सल्यान, ३० जेठ ।
सल्यानको कालिमाटी गाउँपालिका स्थित ५ नम्बर वडालाई कर्णालीकै पहिलो पोषणमैत्री वडाको रुपमा घोषणा गरिने भएको छ । पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० बमोजिम तोकिएका सबै सूचकहरु पुरा भएपछि विहिबार एक कार्यक्रमका विच पोषणमैत्री वडाको रुपमा घोषणा गर्न लागिएको कालिमाटी गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ५ स्थित बालुवामा एक औपचारिक कार्यक्रम गरेर पोषणमैत्री वडा घोषणा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो । संघीय सरकारले बनाएको नयाँ कार्यविधि अनुसार कर्णालीकै पहिलो पोषणमैत्री वडाको रुपमा कालिमाटी ५ घोषणा हुन लागेको गाउँपालिकाको दाबी छ ।
विभिन्न पोषणयुक्त खाना, सुत्केरी महिलाको स्याहार सुहार, हजार दिनका आमा र वच्चाको हेरचाहका साथै सरसफाईका विविध गतिविधी नियमित सञ्चालन भइरहेको वडामा करिव दुई वर्ष अगाडि थालिएको अभियानबाट पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विभिन्न सुचांक पुरा भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख बहादुर थापाले जानकारी दिनुभयो ।
पोषणमैत्री वडा घोषणाका लागि सल्यान जिल्ला स्तरीय अनुगमन तथा सिफारिस समितिले स्थलगत अनुगमन संगै पालिकाका विभिन्न प्रतिवेदनहरु अध्ययन गरेर केही दिन अघि घोषणाका लागि सिफारिस गरेको थियो ।पोषणमैत्री वडा घोषणा कार्यक्रममा स्थानीय र मौलिक कला संस्कृती, रितिरिवाज झल्कने प्रस्तुतीहरु सहित उपस्थित हुन ५ नम्बर वडा कार्यालयले स्थानीयहरुमा अनुरोध गरेको छ ।