गाउँमा उत्पादन भएको दूध खेर !

‘गाउँमै केही गर्नुपर्छ भन्ने सोच बनाएर भैँसीपालन गर्दै आएको छु, अहिले दैनिक २० लि. दूध उत्पादन गर्छु, साँझको दूध बिहानसम्म राख्दा फाटेर काम नलाग्ने हुन्छ, सार्वजनिक गाडीमा तुलसीपुर दूध पठाउनुपर्छ, गर्मीयाम भएकाले बाटोमा नै दूध फाट्ने सम्भावना धेरै हुन्छ’– उहाँले भन्नुभयो– ‘दूधबाट दही, घ्यू, छुर्पी बनाएर लागत उठाउन सकिदैन ।’

सल्यान, ९ बैशाख ।

सल्यानका ग्रामीण भेगमा उत्पादन भएको दूध खेर गइरहेको पाइएको छ । गाउँमा दूध खपत नहुने र बाहिर पठाउनका लागि संलकन तथा चिस्यान केन्द्र नहुँदा ग्रामीण भेगमा उत्पादित दूध खेर गइरहेको पाइएको हो ।

दूध संकलन तथा चिस्यान केन्द्र नहुनु र दैनिक बजारसम्म निर्यात गर्न नसक्दा गर्मीयाममा दूध फाटेर पनि खेर जाने गरेको छ । अहिले जिल्लाको कालीमाटी क्षेत्रका भैंसीपालक किसानले उत्पादन गरेको दूध संकलन गर्न र बजारसम्म पठाउन पनि समस्या भइरहेको छ । कालीमाटी गाउँपालिका–३ ढोरेनीमा उत्पादन भएको दूध दाङको तुलसीपुरमा पठाउँदा समस्या भएको कृषक बताउँछन् । उत्पादित दूध सार्वजनिक गाडीमा राखेर बजार पठाउँदा झन् सास्ती भएको उनीहरुको गुनासो छ ।

दशवटा भैंसीपाल्नु भएका ढोरेनीका कृषक बुद्धिमान बुढाथोकीले आफूले उत्पादन गरेको दूध बजारसम्म पु¥याउन नसकिएको बताउनुभयो । स्थानीय बजारमा दूध खपत नहुने र साँझबिहानको दूध संकलन गरेर पठाउँदा गर्मीमा दूध फाट्ने समस्या धेरै रहेको उहाँको भनाइ छ । उहाँले दैनिक ५० लिटर भन्दा बढी दूध उत्पादन भइरहेको छ तर दूग्ध चिस्यान केन्द्र नहँुदा गाउँभरिको दूध संकलन गरेर निर्यात गर्न समस्या भएको उहाँको भनाइ छ । ‘तीन वर्ष मलेसियामा बसें, गाउँमै केही गर्नुपर्छ भनेर तीन वर्षदेखि व्यावसायिक भैंसीपालन गर्दै आएको छु, अहिले मसँग ठूलासाना गरेर १० वटा भैंसी छन्, गोठ निर्माण देखि घाँस काट्ने मेसिनसम्म किन्दा करिब २४ लाख लगानी पुगेको छ’– उहाँले भन्नुभयो ।

‘गाउँमै केही गर्नुपर्छ भन्ने सोच बनाएर भैँसीपालन गर्दै आएको छु, अहिले दैनिक २० लि. दूध उत्पादन गर्छु, साँझको दूध बिहानसम्म राख्दा फाटेर काम नलाग्ने हुन्छ, सार्वजनिक गाडीमा तुलसीपुर दूध पठाउनुपर्छ, गर्मीयाम भएकाले बाटोमा नै दूध फाट्ने सम्भावना धेरै हुन्छ’– उहाँले भन्नुभयो– ‘दूधबाट दही, घ्यू, छुर्पी बनाएर लागत उठाउन सकिदैन ।’ दूध नियमित बजार पठाउन सके दैनिक एक हजार बढी बचत हुने उहाँको भनाइ छ । ‘सडक कालोपत्रे भइसकेको छ, विजुली आइसकेको छ तर दूग्ध चिस्यान केन्द्र नहुँदा समस्या भएको छ’– उहाँले भन्नुभयो– ‘बजारीकरणको समस्याका कारण भैंसीपालन व्यवसायबाट पलायन हुने सम्भावना धेरै भयो ।’

यस क्षेत्रका २० बढी घरधुरीले भैंसीपालन गर्दै आएका छन् । केही किसानले १/२ वटा त केहीले ४/५ वटा भैंसीपालन गरेका छन् । अर्का भैंसीपालक कृषक मोहवीर भण्डारीले उत्पादन भएको दूध बिक्री नहँुदा घरमै खाने गरेको बताउनुभएको छ । दूध बजारसम्म पु¥याउन कुनै पनि निकायले सहयोग नगरेको उहाँको भनाइ छ ।

‘हामीले त पहिलेदेखि नै भैँसीपालन गर्दै आएका हौं, सुर्खेत, कोहलपुरसम्म दूध पठाउने योजना बनायौं, सफल भएन, अहिले दाङ पठाइरहेका छौं तर नियमित छैन, चिस्यान केन्द्र र गाडी नहुँदा संकलन केन्द्रमा लगेको दूध समेत फिर्ता ल्याउनुपर्छ’– उहाँले भन्नुभयो– ‘दूध बिक्री नहुने भएपछि बाख्रा, गोरु पालनमा स्थानीयको आकर्षण बढेको देखिएको छ ।’ भैंसीपालनको लागि घाँस, दानापानीको भने केही समस्या नभएको किसान बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस