सल्यान, १० पुस ।
सल्यानको त्रिबेणी गाउँपालिकाको १६ औँ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको मुकाम लुहाममा सम्पन्न अधिवेशनले २१ वटा आयोजना तथा कार्यक्रम संशोधन गरेको हो । वजेटको सिमा, स्थानियको माग र आवश्यकता तथा कार्यान्वयनको अवस्थालाई हेरेर गाउँसभाले आयोजना तथा कार्यक्रमको शिर्षक परिवर्तन, स्थान परिवर्तन र वजेट परिवर्तन गरेको जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले चालु आर्थिक बर्षमा तय गरिएका ११ वटा पुराना योजनामा एक करोड ३३ लाख रुपैँया वजेट थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले यस बर्षको मंसिर मसान्त सम्ममा विभिन्न आयोजना तथा कार्यक्रम सम्पन्न भएपछि कुल वजेटको २० प्रतिशत भुक्तानी गरिसकेको छ । पालिकाले ४० करोड ३७ लाख ५८ हजार ९४७ रुपैँया बार्षिक वजेट विनियोजन गरेको थियो ।
‘अहिलेसम्म आयोजना सम्पन्न भएर पनि २० प्रतिशत भुक्तानी भैसकेको छ, धेरै आयोजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन्, यो पटक वडामै पुगेर आयोजना सम्झौता गर्ने र बैँक खाता खोल्ने कार्य गरिएकाले छ, यसले नागरिकलाई सहज भएको छ’ प्रमुख प्रशासकीय अधिकृत केसीले भन्नुभयो ‘आयोजना सम्पन्न भएपछि भुक्तानीको लागि असार पर्खनु पर्दैन्, हामीले बैशाखजेठमै सबै योजना सक्ने योजना वनाएका छौँ ।’
चालु आर्थिक बर्षको वजेट कार्यान्वयनमा आएदेखी शिक्षा, स्वास्थ्य, कृषि, पशु, पुर्वाधार विकास लगाएतका क्षेत्रमा थुप्रै काम गरिएको गाउँपालिकाले जनाएको छ । जसअन्र्तगत यसअवधिमा पालिकाभरका स्वास्थ्य संस्थामा ११ हजार ३१० जना नयाँ विरामीको उपचार गरिएको छ भने ५ हजार ८८६ जनामा विसिजि र ९० जनामा डिपिटि खोप लगाइएको छ । यस्तै ग्रामिण अल्ट्रासाण्ड कार्यक्रम सँगै कान शिविर सञ्चालन गरिएको छ । यस्तै किसानलाई दुई हजार ३०० किलो गहुँको वीउ वितरण गरिनुका साथै र २९ क्विन्टल आलुको वीउ ढुवानीमा सहयोग गरिएको छ ।
यस्तै दुई हजार १९३ जना कृषकका ७४ वटा गाईगोरु, १०२ वटा भैँसी, ८ हजार ४३० वटा बाख्रा, २२ वटा कुकुर र ३० वटा बंगुरको उपचार तथा औषधि वितरण गरिएको छ । यसअवधिमा पशुपन्छीको बिमा प्रिमियम कार्यक्रम अन्र्तगत ७४ वटा भैँसी र ११ वटा बाख्राको बिमा गरिएको छ भने ३३ वटा भैँसी र २ वटा बाख्रामा कृतिम गर्भाधान सेवा उपलब्ध गराइएको छ ।
१५ जना महिलाको लागि एक महिने एडभान्स कटाइसिलाई तालिम सञ्चालन गरिएको छ भने पन्चेबाजा खरिद र सिपमुलक तालिम सञ्चालनको क्रममा रहेको छ । यस्तै त्रिबेणी स्वास्थ्य चौकीमा एमविविएस डाक्टर तथा ल्याव सेवा सहितको विशेषज्ञ सेवा प्रदान गरिएको छ । सुत्केरी जाँच घरभेट कार्यक्रम, कृषकको उत्पादन गाउँपालिकाको अनुदान, भवन निर्माण आचारसंहिताको पूर्ण पालना गरेर भवन निर्माण गर्नका लागि घरनक्सा पास प्रक्रिया अगाडी बढाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभामा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले गाउँपालिकाभित्रका सबै नागरिकलाई स्थानीय सरकार भएको अनुभूति गराउने गरि काम गरिरहेको बताउनुभएको छ । ‘त्रिबेणी थुप्रै सम्भावना बोकेको पालिका हो, यसपटकको अधिवेशनमा दर्जन बढी योजना संशोधन गरिएको छ, हामीले नागरिकलाई स्थानीय सरकार भएको अनुभुती गराउने गरि पुर्वाधार निर्माण देखि शिक्षा, स्वास्थ्य संगै सरसफाईमा समेत काम गर्दै छौँ’ उहाँले भन्नुभयो । उहाँले असारे विकास गर्ने परिपाटीलाई अन्त्य गर्ने गरि काम गरिरहेको बताउनुभएको छ ।