सल्यानमा बेवारिसे अवस्थामा ६ नाल भरुवा बन्दुक बरामद

सल्यान, ४ साउन ।
सल्यान प्रहरीले जिल्लाका दुई स्थानबाट बेवारिसे अवस्थामा रहेका ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बनगाड कुपिण्डे नगरपालिका–१२ भदाले स्थित सामुदायिक वन र छत्रेश्वरी गाउँपालिका–१ जुगेखोला सामुदायिक वन क्षेत्रमा खोजतलास गरेको थियो । खोजतलासका क्रममा बनगाड कुपिण्डेस्थित सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको ४ नाल तथा छत्रेश्वरीको सामुदायिक वनबाट २ नाल गरी जम्मा ६ नाल भरुवा बन्दुक फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका बन्दुकहरू आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध हतियार नियन्त्रण अभियानलाई निरन्तरता दिँदै यस्ता गतिविधिबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस