरेको छ । सामुदायिक बनमा लागेको डढेलो मानव बस्तीमा आउदाँ पछिल्लो एक महिनामा मात्रै ५६ घरगोठ जलेर नष्ट भए । जिल्लाले करोडौँको क्षती बेहोर्नु प¥यो । तर पनि जिल्लामा एउटा दमकल नहुनु दुखद भएको जिल्लाबासी बताउँछन् ।

आफ्नो लागी दुई पाँग्रे र चार पाँग्रे सवारीसाधन खरिद गरेका स्थानिय तहका जनप्रतिनिधिले डढेलो नियन्त्रणका लागि भने एउटा दमकल समेत खरिद गर्न सकेका छैनन् । छत्रेश्वरी गाउँपालिकाका दिपेन्द्र भण्डारीले जिल्लामा एउटा पनि दमकल नहुनु दुःखद भएको बताउनुभयो । ‘जिल्लामा बर्षेनी डढेलोका घटनाहरु घट्ने गर्दछन्, तर पनि दमकल नहुदाँ समस्या हुने गरेको छ’ उहाँले भन्नुभयो ‘दमकलबाट वनजंगलमा गएर डढेलो निभाउन नसकिएला तर सडकको पहुँच भएका क्षेत्रका घर तर बचाउन सकिन्थ्यो ।’ दमकल भए डढेलोका कारण हुने क्षती केही हदसम्म कम हुने उहाँको भनाइ छ ।

स्थानिय तहले अत्याबस्यक दमकल किन्नुको साटो बरु डाँडाकाँडा भत्काउनका लागी डोजर किन्ने गरेको स्थानिय बताउँछन् । ‘स्थानिय तह अत्याबस्यक दमकल किन्नुको साँटो सडक बनाउने नाममा डाँडाकाँडा भत्काउने डोजर किन्छन्, अहिले सामान्य आगलागि भएपनि ठुलो क्षती हुने गरेको छ’ अर्का स्थानिय पुर्ण बहादुर बुढाले भन्नुभयो ‘जनप्रतिनिधीहरुले भौगोलिक विकटताका कारण गाउँमा खासै दमकलको आवश्यकता नदेखिएकाले दमकल नकिनेको दाबी गर्दै आएका छन् ।’

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरिक्षक नवीन कार्कीले जिल्लामा दमकल अतिआवश्यक रहेको बताउनुभयो । ‘एउटा पालिका एक्लैले दमकल किन्न सक्दैन् भने भेग समेटेर केही पालिका मिलेर किन्न पनि सकिन्छ, भौगोलिक बिकटताका कारण दमकलले पुरै बन जोगाउन सकिदैन्, तर बस्ती बचाउन सकिन्छ, मान्छे र उनीहरु बस्ने घर बचाउनु नै अहिलेको मुख्य काम हो’ उहाँले भन्नुभयो ।

डढेलो बस्तीमा पस्दा ५६ घरगोठ जलेर नष्ट

सल्यानमा झण्डै एक महिनाको अवधिमा वन डढेलोका कारण ५६ घरगोठ जलेर नष्ट भएका छन् । जंगलमा लागेको आगो बस्तीमा पस्दा २५ वटा घर र ३१ वटा गोठ जलेर नष्ट भएका हुन् । जिल्लाको त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका र शारदा नगरपालिकाका विभिन्न स्थानमा गरी डढेलोले घरगोठमा पुर्णरुपमा क्षति पु¥याएको हो ।

डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी चन्द्रविर गुरुङ्गले यस पटक १ सय ७० बन समुहमा डढेलो लागेको बताउनुभयो । जिल्लामा ६ सय १७ सामुदायिक वन रहेका छन् । डढेलोका कारण करिब १२ हजार हेक्टर वन स्वाहा भएको अनुमान गरिएको र आधिकारिक तथ्यांक संकलनको काम भैरहेको उहाँको भनाइ छ । विभिन्न सामुदायिक वनमा लागेको डढेलोबाट करिब ५० हजार बढी साना–ठूला बोटबिरुवा जलेर नष्ट भएका छन् । यो बैशाख २१ गतेसम्मको तथ्यांक हो ।

यस्तै डढेलोमा परेर घाइते भएका घोरल र खरायोको उद्धार गरिएकोमा उपचारको क्रममा मरेका वन कार्यालयले जनाएको छ ।

डढेलो निभाउन ‘स्याउला’ कै भर

सल्यानमा बर्सेनि डढेलो लाग्छ । तर अहिलेसम्म पनि डढेलो नियन्त्रण गर्ने भरपर्दो औजार छैन् । जसका कारण डढेलो नियन्त्रण गर्न समस्या हुने उपभोक्ता बताउँछन् । ‘स्याउलाको भरमा छौँ, स्याउलाले डढेलो नियन्त्रण गर्न जोखिम हुन्छ, तालिमप्राप्त व्यक्ति छैनन्, सुरक्षाको उपायबिना डढेलो लागेको ठाउँमा जान गाह्रो हुन्छ’ कालिमाटी गाउँपालिकाका स्थानिय तुलसीराम वलीले भन्नुभयो ‘बर्षेनी डढेलो लाग्छ तर स्रोतसाधन नहुदा स्याउला लिएर उपभोक्ता आफै कस्सिनुको विकल्प छैन् ।’

जिल्लामा डढेलो लागेमा डिभिजन वन कार्यालयसँग उपलब्ध भएका हाते सामग्रीको मात्र प्रयोग भइरहेको छ । डढेलो नियन्त्रणका लागि स्थानिय तह वा प्रदेश कसैले पनि पर्याप्त बजेट छुट्याएका छैनन् । डिभिजन वन कार्यालय सल्यानका प्रमुख जीतेन्द्र महतले भौगोलिक विकटताका कारण जिल्लामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भैरहेको बताउनुभयो । ‘जिल्लाका ठाउँ–ठाउँमा डढेलो लागेको छ, सल्लाको वनमा लागेको डढेलो नियन्त्रण गर्न आफैमा चुनौती हुन्छ, झन् भिरालो जमिन, हावा चल्ने भएकाले समस्या हुन्छ’ उहाँले भन्नुभयो ।

महतका अनुसार उपभोक्ता, वन कर्मचारी, सुरक्षा निकायको सहयोगमा जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने काम भैरहेको छ ।

जानाजान मानिसले लगाउँछन् डढेलो

जिल्लामा भएका बन डढेका घटना हेर्दा मानिसले नै डढेलो जानजान लगाउने गरेको पाइएको छ । ‘नयाँ पालुवा पलाउँछ भनेर जंगलमा मानिसले जानजान आगो लगाउने गरेको देखिन्छ, कतिपय अवस्थामा भने घरछेउकै खरबारी, बारीको छेउकुनामा लगाएको आगो नियन्त्रण बाहिर गएर जंगल सखाप पारेको देखिन्छ’ प्रमुख महतले भन्नुभयो ‘कतिपय लापर्वाहीका कारण पनि डढेलो लाग्ने गरेको छ ।’ उहाँका अनुसार चुरोटको ठुटा जथाभावि फाल्दा पनि डढेलो लाग्ने गरेको छ । यो वर्ष भने पानी पनि कम परेका कारण बढी डढेलो लागेको उहाँको निष्कर्ष छ ।

‘जलवायु परिवर्तनको असर पनि हो, यो वर्षको हिउँदमा पानी परेको छैन, तापक्रम बढेको छ’ उहाँले भन्नुभयो ‘वनमा लागेको डढेलो नियन्त्रण गर्न हम्मेहम्मे पर्ने गरेको छ, दिउँसोको समयमा त ज्यानै जोगाउन मुश्किल पर्छ ।’ जेठपछि डढेलोको घटना कम हुनसक्ने अनुमान छ । ‘तत्काल पानी प¥यो भने केही कमी हुन्छ, अब मनसुन सुरु हुने समयमा मात्र नियन्त्रणमा आउँछ, जेठको तेस्रो साता सम्मै डढेलोको जोखिम रहन्छ’ उहाँले थप्नुभयो ।

वन ऐन २०७६ मा वनमा आगो लगाउन नपाइने व्यवस्था छ । ऐनको दफा ४९ मा वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । उक्त ऐनको दफा ५० को ४ मा तीन वर्षसम्मको कैद र ६० हजार जरिवाना वा दुवै हुनेसक्ने व्यवस्था गरिएको छ । हाल वनमा आगो लगाउनेलाई पक्राउ गरेर कारवाही गरेका घटना जिल्लामा छैनन् ।

 

प्रतिक्रिया दिनुहोस