सल्यान, १० बैशाख ।
सल्यानको त्रिबेणी गाउँपालिकाले दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलको सम्भावना कायमै राखेको छ । तीन खेल खेलेको त्रिबेणीले १ खेलमा हार र २ खेलमा जीत दर्ता गर्दै सेमिफाइनलको सम्भावना कायमै राखेको हो । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा जारी अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको बुधबार बिहान सम्पन्न आठौँ खेलमा बन्गाड कुपिण्डे नगरपालिकालाई ९५ रनले हराउदैँ त्रिबेणी गाउँपालिका विजयी भएको हो ।
लुहापिङ खेलमैदानमा बन्गाड कुपिण्डेले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको त्रिबेणीले २ अर्धसतकको मद्धतमा २०५ रन बनायो । २० ओभरमा त्रिबेणीले ५ विकेट गुमाउदैँ २०५ रन जोडेको थियो । त्रिबेणीका लागि मोहन केसीले ३१ बलमा ६८ रन जोड्नुभयो । यस्तै बिशाल केसी ५३ बलमा ५२ रन बनाइ नट आउट रहदा सुरज केसीले २५ बलमा ४५ रन बनाउनुभयो । बन्गाड कुपिण्डेका भरत बिसीले ३ ओभरमा २९ रन खर्चिदैँ २ विकेट लिनुभयो । यस्तै केशव खड्काले २ तथा रमित पुनले १ विकेट लिनुभयो ।
२०६ रनको बिशाल लक्ष्य सहित ब्याटिङमा उत्रेको बन्गाड कुपिण्डे १९ ओभर १ बलमा ११० रन जोड्दै अल आउट भयो । बन्गाडका लागि लोकराज बिसीले २९ बलमा २२ रन बनाएपनि अरु ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् । गोरख पुनले १७ तथा भरत बिसीले १३ रन जोड्नुभयो । बन्गाडलाई सस्तैमा समेट्ने क्रममा त्रिबेणीका बिमल कुमार पुनले ४ ओभरमा १ मेडन राखि २२ रन दिदैँ ३ विकेट लिनुभयो । यस्तै सोमराज केसीले ३, सुन्दर रेउलेले २ तथा जोखिराम केसी र सुवास रेउलेले समान १/१ विकेट लिनुभयो ।
३ खेल खेल्दा २ खेल जितेर त्रिबेणीले सेमिफाइनको सम्भावना जारी राख्दा बन्गाड कुपिण्डे भने २ खेल खेलेर जीत विहिन छ । यस खेलमा त्रिबेणीका मोहन केसी प्लेयर अफ द म्याच घोषित हुनुभयो ।