
सल्यान, २१ साउन ।
एक समय सल्यानका गाउँबस्तीमा मकैबालीका लागि बाँदर र दुम्सी मात्रै मुख्य चुनौती मानिन्थ्यो । पहिले किसानले टिन बजाएर, कुकुर लगाएर, ढुंगा हानेर र कराउँदै बाँदर धपाउँथे । पाँच–सात वर्षअघिसम्म बँदेलको उपद्रो विरलै देखिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । जंगलबाट हुलका हुल निस्किने बँदेलले एकै रातमा पूरै मकैबारी सखाप पार्न थालेपछि किसानका लागि सबैभन्दा ठूलो चुनौती नै बँदेल बनेको छ । दिनभरि बाँदर धपाउनुपर्ने र रातभरि बँदेलको पहरा बस्नुपर्ने बाध्यताले सल्यानका किसानको निद्रा हराएको छ ।
सल्यानका डाँडाकाँडा यतिबेला मकैका हरिया बोटले ढपक्क ढाकिएका छन् । कतै घोगा लाग्ने र कतै दाना भर्ने चरणमा पुगेका मकैबालीमा जंगली जनावरको आक्रमण बढेपछि किसान निराश छन् । वर्षभरिको मेहनत, लगानी र आशा बोकेको मकैबाली रातारात नष्ट हुन थालेपछि किसानको चिन्ता बढ्दै गएको छ । कतिपय किसान बारीमै टहरा बनाएर रातभर पहरा बस्छन् । तर बँदेलको हुलले उनीहरूको पहरा पनि छक्याउँदै बाली सखाप पार्ने गरेको छ । जिल्लाको शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, दार्मा गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, कालीमाटी गाउँपालिकालगायत जिल्लाका सबै १० स्थानीय तहका जंगल आसपासका बस्तीमा बँदेलले मकैबालीमा व्यापक क्षति पु¥याइरहेको छ । किसानका अनुसार पछिल्ला केही वर्षयता बँदेलको संख्या अस्वाभाविक रूपमा बढेको छ । पहिले दुम्सी र बाँदरको समस्या बढी भए पनि अहिले बँदेलकै आतंकले खेतीपाती नै संकटमा परेको उनीहरूको भनाइ छ ।
बँदेलले रानीकोट, ओख्रेनी, निगालचुला, गिठेखोला, सेतामारे, पोखरा, नयाँगाउँ, घुइयाबारी, मैनेनी, डौरीखोला, जलेखर्क, लक्ष्मीपुरलगायतका क्षेत्र बढी प्रभावित भएका छन् । दार्मा गाउँपालिका–३ का किसान भोपाल चन्दले जंगली बँदेलका कारण मकै जोगाउन नसकिएको बताउनुभयो ।
‘दिनभरि बाँदर र रातभरि बँदेल धपाउँदाधपाउँदै किसानको दैनिकी नै पहरामा बित्न थालेको छ’– उहाँले भन्नुभयो–‘चौबिसै घण्टा पहरेदारी गर्दा पनि कताबाट आउँछ अनि सोत्तर बनाएर जान्छ थाहा नै हुन्न ।’ केही दिनयता बँदेलको हुलले करिब ४०–५० रोपनी मकैबाली फेदबाटै भाँचेर नष्ट गरिदिएको उहाँको भनाइ छ । उहाँका अनुसार सरकारले क्षति पु¥याउने जंगली जनावर नियन्त्रणसम्बन्धी व्यवस्था गरे पनि व्यवहारमा किसान असुरक्षित छन् ।
‘आक्रमण गर्ने डरले कसैले केही गर्न सक्दैन, पालिकाबाट पनि नियन्त्रणका प्रभावकारी कार्यक्रम आएका छैनन्’– उहाँले भन्नुभयो । दार्माकै मंगलु खड्काले आफ्नो पाँच रोपनी र छिमेकीको त्यत्तिकै क्षेत्रफलमा लगाइएको मकै नष्ट भएको बताउनुभयो ।
त्रिवेणी गाउँपालिका–५ डाँडासल्लेका किसान रमेश गिरीका अनुसार मकैमा घोगा लाग्ने बेलामै बँदेलले बाली सखाप पार्छ । ‘बाँदरको हुल बारीमा पस्यो भने छिनभरमा मकै सखाप पार्छ, दिनभरी जोगायो रातभर बँदेलको डर छ, यो ठूलो समस्या देखिएको छ, मानिसको नियन्त्रण भन्दा बाहिर जान थालेको छ, अन्नबालीसँगै मानिसमाथि नै आक्रमणको सम्भावना छ, सरकारले छिटै उपायहरु खोज्नुपर्छ’– उहाँले भन्नुभयो– ‘दिनभरिको होइन, वर्षभरिको मेहनत एकै रातमा सकिन्छ ।’ कपुरकोट गाउँपालिका–३ का किसान चन्द्रबहादुर वलीले बँदेल र बाँदरको हैरानीका कारण खेती नै छाड्ने अवस्था आएको बताउनुभयो । ‘बारी बाँझो नरहोस् भनेर मकै लगाएका हौं, तर बँदेलले सखाप पार्छ भन्ने थाहा भएकाले धेरैले गोडमेलसमेत गरेका छैनन’– उहाँले भन्नुभयो । जंगली जनावरले मकै बालीमा क्षति गरेको बारेमा स्थानीय तहका जनप्रतिनिधि जानकार छन् । तर नियन्त्रणको कदम भने अघि बढेको छैन ।
कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालका अनुसार घुइयाबारी, बाटुले, आम्बास, ज्यामिरे, हाउखोला र ¥याङ क्षेत्रमा मात्रै ५० रोपनीभन्दा बढी मकैबालीमा क्षति पुगेको छ । दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले जंगली जनावरको उपद्रोका कारण किसान विस्थापित हुने अवस्था सिर्जना भएको बताउनुभयो । ‘अब तत्काल कानुनी र नीतिगत व्यवस्था गरेर स्थायी समाधान खोज्नुपर्छ, किसान खेती नै छाड्ने अवस्थामा पुगेका छन्’– उहाँले भन्नुभयो ।
किसानका अनुसार हरेक वर्ष समस्या दोहोरिए पनि बँदेल नियन्त्रण, विद्युतीय बार, सामूहिक सुरक्षा वा वैकल्पिक खेतीका प्रभावकारी कार्यक्रम सञ्चालन हुन सकेका छैनन् । लगातारको क्षतिपछि धेरै किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् । बँदेल वा बाँदरले मकैबालीमा क्षति पु¥याए, किसानले क्षतिको आधारमा राहत पाउँछन् । तर क्षति बेहोरेका सबै किसान राहतको पहुँचमा पुग्दैनन् । ढिलो, झन्झटिलो र लामो प्रक्रियाका कारण राहत पाउन मुश्किल भएको किसान बताउँछन् । डिभिजन वन कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै १२९ जना किसानलाई जंगली जनावरबाट बालीनालीमा क्षति भएकोमा राहत वितरण गरिएको छ । जसमा कपुरकोटका ७९ जना किसानलाई ७ लाख ५ हजार ९६० रुपैयाँ, शारदाका ४० जनालाई ३ लाख ४१ हजार र त्रिवेणीका १० जनालाई १ लाख रुपैयाँ राहत वितरण गरिएको छ । अन्य ४८ जनाको राहत रकम आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर करिब १८ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । जसबाट ७६ हजार मेट्रिकटन बढी मकै उत्पादन हुन्छ । तर वन्यजन्तुकै कारण जिल्लामा वर्षेनी मकै खेती हुने क्षेत्रफल घट्दै गएको अनुमान छ । जिल्लाका किसान अहिले खेतीभन्दा बढी बाली जोगाउने चिन्तामा छन् । दिउँसो बाँदर र राति बँदेल धपाउँदै बित्ने किसानको दैनिकीले सल्यानमा मानव–वन्यजन्तु द्वन्द्व भयावह बन्दै गएको देखाउँछ । समयमै प्रभावकारी नियन्त्रण र दीर्घकालीन समाधान खोज्न नसके मकैखेती मात्रै होइन, किसानको खेतीप्रतिको भरोसा पनि विस्तारै हराउने खतरा बढ्दै गएको छ ।