सल्यान, १९ भदौ ।
धार्मिक र वातावरणीय महत्व बोकेका पाटी पौवा र चौतारी समयक्रमसँगै लोप हुन थालेका छन् । दशकयता सल्यानका ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै जिल्लाका मौलिक सम्पदा हराउँदै गएका छन् । मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इञ्जिनियर बनेर बिनासर्वे र योजना सडक खनिदा ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी–पौवा भत्काइएको छ भने चौतारी र पोखरी पुरिएपछि ग्रामीण सौन्दर्य नै हराएको छ ।
गाउँ–गाउँमा सडक विस्तारले नागरिकलाई सुविधा त भएको छ तर ऐतिहासिक महत्वका पाटी, पौवा र चौतारीको अस्तित्व संकटमा परेको छ । सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा संकटमा परेका हुन् । जिल्लाका ग्रामीण क्षेत्रका गोरेटा बाटाहरूमा पनि प्रशस्त देखिने यस्ता संरचना विकासको नाममा विनाश भएका छन् ।
गोरेटोलाई मोटरेबल बाटोमा परिणत गर्दा यस्ता संरचनाहरू विस्थापित हुन थालेको स्थानीय बताउँछन् । बटुवाहरू बास बस्ने, काम गरेर थाकेपछि थकाइ मेट्ने, काम तथा हिड्ने क्रममा हावाहुरी, असिना पानी आउँदा ओत लाग्न प्रयोग हुने पाटी पौवाहरु धेरै भत्किएका छन् भने केही जीर्ण अवस्थामा छन् । गाउँ–गाउँमा सडक विस्तार गर्ने नाममा पुर्खाले स्थापना गरेका यस्ता सांस्कृतिक सम्पदाहरू मासिनु गलत भएको एकथरीको बुझाइ छ ।
तर सडक सञ्जाल नजोडिएको र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि पाटी पौवा आवश्यक हुने गरे पनि अहिले बजारमा होटल र गाउँ–गाउँमा सडक पुगेकाले त्यस्ता संरचनाको महत्व घटेको केहीको तर्क छ । वनगाडका पूर्ण बुढाले यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र चौतारी पछिल्लो समय सडक विस्तारका नाममा भत्काइनु राम्रो नभएको बताउनुभयो ।
छत्रेश्वरीका चोपबहादुर विकले राति बास बस्न समेत प्रयोग गर्न मिल्ने गरी बाटोहरूको छेउमा तथा मान्छेहरुको भिडभाड हुने स्थानमा निर्माण गरिएका पाटीपौवा संरक्षणमा कसैको ध्यान नगएको बताउनुभयो । ‘पहिले यसक्षेत्रमा धेरै त्यस्ता संरचना भए पनि संरक्षण नहुँदा लोप हुन थालेका छन्’– उहाँले भन्नुभयो– ‘काठैकाठबाट निर्माण गरिएका त्यस्ता पाटी पौवाको संरक्षणमा कसैले चासो दिएका छैनन् ।’
वातावरणीय दृष्टिकोणले राम्रो, ढुंगाको छानो, ढुंगा र माटोको गारो तथा काठहरू प्रयोग गरिएका पाटीपौवा लोप हुँदै गएको र धार्मिक भावना भएका केही व्यक्तिहरूले सिमेन्ट, फलाम र टिनको प्रयोग गरेर प्रतीक्षालय बनाउने गरेको कालिमाटीका तुलसीराम ओलीले बताउनुभयो । चौतारालगायत पाटी पौवा भत्किए पनि पुनर्निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । ‘अहिले पाटी पौवा र चौतारी भन्दा पनि प्रतीक्षालयको नाममा बिभिन्न संरचना स्थापना भइरहेका छन् तर त्यसमा पौराणिकता झल्किदैन’– उहाँले भन्नुभयो ।
विगतमा पुण्य कमाउनका लागि सामाजिक काम गर्नुका साथै पाटीपौवा र चौतारी निर्माण गर्ने चलन रहेको थियो । पहिले हरेक गाउँ र बस्तीका बाटोघाटोको छेउमा चौतारी हुने गरेको भए पनि अहिले चौतारी पनि भत्किन थालेका छन् । बर, पिपल, लाखुरी आदिका रुखमुनि निर्माण गरिएका चौतारीले शीतलता प्रदान गर्नुका साथै वातावरण समेत सुन्दर देखिने गर्दथ्यो । परिवर्तित समयअनुसार ग्रामीण पहिचान झल्काउने यस्ता सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको स्थानीयको गुनासो छ ।