
सल्यान, ९ भदौ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै सल्यानको श्रीनगरमा विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । मोडर्न तुलसी माध्यमिक विद्यालयको नवदृष्टि बाल क्लबको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले बालबालिकामाथि हुने हिंसा, बलात्कार तथा हत्याजस्ता जघन्य अपराधको अन्त्य गर्न माग गरेका हुन् ।
विद्यार्थीहरूले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर, पीडितलाई न्याय देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए । उनीहरूले तीन वर्षीया गरिमा चौधरीका लागि न्यायको माग गर्दै दोषीलाई कानुनअनुसार अधिकतम सजाय दिनुपर्ने बताएका छन् ।
बाल क्लबले बालबालिकामाथि हुने हिंसा र यौनजन्य अपराध रोक्न राज्यका निकाय, विद्यालय, परिवार र समुदाय सबै गम्भीर बन्नुपर्ने जनाएको छ । विद्यार्थीहरूले ‘अन्यायका अगाडि मौन बस्नु पनि अन्यायलाई साथ दिनु हो’ भन्ने सन्देशसहित बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न माग गरेका छन् ।