स्मृतिमा लुहापिङ हाइस्कुल र एसएलसी आतंक !

बिद्यालयको परीक्षा भन्ने कुरो मानिसको जिन्दगीको सफलता र असफलता तौलिने तुलो हैन भन्ने सबैले बुझिदिए कस्सो हुँदो हो ?

२०५९ साल चैत्र महिना । म एसएलसी परिक्षार्थी । परिक्षा केन्द्र – त्रिभुवन जन माध्यमिक विद्यालय, लुहापिङ्ग खलंगा सल्यान । ठसठसि कन्दै ८ वटा बिषयको जाँच दिएर एसएलसी परिक्षा सक्काइयो । जाँच त सकियो तर परिणाम कस्तो आउने हो भन्ने चिन्ताले लखेटिरह्यो । परिक्षाफल २०६० को असार महिनामा प्रकाशित भयो । मैले अङ्ग्रेजी, गणित र बिज्ञानमा आलु खाएँ । यो परिणाम घरपरिवार, छरछिमेकी, शिक्षकशिक्षिका सबैको अनुमान बिपरित थियो । मलाई चै अङ्ग्रेजीको खड्गो नकटे पनि अरु बिषय चैँ छिचोल्न सक्छु भन्ने लागेको थियो । ऐच्छिक बिषय अन्तर्गत अर्थशास्त्र चाहिँ मेरो रुचिको रसिलो बिषय थियो यसमा भने स्कुलमै सबैभन्दा राम्रो अङ्क ल्याएछु ।

यो ऐच्छिक अर्थशास्त्रको किस्सा पनि बेग्लै छ ।

लुहापिङ्ग हाइस्कुल, सल्यान खलंगामा कक्षा नौ पुगेपछी दुई वटा ऐच्छिक बिषय रोज्नुपर्ने भयो । प्रथम ऐच्छिक बिषयमा अतिरिक्त गणित र अर्को अर्थशास्त्र थिए । दोश्रो ऐच्छिक बिषय चै सबैको लागी ’कार्यालय संचालन तथा लेखा’ नै अनिबार्य जस्तै भयो । प्रथम ऐच्छिक बिषयमा अतिरिक्त गणित उपल्लो दर्जाको र अर्थशास्त्र चैँ दोश्रो दर्जाको बिषय मानिन्थ्यो ।

त्यो माओबादी द्वन्द्वको उत्कर्षको समयमा (२०५७ साल तिर) माओबादीले निजि स्कुल बन्द गर्ने उर्दि लगाएपछी जिल्लाकै एकमात्र निजि माध्यमिक विद्यालय ’हिमदृश्य अङ्ग्रेजी स्कुल’को इहलिला समाप्त भयो । त्यसपछी त्यो स्कुलका सबै विद्यार्थी लुहापिङ्ग स्कुलमै ओइरिए । उनिहरु सबै बिषय अङ्ग्रेजी माध्यममा पढ्ने हामी चैँ अंग्रेजी पनि नेपाली माध्यमै पढ्ने पर्यौँ । ती अंग्रेजी भाषी सबैले ऐच्छिक बिषयको रुपमा ’अप्सनल म्याथ नै रोजे’ । अप्सनल म्याथ पढ्ने चाहिँ उच्च अनि ऐच्छिक अर्थशास्त्र पढ्ने चाहिँ तुच्छ भन्ने जस्तो भाष्य निर्माण भएको थियो । अतिरिक्त गणित पढ्नेहरुको चुरिफुरी बेग्लै थियो । यिनिहरुलाई के पढ्छौ ? भन्दा ’अप्सनल’ मात्र भन्थे । हुन त अर्थशास्त्र पनि ’अप्सनल’ नै थियो । ’अप्सनल म्याथ’को थिचोमिचोमा परेको अर्थशास्त्र चैँ निरीह देखिन्थ्यो ।

मैले चैँ अर्थशात्र नै रोजेँ । हामीलाई अर्थशास्त्र पढाउने गुरु जोगेन्द्र वीर महर्जन हुनुहुन्थ्यो । अर्थशास्त्रको परिभाषा सम्बन्धी नै ३ वटा च्याप्टर थिए, आदम स्मिथ, अल्फ्रेड मार्शल र लियोनेल रबिन्सनको अर्थशास्त्र सम्बन्धी प्रारम्भिक अध्ययन नै गह्रुङ्गो थियो । मलाई यो बिषय एकदमै चाख लाग्यो । त्यसपछी अर्थशास्त्र पाँच खम्बाहरु उपभोग, उत्पादन, बिनियम, बितरण र राजस्व सम्बन्धी छुट्टाछुट्टै अध्यायमा अध्ययन गरियो ।

यो पढाई अर्थशास्त्ररुपि महासागरमा घुस्ने एक बाटो बन्यो । जोगेन्द्र सरले बडो गम्भिर र चेतावनी मिश्रीत स्वरमा भन्नुहुन्थ्यो –“माइक्रो इकोनोमिक्स होस वा म्याक्रो इकोनोमिक्स होस, व्यापक उत्पादन र दीर्घकाल सम्म उत्पादनको जग बलियो नभए सम्म व्यापक बितरण घातक हुन्छ । पहिले उत्पादन क्षेत्र बलियो बनाउ अनि बिबेकपुर्ण बितरण गर ।“ जोगेन्द्र सरले हामीलाई नौ कक्षामै सिकाएको अर्थशास्त्रको ज्ञान अहिले बजेट भाषण सुन्दा उत्तानो पर्यो ।

मेरो निम्छरो ज्यानमा पखेटा गाँसिदिने लुहापिङ हाइस्कुल

२ भन्दा बढी बिषयमा अनुत्तीर्ण हुनेले मौका परिक्षा दिन पनि पाउदैन थियो । फेरि अर्को बर्ष सबै बिषयको जाँच दिनुपर्ने भयो । यसरी हाम्रो खलकमा ३ बिषयमा आलु खाने म पहिलो सन्तान भएँ । मेरै कारणले हाम्रो खलकको ’इज्जत’ थोरै भए पनि घट्यो । मैले बैरी हँसाउने काम गरेँ । ३ बिषय लाग्यो । जाँच अर्को बर्ष छ । अर्को बर्ष झन के हो के हो ? अब यसलाई कसरी बैतर्णी तार्ने भन्ने बिषयमा घरमा व्यापक छलफल पनि भयो । म अदालतको कठघरामा उभिएको अपराधि जस्तै छु । सबैका शसंकित आँखा म तिरै तेर्सिएका छन् ।

त्यसपछी अनेक बिकल्प आउन थाले । म कुनै निर्जीव बस्तु जस्तै चुपचाप सुनिरहेको छु । म सङ्ग चुइँक्क बोल्ने आत्म बिश्वास छैन । बरु कुनै बिषयको प्राबिधिक तालिम लिए ’भबिष्य बन्ने’, अर्थोपार्जन पनि हुने र नुन तेलको जोहो सजिलै गर्न सकिने भन्ने कुरो पनि आयो । अर्को बिकल्पमा बरु महेन्द्र संस्कृत बिश्व –विद्यालय अन्तर्गत बेलझुण्डि दाङ्गमा कर्मकाण्ड पढ्न गए शुल्क पनि नलाग्ने, छात्राबासमा निशुल्क बस्न पनि पाइने र सके पुराण बाचक पण्डित बन्ने नसके टपरी टकटक्याउने पुरेत नै भए पनि नुन तेलको समस्या नहुने भन्ने थियो ।

यी दुई बिकल्पलाई मैले टेर पुच्छर नलगाए पछि न्यायाधीशको आसनबाट पिताजिको फैसला आयो – लौ उसो भए फेरि नियमित स्कुल जाने, टुप्पि कसेर पढ्ने, अर्को बर्ष एसएलसीको खड्गो कटाउने र शत्रुका मुखमा बुजो हाल्ने भन्ने आदेश आयो । फैसला पुनरावलोकनको कुनै गुन्जायस थिएन । मैले स्वीकृतिको भाषामा टाउको हल्लाएँ ।

स्कुल र क्याम्पसको साँध सिमाना जोडिएको थियो । क्याम्पस बिहान सन्चालन हुन्थ्यो भने स्कुल दिउँसो । कस्तो अबस्था आयो भन्नुहुन्छ भने म कक्षा दोहोर्याउन स्कुल जाँदै गर्दा अघिल्लो बर्ष सङ्गै पढेका साथी क्याम्पस पढेर फर्कदै हुन्थे । मैले गहरुगों झोला बोकेको हुन्थे, उनिहरु हातमा एउटा कपि मात्र । छन त उनिहरु साथी थिए तर हामी बिचको दुरि मङ्गल र पृथ्वी जत्तिकै थियो । जम्काभेट हुँदा आँखा जुधाउने हिम्मत हुन्थेन । हिनताबोधले ग्रस्त । आँखा जुधाउने हिम्मत नभए पछि मैले पहिलोपटक ’क्याप टोपी’ भनिने अगाडि चुच्चो निस्केको टोपी आँखा छोपिने गरि लगाउन थालेको थिए ।

पछि २०६० सालको एसएलसी भने एकैपटकमा छिचोलियो । अनि लामो सास फेरियो भन्नुस । तिनताक एसएलसीलाई बढ्तै महत्व दिइएको थियो । एसएलसीको दवाबले थिचेर कतिपयले आफ्नो चोला आफै समाप्त गरेका समाचार पनि आउथे । बिद्यालयको परीक्षा भन्ने कुरो मानिसको जिन्दगीको सफलता र असफलता तौलिने तुलो हैन भन्ने सबैले बुझिदिए कस्सो हुँदो हो ?

000

[ सल्यानको शारदा नगरपालिकामा घर भएका लेखक आचार्यले व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । ]

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित