पर्यटकको पर्खाइमा तीनछहरी झरना !

यही वडामा पर्ने युद्ध पर्यटन स्थल बुराँसे, जिल्लाकै अग्लो जथाक लेक, चमेरे गुफा तथा यहाँ उत्पादन हुने सुन्तला, टिमुर, किवी, आलु लगायतका कृषिजन्य उत्पादनलाई समेत जोडेर एकीकृत रूपमा पर्यटन प्रवद्र्धन गर्न सके यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ । प्राकृतिक सौन्दर्य, युद्ध इतिहास र स्थानीय उत्पादनलाई एउटै पर्यटन प्याकेजमा जोड्न सके पर्यटकको बसाइ लम्ब्याउनुका साथै स्थानीयको आयआर्जनसमेत बढाउन सकिने उनीहरूको भनाइ छ ।

सल्यान, ८ भदौ ।

पहाडको काखबाट एकपछि अर्को गर्दै झर्ने पानीका तीन धार । तलबाट हेर्दा आकाशबाटै पानीको सेतो पर्दा खसेजस्तो । वरिपरि हरियाली, चट्टान र शान्त वातावरण । केहीबेर झरनाको छेउमा उभिँदा प्रकृतिले आफैँ बनाएको सुन्दर दृश्यमा हराउन सकिन्छ । तर यही सौन्दर्य बोकेको तीनछहरी झरना अहिले पर्यटकको पर्खाइमा छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–२ दहचौरमा रहेको यो झरना प्राकृतिक रूपमा निकै आकर्षक भए पनि पर्याप्त प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।

झन्डै २ सय मिटर उचाइबाट खस्ने झरनाले जोकोहीलाई लोभ्याउन सक्ने सम्भावना बोकेको छ । तर त्यसअनुसार पर्यटकको चहलपहल भने देखिँदैन । स्थानीयका अनुसार आसपासका गाउँबाट मानिसहरू झरना हेर्न पुग्ने गरे पनि जिल्ला बाहिरबाट आउने पर्यटकको संख्या न्यून छ । स्थानीय राजबाबु भण्डारीका अनुसार झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना छ । तर संरक्षण र पूर्वाधार विकासका लागि आवश्यक बजेट नहुँदा काम अघि बढाउन कठिन भइरहेको छ ।

‘आसपासका गाउँका मान्छेहरू आएपनि जिल्ला बाहिरका पर्यटकलाई आकर्षित गर्न सकिएको छैन’ उहाँले भन्नुभयो ‘संरक्षणका लागि बजेट नहुँदा पूर्वाधार विकासका कुनै पनि काम गर्न सकिएको छैन ।’ उहाँका अनुसार झरनाको चारैतिर तारबार गर्ने, मन्दिर बनाउने, सुरक्षित रूपमा झरनासम्म पुग्ने सिढी बनाउने र प्रचारप्रसारलाई तीव्रता दिने हो भने आसपासका जिल्लाबाट समेत पर्यटक भित्र्याउन सकिन्छ । स्थानीय सरकारको पटक–पटक ध्यानाकर्षण गराए पनि बजेट र योजना नआएको स्थानीयको गुनासो छ ।

तीन वटा छहराबाट पानी खस्ने भएकाले यसको नाम तीनछहरी झरना रहन गएको हो । वर्षायाममा पानीको बहाव बढेसँगै झरनाको रूप झनै मनमोहक हुन्छ । चट्टानमा ठोक्किँदै तल झर्ने पानीको आवाज र वरिपरिको हरियालीले यहाँ पुग्ने जोकोहीलाई केही समय प्रकृतिमै भुलाइदिन्छ । तर झरनाको सुन्दरता हेर्न पुग्ने बाटोमै चुनौती छ । झरनाको माथिल्लो भाग हुँदै दहखोलाबाट दमाचौर जोड्ने सडक निर्माण भएपछि झरना आसपास पूर्वाधार विकासका काम गर्न थप कठिनाइ भएको स्थानीयको भनाइ छ ।

तीनछहरी झरनाको अर्को चुनौती भने पानीको स्रोतसँग जोडिएको छ । विगतमा खडेरीको समयमा समेत झरनामा पर्याप्त पानी हुने गरेको स्थानीयको अनुभव छ । तर अहिले झरनाको मुहानबाट गाउँलेले खानेपानी र सिँचाइका लागि पाइपमार्फत पानी लैजान थालेपछि झरनाको बहाव प्रभावित भएको छ ।

छत्रेश्वरी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेमबहादुर नेपालीका अनुसार वर्षायाममा झरनाले आफ्नो वास्तविक सौन्दर्य देखाए पनि बैशाख–जेठतिर पानीको बहाव निकै घट्छ । ‘बैशाख–जेठको समयमा पानी कम भए पनि वर्षायाममा झरना मनमोहक देखिन्छ’ उहाँले भन्नुभयो ‘झरनाको संरक्षण र पूर्वाधार विकासका लागि अहिलेसम्म खासै केही गर्न सकिएको छैन, स्थानीयले मन्दिर बनाउन पनि माग गरेका छन्, के गर्न सकिन्छ भनेर योजना बनाइरहेका छौँ ।’

उहाँका अनुसार झरनाको विकास र संरक्षणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ । अब त्यसलाई कार्यान्वयनमा लैजान सके झरनाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा छ । तीनछहरी झरना केवल पानी झर्ने ठाउँ मात्र होइन, स्थानीय पर्यटनको सम्भावना बोकेको प्राकृतिक सम्पदा हो । झरनासम्म पुग्ने बाटो व्यवस्थित गर्ने, सुरक्षित अवलोकनस्थल निर्माण गर्ने, तारबार तथा आवश्यक संरचना बनाउने र प्रचारप्रसार गर्ने हो भने यसलाई जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ । झरनाको संरक्षणलाई पर्यटकीय पूर्वाधार निर्माणको विषयका रूपमा नभई स्थानीय रोजगारी र आयआर्जनसँग जोडेर हेर्नुपर्ने माग छ ।

यही वडामा पर्ने युद्ध पर्यटन स्थल बुराँसे, जिल्लाकै अग्लो जथाक लेक, चमेरे गुफा तथा यहाँ उत्पादन हुने सुन्तला, टिमुर, किवी, आलु लगायतका कृषिजन्य उत्पादनलाई समेत जोडेर एकीकृत रूपमा पर्यटन प्रवद्र्धन गर्न सके यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ । प्राकृतिक सौन्दर्य, युद्ध इतिहास र स्थानीय उत्पादनलाई एउटै पर्यटन प्याकेजमा जोड्न सके पर्यटकको बसाइ लम्ब्याउनुका साथै स्थानीयको आयआर्जनसमेत बढाउन सकिने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस