सल्यान, १५ असार ।
सल्यानको बागचौर नगरपालिकामा सञ्चालन गरिएको खानेपानीको मर्मतसम्भारको काममा चरम लापरवाही भएको पाइएको छ । बागचौर नगरपालिका–२ बागचौर बजारका नागरिकले उपभोग गर्दै आएको लाटीगार–बागचौर खानेपानीको काम गुणस्तरहीन भएको उजागर भएकाृ हो । चिसीखोला मुहानबाट बागचौर आउने पानीको पाइप वनआगलागीका कारण जलेर क्षति भएको थियो । त्यसपश्चात नगरपालिकाले कोटेशनमा खानेपानी मर्मतसम्भारको काम अघि बढाएको हो ।
यही असारमा सक्ने गरि लस्तम सप्लायर्स एण्ड कम्पनीले रु. ५ लाखको लागतमा जीआई पाइप जडान गर्न कोटेशनमा ठेक्का लिएको थियो । खानेपानी मर्मतको काम अन्तिम चरणमा पुगेको गुणस्तरीयतामाथि गम्भीर प्रश्न उठेका छन् । शुक्रवार बागचौर नगरपालिकाका उपप्रमुख सुम्निमा डिसी (वली) को नेतृत्वमा प्राविधिकको टोलीले अनुगमण गरेको थियो । अनुगमणका क्रममा खानेपानीको जिआई पाइप अडाउनका लागि निर्माण गरेको सिमेन्टेड पिलर गुणस्तरहीन भएको र हातले धकेल्दा भत्किएको उपप्रमुख डिसीले जानकारी दिनुभयो ।
‘केहीदिन पहिले मलाम गएको बेला गुणस्तरहीन काम भएको स्थानीयबाट गुणासो आएपछि राम्रो काम गर्न चेतावनी दिए, कोटेशनमा काम भएको रहिछ, यस्तो कामले पछि भुक्तानी पाईदैन् भनेर फर्किए, शुक्रवार पालिकाका योजना अनुगमण गर्न गए, पुल, पोखरी, स्वास्थ्यमा निर्माण गरिएका संरचनाको अनुगमण गरे, त्यहाँबाट फर्किदा कस्तो काम भएको रहिछ भनेर हेर्दा खानेपानीका सिमेन्टेड पिलर गुणस्तरहीन रहिछन्’ उहाँले भन्नुभयो ‘हातले धकेलेको पिलर नै ढले ।’
प्राविधिकले स्टामेट बनाएपनि स्टामेट बिना काम गरिएको उहाँको भनाइ छ । ‘कोटेशनबाट काम राम्रो भएन्, प्राविधिकले स्टामेट बनाए, काम गर्दा जानकारी दिनु भन्दा पनि निर्माण पक्षले जानकारी दिएन, पिलरमासरिया थिएन, सिमेन्टको मात्रा न्यून थियो, स्थानीय खोलाकै माटोसँगको बालुवा निकालेर पिलर बनाइयो, जसका कारण गुणस्तरहीन भयो’ उहाँले भन्नुभयो ‘गलत कार्यको खबरदारी गरिएको हो, यस्तो कामले भुक्तानी पाउँदैन भनेर चेतावनी स्वरूप पिलर भत्काएकी हुँ ।’
डेढ दशक अघि निर्माण गरिएको यस खानेपानीबाट बागचौरका करिब एक सय घरधुरी लाभान्वित छन् । हाल बागचौरका लागि कोटमौला र जंगारखोलाबाट थप दुई वटा योजना सञ्चालन भएपछि पुरानो र भरपर्दो योजना नै लाटिगार खानेपानी योजना हो । तर स्थानीय उपभोक्ता र खानेपानी निर्माण समितिले कोटेशनमा मर्मतसम्भारको काम अघि बढाईएको बारेमा आफुलाई जानकारी नभएको बताउँछन् । आफुहरुलाई नै जानकारी नदिएर एक्कासी आफुनिकटकालाई कोटेशन बाँड्दा अहिले समस्या आएको उनीहरु बताउँछन् ।
खानेपानी मर्मतसम्भार कामको जिम्मा लिएका लस्तम सप्लायर्स एण्ड कम्पनीका सञ्चालक दिल बहादुर डाँगीले आफुले जानाजान गुणस्तरहीन काम नगरेको बताउनुभयो । ‘त्यो कामको जिम्मा मैले नै लिएको हुँ, वजेट जम्मा पाँच लाख मात्रै हो, त्यही रकमबाट चार सय मिटर फलामे जिआई पाइप खरिद गरेर जडान गरिसकेको छु, पाइप अड्याउन करिब ३० वटा पिलर हुन, सबैको काम गुणस्तरीय नै छ, मैले नै काम गर्ने कामदारलाई गुणस्तरीय काम गर्न निर्देशन दिएको थिए, तर अन्तिमका केही पिलर कमजोर भए छन्, उपमेयर सहितको टोलीले अनुगमण गर्दा भत्काइ दिएको छ’ उहाँले भन्नुभयो ।
बनाएका पिलर नगरपालिकाले नै भत्काइ दिएकाले अव फेरी बनाउने वा जे भन्छ त्यही अनुसार आफु अघि बढ्ने उहाँको भनाइ छ । ‘पिलरमा सरिया राखेको छ, सिमेन्टको राम्रो प्रयोग छ, अरु सबै पिलर राम्रा छन्, अहिले पनि अनुगमण गर्दा हुन्छ, तर कामदारलाई निर्देशन दिदादिदैँ पनि अन्तिमतिरका पिलर कमजोर रहिछन्, मैले पनि उपमेयर ज्युले पिलर भत्काएको भिडियो हेरे, मैले कामदारकै विश्वास गरे, काम कमजोर गर्दा, समस्या मैले पाए’ उहाँले थप्नुभयो ।
नगरपालिका प्रशासन अनविज्ञ
यता बागचौर नगरपालिका प्रशासनले भने अनविज्ञ देखिएको छ । नगरपालिका उपप्रमुख डिसीले राखेको भिडियो सामाजिक सञ्जालमा चर्चामा आउँदा पनि नगरपालिका प्रशासनले कुनै औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतले सामाजिक सञ्जालमा आएको भिडियो आफुले हेरेको भएपनि यस बारेमा थप केही बुझ्न नपाएको बताउनुभयो ।
‘मैले भिडियो हेरेको थिए, असारमा कामको चाप परेकाले कति रुपैँयाको योजना हो, कसले काम गरिरहेको छ भन्ने बारेमा केही बुझ्न पाएको छैन्, अव कार्यालय खुलेपछि थाहा हुन्छ’ उहाँले थप्नुभयो ‘यस बारेमा उपप्रमुख ज्यु र प्राविधिक दुवै टोलीसँग बुझ्न पाएको छैन् ।’
भिडियो हेर्नुहोस्