
सल्यान, १९ कार्तिक ।
स्क्रब टाइफस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले एकदिने स्वयंसेवक परिचालन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा दार्मा, छत्रेश्वरी र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाका रेडक्रस स्वयंसेवकहरूको सहभागिता रहेको थियो। जिल्ला अस्पताल सल्यानका चिकित्सक डा. बलराम केसीले रोगको संक्रमण, लक्षण, रोकथाम तथा उपचारका उपायबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै संक्रमणको जोखिम न्यूनीकरण गर्न सबैले सावधानी अपनाउनुपर्नेमा जोड दिनुभएको थियो। डा. केसीका अनुसार स्क्रब टाइफस संक्रमित माइटको लार्भा (चिगर) को टोकाइबाट सर्ने रोग हो। विशेषगरी खेतीपाती, पशुपालन तथा घाँसदाउराका लागि वनजङ्गल र झाडीमा जाने ग्रामीण क्षेत्रका बासिन्दा संक्रमणको जोखिममा रहने गरेका छन्। यसबाट बच्न शरीर पूरै ढाक्ने कपडा लगाउने, बुट तथा पन्जा प्रयोग गर्ने र घरवरिपरिका झाडी सफा राख्न उहाँले सुझाव दिनुभएको थियो।
लगातार ज्वरो आउने, टाउको दुख्ने तथा अन्य असामान्य लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउनसमेत उहाँले आग्रह गर्नुभएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठ, उपसभापति डिल्ली जैसी, कोषाध्यक्ष मनवीर बस्नेत र सदस्य कल्पना सेजवाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शाखाका मन्त्री इन्दुकुमार शर्माले गर्नुभएको थियो।
