क्यामेराको क्यानभासमा राउटे जाती [ फोटो फिचर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान २, असोज ।
केहि समय अगाडि सल्यानको कालिमाटी गाउँपालिका वडा न. ५ काल्चेमा बसेका राउटे समुदाय बस्ती सारेर सुर्खेतको गुर्भाकोट नगरपालिका वडा.१ सिमसारमा पुगेका थिए । तर अहिले फेरि राउटे जाति सल्यानमै फर्कीएका छन् । उनीहरू केहीदिन अगाडि सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न. ११ स्थित भेरी नदी किनारमा बसाइँ सरेका थिए । तर नगरपालिकाले भेरि नदिको किनारमा राउटेहरुको असुरक्षाको महशुस गरेपछि बालुवासङ्ग्रही नजिकै बाट सोही नगरपालिकाको वडा न.१ घाटगाउँमा सारेको हो ।


कोलाहल समुदाय भन्दा अलिक पर जंगलको छेउमा पुग्दा । बालबालिकाहरु आफ्नै सुरमा रमाइरहेका थिए । युवा तन्नेरीहरु जंगलमा बादरको सिकार खेल्न गएका थिए । महिलाहरु छाप्रो बनाउने, पोत्ने, कपडा धुने, नुहाउने र पानी भर्ने काममा व्यस्त थिए । केही राउटे नजिकैको गाउँ र बजारहरुमा अन्न र पैसा माग्दै हिडिरहेका पनि देखिन्थे ।


को हुन राउटे समुदाय :
राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् । जिल्ला प्रशासन कार्यालय सल्यानको तथ्यांक अनुसार राउटेहरू राजकोटीशाही, हमालशाही, कल्याल शाही तीनओटा जात र वंशमा विभाजित छन् । सल्यान, सुर्खेत, दैलेख, जाजरकोट तथा आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् । काठका कोषी मदुस बनाई गाँउमा गएर अन्नपातसँग साट्ने राउटे समुदाय दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजिकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या जस्तै भएको छ । सर्ट, पेन्ट लगाएका मानिस भेट भए शिकार पर्दैन भन्ने यिनीहरूले विश्वास गर्दछन् ।


शिकार नपर्नुलाई ईश्वर रिसाएको हो भन्नेपनि ठान्छन् । राउटेहरु बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा सोही ठाउँमा मृत्यु भएको मानिसलाई गाडेर माथिबाट बादर मार्ने जालले छोपरे त्यस ठाउँलाई छाड्नुपर्ने राउटेहरुको चलन हुन्छ । राउटे बास सरेपछि अर्को ठाउँको अध्ययन गरी उपयुक्त ठाउँको छनोट भने कहिले गर्दैनन् । हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई आफ्नो उपयुक्त बासस्थान ठान्छन् । रात प¥यो भने भगवानले यहीं बस भनेको छ जस्तो लागेर सोही ठाउँमा बाँस बस्छन् । यसका साथै लामो समयसम्म कसैको मृत्यु नभए पनि त्यस ठाउँमा अन्य मानिसको चहलपहल धेरै बढ्यो र असुरक्षा महसुस भयो भने पनि उनीहरू बास सर्छन् ।

साच्चिकै राउटेहरुको जीवन शैली सरल छ । समय परिवर्तन सँगै उनिहरुको जीवन शैलीमा परिवर्तन पनि उत्तिकै आएको छ । यो समुदायमा अहिलेको नौलो कुरा त के छ भने पैसा बिना क्यामेराको अगाडि वा अन्य मानिसका अगाडि राउटे समुदाय बोल्न हिचकिचाउछन् । कोही नयाँ मान्छे राउटे समुदायमा पुगेर उनिहरुसँग नजिकिएर फोटो खिच्छु भनेर प्रश्न गर्दा ? बच्चा देखि बुढापाका सम्मको उत्तर एउटै हुन्छ । “फोटो खिचेको पैसा लाग्छ । अहिले राउटेहरु विभिन्न मानिसहरुसँग पैसा माग्ने, आफ्ना आवस्यकता पूरा गर्ने र थोरै भएपनि आफ्नो जिविका चलाउने बानि परिसकेका छन् ।


लोपोन्मुख राउटे समुदायमा चार बर्ष अगाडि २०७५ सालको जनसंख्यालाई हेर्ने हो भने कुल १६५ जना रहेका थिए । यस्तै २०७६ सालमा १५५ जना, २०७७ सालमा १६९ जना थिए भने अहिले कुल १४१ जना मात्रामा सिमित रहेका छन् । विभिन्न समयमा सरकारी तथा गैरसरकारी संस्था र अन्य निकायबाट उपचार पाइरहेता पनि अत्यधिक मदिरा सेवनका कारण पनि राउटेहरुको मृत्यु भई अहिले राउटेहरुको संख्या घट्दै गएको हो । अहिले चिसोबाट हुने संक्रमणले गर्दा राउटे समुदायमा सबैभन्दा जोखिममा साना केटाकेटीहरु र वृद्धहरु नै रहेका छन् ।

राउटे बस्तीमा अहिलेको सुन्दर पक्ष के छ भने उनीहरूमा चेतनाको स्थत राम्रो हुदै गएको छ । राउटे समुदायका मानिसहरु सरसफाइका कुरामा ध्यान दिन थालेका छन् । सरकारी पक्षबाट र अन्य ठाउँबाट थप केही सहयोग आउछ कि भन्ने पर्खाइमा उनिहरु बसिरहेछन्। उनिहरुको जीवन र उनीहरूको दुनियाँ आम मानिस भन्दा धेरै फरक छ । र त उनीहरु आफ्नै संसारमा रमाइरहेछन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस