मानिस विश्व जगतको सर्वश्रेष्ठ प्राणी हो र मानिस स्वप्नदर्शी प्राणी पनि हो । आफू कसरी जिउने, आफू वसेको ठाउँको विकास उन्नती कसरी गर्ने र आगामी दिनमा कुन ठाउँमा पुग्ने भन्ने निश्चित योजना निर्माण गरेर उद्देश्य परिपूर्तिमा निरन्तर लागि पर्ने, सफलता भए नभएको हिसाब किताब गर्ने, कार्ययोजना र कार्य प्रगतिको मापन गर्ने प्राणी पनि मानिस नै हो । सो अनुरुप आगामी दिनको योजना तर्जुमा गर्ने प्राणी पनि मानिस नै हो । त्यसभित्र पनि कम्युनिष्ट पार्टीका हामी कार्यकर्ता जो विज्ञानमा विश्वास गर्छ, जो तथ्यभित्र सत्य खोज्छ । उसले विगतका हरेक गतिविधिबाट पाठ त सिक्नै पर्छ । तसर्थ हामीले गर्ने समिक्षाले भविष्यको योजना निर्माण गर्न समेत सहयोग पुगोस । समीक्षा गर्ने विषय भनेको आफूलाई मापन गर्ने विधि पनि हो ।
हामीले बनाएका योजनाहरु कति व्यवहारिक थिए, कति गर्न सकिने खालका थिए र कति पूरा भए भन्ने विषयको ज्ञान गराउने एक माध्यम नै वास्तवमा समीक्षा हो । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सल्यानको कार्ययोजनालाई समीक्षा गर्दा हाम्रा लक्ष्यहरु, उद्देश्यहरु बैज्ञानिक थिए कि थिएनन् ? लक्ष्य र उद्देश्य पुर्ति गर्ने कार्ययोजनाहरु कस्ता बने र ती कार्य योजनाहरु पुरा गर्न सकिने खालका थिए किन थिएनन् ? कति पुरा भए, कति पुरा गर्न बाँकी भए ? कमिटी प्रणाली कतिको चलायमान भयो, सिर्जनतात्मकता, रचनात्मकता र क्रियाशिलताको विषयमाा यो कार्यकाल कस्तो रह्यो ? त्यसको लेखाजोखा गर्ने काम वास्तवमा समिक्षा हो । हामीले विगतको निर्ममतापूर्वक समीक्षा गर्ने गरेका छौं, गल्ती कमजोरीलाई औल्याएकाछौं, सच्याएकाछौं, र निरन्तर अगाडि बढिरहेका छौं जसका कारण नै हामी यो अवस्थामा छौं ।
राष्ट्रिय युवा संघ नेपाल सल्यानको यस कार्यकालको सामान्य समिक्षा बुदाँगत रुपमा यसरी गर्न सकिन्छ :
१. नवौँ जिल्ला अधिवेशन नितिगत भएन !
संघको अधिवेशन सल्यान खलङ्गामा पार्टीका तत्कालिन श्रद्धेय नेता क. गुलाब जङ्ग शाहले वडो तामझामका वीच सयौ युवाहरुको खुला सभाको बीचमा उद्घाटन गर्नुभएको थियो । संघ ९ अधिवेशनमा आमयुवाहरुले ठूलो आशा अपेक्षा गरेका थिए । अधिवेशनको कोशेलीको पोको जिल्लैभरि बाड्ने, आमयुवाहरुमा जोशजाँगर र उत्साह पैदा गर्ने र राजनीतिको नयाँ अध्याय शुरु गर्ने अभिरुचिका साथ अधिवेशनलाई आम युवाहरुले हेरिरहेका थिए । तर ९ औँ अधिवेशनलाई जुन उत्साहका साथ हेरिएको थियो, जुन अपेक्षा थियो जसरी उद्घाटनको रौनक थियो त्यस प्रकारले समापन गर्न सकिएन अधिवेशनमा न राजनैतिक छलफल भयो, न सांगठनिक छलफल भयो न नयाँ योजना संकल्प र लक्ष्य नै बने । त्यहाँ त केवल कसलाई नेता वनाउने, कसरी आफु र आफ्नो गुट स्थापित गर्ने भन्ने विषयले मात्रै प्रधानता पायो पद प्राप्त गर्ने र नपाउने निराशामा गयो ।
पाउने सँग पनि न कुनै कोसेली थियो, न त निराश हुनेलाई कुनै चिनो नै । नीतिगत छलफबाट नीति योजना र कार्यक्रम पास गरिएको भए त्यसमा जिल्लामा छरियर रहेको असन्तुष्ट पक्षले सन्तुष्टि लिने मौका मिल्थ्यो । किनकी त्यस नीति योजना कार्यक्रममा उसको पनि स्वामित्व हुन्थ्यो । महाधिवेशन संगठनलाई गतिशिल, जुझारु बनाउने माध्यम हो भने विगतको समिक्षा गर्ने, भावी कार्ययोजना वनाउने र नेतृत्व छनौट गर्ने महत्वपूर्ण थलो हो । जहाँ नीतिमा छलफल भएन केवल नेतृत्वको विषयमा मात्र सोचियो ।
२. हरेक बैठक उद्देश्यमुताविक भएन, सन्देश राम्रो गएन
बैठक संगठनको उद्देश्य र कार्यक्रमलाई सफलिभूत बनाउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने माध्यम हो । संगठनलाई उद्देश्यपूर्ति गर्न गतिशिल बनाउने प्रक्रिया भनेको बैठक हो । बैठक संगठनको योजनाको मूल्यांकन गर्ने र थप योजना निर्माण गर्ने थलो पनि हो । बैठक संगठनको कामको बैधानिकता दिने प्रथम खुड्किला हो भने गतिविधी सञ्चालनको मार्गदर्शक पनि हो । संगठनको कामलाई सहजीकरण गर्ने र विधान बमोजिम कमिटीलाई मार्गदर्शन गर्ने हतियार पनि बैठक नै हो । वैठक एउटा उर्जा प्रदान गर्ने थलो हो एक प्रकारले भन्दा रिचार्ज गर्ने थलो हो । हाम्रो संगठनको हरेक बैठकले हामीलाई उर्जा प्रदान गर्नपर्दछ, योजना निर्माण गर्नुपर्दछ र लक्ष्यलाई सफलीभूत बनाउने निर्णयहरु गर्नुपर्दछ । संघको विधानमा जिल्ला कमिटीको बैठक प्रत्येक ४÷४ महिनामा हुनैपर्दछ । तर हाम्रा बैठकहरु न विधान अनुसार नै बसे न त कुनै उर्जा भर्ने, उत्साह दिने र कोसेली वनाउने खालका नै भए । प्रत्येक वैठक कोलाहालको, निराशाको, कुण्ठाको र दम्भको प्रदर्शन गर्ने थलो बन्यो ।
हामीले विधान त पायौ तर त्यसलाई पढेनौं र लागू पनि गरेनौं । विधानले युवा संघका कार्यकर्ताले राजनीतिलाई पेशा भन्न पाउने छैन भनेर भन्ने तर कसरी व्यवसायमा उद्योगमा र सीप विकासमा लाग्ने भन्ने विषय दिन सकेनौंं तर पनि हामी खोक्न छोडिरहेका छैनौं । युवा संघको इमान्दार प्रयन्तले कति हजार युवा श्रममा लागे, पेशामा लागे ? हामीले पेशा गर्ने आधार र वाटो देखाउने तय गर्ने हो कि जसले जसरी पेशा व्यवसाय गरीरहेको छ त्यसैलाई मात्र संगठीत गर्ने भनेका हौं ? हामीले दलाल पुँजीवादको विरोध गरीरहेका छौं तर व्यवहारमा त्यसैलाई नै टेवा त पुर्याउने कार्य त भइरहेको छैन ? ख्याल गरेको खोइ ? जसरी पनि पैसा कमाउने हो कि यसरी यसरी भनेर तरिका सिकाउने हो ? अभियान चलाउने हो ?
९ औँ जिल्ला अधिवेशन भए देखि अहिले सम्मको संघको मूल छलफल भनेको कसलाई कुन जिम्मेवारी दिने, कसलाई कसरी ठेगान लगाउने, मनोनयन र बिदाई कै विषय मात्र बनेको देखिन्छ । संघलाई कस्तो वनाउने, समाजलाई कता लैजाने र कसरी लैजाने, त्यतातिर डो¥याउने ताकत को को संग छ, त्यसको सारथी को वन्न सक्छ, त्यो वाटाका अफ्ठेराहरु के के हुन सक्छन्, अध्यारो उज्यालोको सामाना कसरी गर्ने, पानी पर्दा छाता, अध्याँरोमा पुल्ठो, भोक लाग्दा सारदम कस्तो, कसरी र कसले लैजाने जस्ता विषय मुल विषय वन्नु पर्ने हो कि होइन ? यसको छलफलबाट मूल नेतृत्व किन भागीरेको छ ? कि लक्ष्य र वाटो नै थाहा नभएको हो ?
३. कार्यक्रम के हो ? बुझाइएन, लक्ष्यमा कार्यक्रम गरिएन
कार्यक्रम भनेको संगठनले लिएको लक्ष्यको आधारमा जनताका बीचमा गरिने गतिविधी हो । जसलाई दुई भागमा वाडेर हेर्ने गरिन्छ । १. कार्यनीति र २ रणनीति । कार्यनीति तुरुन्त लागू गरिन्छ रणनीति पछि लागू हुन्छ । कार्यनीतिले रणनीतिलाई सहयोग र सेवा गरिरहनु पर्दछ । वास्तवमा कार्यनीति र रणनीति दुवैको भेटघाट नै कार्यक्रम हो । तर हाम्रो संघले वुटलव माहाधिवेशन देखि हालसम्म युवा समुदाय र राष्ट्रमा सकारात्मक प्रभाव र माहौल सिर्जना गर्ने खालको कार्यक्रमहरु वनाउन सकेन । जुन एउटा क्रान्तिकारी संगठनको लागि सुहाउने विषय होइन । पार्टीले दलालपूँजीवादको विरोध र भण्डाफोर गर्दै राष्ट्रिय पुँजीको विकास गर्दै समाजवाद स्थापना गर्ने भनेको छ ।
संविधानले पनि समाजवादलाई लक्ष्य वनाएको छ भने त्यो समााजवाद कस्तो हो ? त्यसको प्रारम्भिक चरण कस्तो हुन्छ ? त्यो समाजवादको आधारभूत कामहरु के– के हुन् । त्यसको कार्यनीतक र रणनीतिक योजनाहरु के–के हुन ? कुनै छलफल र कार्यक्रम वनाइएन । युवामा देखिएको वेरोजगारी, शिक्षामा सीप जोड्ने सवाल, वहुप्राविधिक शिक्षाको चेतना लगाएत आम सरोकारको क्षेत्रमा कुनै चासो राखिएन । संगठनलाई राम्राहरुको संगम केन्द्रभन्दा पनि आफ्नाहरुको भर्तिकेन्द्रमा रुपान्तरण गरियो ।
४. पाएन विभागले पूर्णता, कमिटीको भएन सक्रियता
संगठनको कामलाई चुस्त, दुरुस्त र वैज्ञानिक तवरले सञ्चालन गर्न र जिम्मेवारीलाई शक्ति विन्यासको सिद्धान्तका आधारमा प्रत्येक सदस्यलाई जिम्मेवारी वोधका साथ कामको परिभाषित क्षेत्रमा प्रतिफल आउने गरि कार्यविभाजनको रुपमा विभागहरु वनाइएका हुन्छन् र त्यसै अनुरुप जिम्मेवारी वाडिएको हुन्छ । तर यो तरिका नअपनाई कुन मालदार, शक्तिशाली र हाउगुजी देखाउन सकिन्छ त्यो त्यो छानेर जिम्मा लिने अनि कमजोर ठानीएको काम अर्कालाई दिने पुरानो शैलीको भद्दा नमुना यस कार्यकाले प्रदर्शन ग¥यो । युवाहरुको वीचमा योजना अनुसन्धान विभाग, विज्ञान तथा प्रविधी विभाग, शैक्षिक विभाग जस्ता विभागहरुको रोजाइका विभाग वन्नु पर्नेमा त्यसो हुन सकेन । नत विभाग वनाइयो नत २ वर्षसम्म पनि विभागले पुर्णता पाउन सक्यो। खासमा भन्ने हो भने उद्देश्यमा आधारीत कुनै पनि जिल्ला कमिटीको वैठक राख्न सकेको छैन । सक्रिय रहेका बैठक पनि केवल कर्मकाण्डी छन् ।
५. अन्तरसंघर्षको सहि व्यवस्थापन
समाज जवसम्म वर्गीय रहन्छ तवसम्म समाजका वर्गहरुको हीत अनुकुल विचारधारा निर्माण हुन्छन् र ती वर्गहरु वीच संघर्ष चलिरहन्छ । त्यसको प्रतिविम्ब पार्टीभित्र पनि देखा पर्नु स्वभाविक नै हुन आउछ । वर्ग संघर्षको सन्दर्भमा कम्युनिष्ट घोषणा पत्रमा भनिएको छ– “वर्ग संघर्षको अर्थ हो, एउटा वर्ग अर्को वर्गको विरुद्ध लड्नका लागि मैदानमा उत्रिनु र त्यही संघर्ष त्यो परिवर्तनको मूख्य साधन हो । जसबाट समाजमा परिवर्तन ल्याउन सकिन्छ । संघर्ष संसारमा छदै छैन, वा त्यो धेरै नराम्रो हो भनि आँखा चिम्लेर काम चल्दैन । जवसम्म वेग्लावेग्लै विरोधी वर्ग रहेका छन् तवसम्म उत्पीडितहरुलाई संघर्षबाट अलग रहने सल्लाह दिनु बाख्रालाई ब्वाँसोको मुखमा फ्याक्नु सरह हो ।” यसर्थ श्रमजिवी वर्गको हीतको लागि समाजको प्रगतिशिल रुपान्तरणको अभियानमा विभिन्न वर्गसमुदायको स्वार्थहरु पनि पार्टी वा संगठनमा जानेर वा नजानेर घुुस्न सक्छन् । जसलाई संगठनको अन्तरसंघर्षबाट सहि निष्कर्ष निकाल्न सकिन्छ । पार्टी संगठनमा एकमनावादी र समरुप नभएर द्वन्द्ववादी दृष्टिकोण हुनुपर्दछ ।
त्यसकारण संगठनभित्र अन्तरविरोध रहेनन् र तिनको समाधानको लागि सैद्धान्तिक संघर्ष चालाइएन भने पार्टी वा संगठनको जीवन खतम हुनजान्छ । तसर्थ एउटा गतिशिल संगठनमा अन्तरसंघर्ष चलिरहन्छ । त्यसो भएकाले संघर्षलाई एकलकाठे, एकतर्फी र निषेधको ढंगले हेरिनु अत्यन्त गलत हुन्छ । यस्ता संघर्ष स्वच्छ रुपमा सञ्चालित हुनुपर्दछ । हरेक पक्षको विपरित पक्ष हुन्छ । जन्म–मृत्यु, जीत–हार, हाँसो रोदन, उज्यालो–अध्यारो । अध्यारो आउँछ त्यसलाई रोक्न सकिदैन । बरु अध्यारो हटाउन उज्यालो वाल्नुपर्छ । अनि अध्यारोमा पनि काम गर्न सकिन्छ । पुल्ठो वालेर पनि गन्तव्यमा पुग्न सकिन्छ । त्यसैगरी नराम्रा विचारहरु पार्टीभित्र आउन सक्छन् त्यसलाई राम्रो विचारको प्रकाशमा सुद्धिकरण गर्नसक्नु पर्दछ । यसर्थ अन्तरपार्टी संघर्ष सञ्चालन गर्दा निम्न तीन गर र नगरको सिद्धान्त लागु गर्नुपर्छ । जसले संगठन निर्माण र सिंगो पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
६. सही मूल्यांकनको परम्परा
मूल्यांकन आफैमा सुन्दर शब्द हो जसका खातिर मान्छेले आफ्नो समय खर्चेको हुन्छ । पार्टी, संगठन, समाज र क्रान्तिको निम्ति कठिनतम् संघर्ष गर्दा पनि कार्यकर्तादेखि नेतासम्मले आफ्नो योगदानको मूल्य खोजिरहेको हुन्छ । कमरेड मदन भण्डारीले भन्नुभएको छ– “उपयोगिता, सार्थकता र सम्भाव्यताको जाँचबुझ नगरी लगनशिल हुनुको पनि केही औचित्य हुदैन र त्यसबाट कुनै परिणामको आशा गर्न सकिदैन ।” तसर्थ आशा अपेक्षा र सपना विना कुनैपनि व्यक्ति लगनशिल हुदैन । कुनैपनि वाली लगाएर फलको आशा छैन भने त्यसमा गोडमेलको पनि आवश्यक्ता पर्दैन । तसर्थ कार्यकर्तादेखि नेतासम्मको यथार्थ धरातलमा रहेर मूल्यांकन गरिनु पर्दछ । सफलता प्राप्त गर्ने इच्छा व्यक्त गर्नु, आशा अपेक्षा गर्नु अपराध होइन । तर आशा अपेक्षा र संकल्प बमोजिम निरन्तर लगनशिल पंतिको उचित मूल्यांकन हुनै पर्दछ । त्यसो गर्दामात्र सहि ढंगको संगठन निर्माण गर्न सकिन्छ ।
७. प्रगतिशिल आचरण र अनुशासन
संगठन निर्माणको महत्पूर्ण पक्ष भनेको अनुशासन हो । संगठन भित्रको अनुशासनको सही व्यवस्थापन भएन भने संगठनभित्र नै अराजकता र गुटवन्दिको सिर्जना हुन्छ । क. स्टालिनले यस सन्दर्भमा भन्नुभएको छ– “पार्टीभित्र फलामे अनुशासनको आवश्यक्ता पर्छ । जसले फलामे अनुशासनलाई अलिकति पनि कमजोर पार्छ उसले वास्तवमा सर्वहारा वर्गको विरुद्ध पुजिपति वर्गलाई नै सहयोग पु¥याइरहेको हुन्छ ।” यसर्थ निर्णय हुनुभन्दा पहिले असहमति र व्यापक छलफल गर्न पाईन्छ तर निर्णय भैसके पश्चात अस्विकार गर्न पाईदैन । तर हाम्रा कमिटीहरुमा बेलावखतमा निर्णय अस्विकार गर्ने गम्भिर त्रुटी पनि हुने गरेको पाइन्छ । जसलाई सुधार्नै पर्छ ।
यसै सन्दर्भमा कमरेड मदनले भन्नुभएको छ– “कुनैपनि विषयमा न्यायधिसले फैसला सुनाईसके पछि हारेको व्यक्तिले २४ घण्टासम्म न्यायधिसलाई गालि गर्ने कुरा स्वभाविक हुन्छ तर त्यसपछि पनि लगातार गाली गरीरहन्छ भने त्यसलाई दण्डनीय ठान्न सकिन्छ । पार्टीले निकालेका निष्कर्षहरु न्यायधिसका फैसला हुन् जसमा निश्चित अवधि विशेषसम्म त्यसप्रतिका आपत्ति र उजुरीहरु स्वाभाविक ठान्न सकिन्छ तर त्यसलाई नै सधैंभरीको खेलोको रुपमा प्रस्तुत गर्ने हो भने त्यस्तो विधिलाई पार्टीले अनुमति दिनु हुदैन र दिन सक्दैन ।”
सिद्धान्त र व्यवहारलाई तालमेल गर्नुपर्दछ । आचरण जनपच्य र जनशैलीयुक्त हुनुपर्दछ । नेता, कार्यकर्ता र संगठनको व्यवहारहरु पारदर्शी हुनुपर्दछ । देखावटी एउटा र भित्री अर्कै तरिका गर्ने कार्यशैलीको निषेध गरिनु पर्दछ । जगमा विर्को लगाएको पानी जस्तो होइन मिनरल वाटरको वोतलमा रहेको पानी जस्तो हुनु पर्दछ । रातो मुला जस्तो होइन रातो गाजर जस्तो हुनुपर्दछ ।
८. प्रतिरोधी तथा स्वयंम्सेवी शक्ति निर्माण
सिद्धान्त वर्ग संघर्षबाट जन्मन्छ नकि कुनै किताब वा नेताको मुखबाट वा शब्द रटानबाट । एउटा वर्ग संघर्षको उचाइको गतिको आधारबाट सिद्धान्तको जन्म हुन्छ । शोषक वर्गले शोषण गर्छ त्यसबाट मुक्त हुन शोषित वर्ग अग्रसर हुन्छ– लड्नको लागि । उसले लड्न पहिले सिद्धान्त खोज्दैन । दर्शको खोजी पनि गर्दैन । जव मान्छेले संघर्ष प्रस्थानविन्दु वनाए त्यसपछि मात्र माक्र्सवादी लेनिनवादी दर्शन पहिल्याए । त्यसैगरी नै २०६५ सालमा नेपालमा एउटा वर्ग संघर्षको परिघट्नाबाट अराजकताको विरुद्ध प्रतिरोध भयो । जसको सफलता स्वरुप ‘युथ फोर्स’को जन्म भयो । माक्र्सका अनुसार “वस्तु परिवर्तन हुनुमा बाह्यभन्दा पनि आन्तरिक वा अन्तरनिहित कारण बढी जिम्मेवार हुन्छ ।”
युवा संघ नेपाल ठूलो वा सानो हुनुमा आन्तरिक कारण नै बढी जिम्मेवार हुन्छ । तसर्थ नेकपा एमाले र युवा संघलाई अझ व्यापक बनाउन प्रतिरोधी शक्तिका साथै स्वयंसेवी संगठन निर्माण गर्नु जरुरी भएको छ । जसले राष्ट्रमा आइपरेका विपतमा सहयोग गर्न सकोस, नवनिर्माणमा योगदान गर्न सकोस । अराजकता, अन्याय अत्याचार भ्रष्ट्राचारको विरुद्ध लड्न भिड्न तयार होस ।
निकट भविष्यमा विभिन्न चुनावहरु हुने सम्भावना छ । स्थानीय नियकाको चुनाव लोकतन्त्र बलियो वनाउने र गणतन्त्र संस्थागत गर्ने महत्वपूर्ण कडिको रुपम भर्खरै सम्पन्न भएको छ । जहाँ युवा संघको प्रतिरोधी भूमिका न्युन देखियो । अन्य आउने निर्वाचनमा नेकपा एमालेलाई सफल वनाउन युवा संघ नेपाल बलियो हुनै पर्दछ । तरङ्ग सवैतिर हुन्छ । ट्युन (च्यानल) मिलेपछि मात्र एफ.एम. बज्न थाल्छ । त्यस्तै च्यानल मिलाउने जनतालाई सचेत गराउने षडयन्त्र छलछाम र धाधली हुन नदिन सशक्त युवा शक्ति निर्माण गर्नै पर्दछ । जनताको बहुदलीय जनवादका अनुसार–“संघर्ष दुइ विपरित पक्षहरुको बीचको टक्कर हो, प्रतिस्पर्धा हो । आफ्नो प्रतिद्वन्द्वि पक्षभन्दा नत धेरै अघि बढेर टक्कर लिन सक्छौं नत धेरै पछि बसेर ।
टक्करका निम्ति, संघर्षका निम्ति हाराहारीमा रहनु, जस्तालाई त्यस्तै गर्नु, जरुरी छ । नत्र संघर्ष हुनै सक्दैन । संघर्षको कुन रुप प्रमुख र निर्णायक हुन्छ त्यो कुनै नेताको कल्पनाबाट तय हुने कुरा होइन यो त जनताको बीचबाट वर्ग संघर्षबाट दूइ विपरित तत्वबीचको संघर्षबाट तय हुने कुरा हो । हिंसाको मुकाविला शाान्तिले, षडयन्त्रको मुकाविला सोझोपनले र धाँधलीको मुकाविला सज्जनताले हुदैन । जस्तालाई त्यस्तै जवाफ संगठीत गर्नुपर्छ । शान्तिपूर्ण राजनीति वा वर्गीय एवं पेशागत संघर्षका हुने षडयन्त्र र हिंसाको मुकाविला गर्न हामीले पनि त्यस्तै शक्ति संगठीत गर्नुपर्छ क्रान्तिको बाटो तय गर्ने प्रक्रिया यहि हो ।”
यसो गर्दामात्र हाम्रो पार्टी नयाँ ढंगबाट अगाडि बढ्न सक्छ । बैरीहरुले छुन नसक्ने, दुष्मणले गिद्धे दृष्टीले हेर्न नसक्ने डरलाग्दो र व्यापक जनताको बीचमा आशालाग्दो विश्व जनसमुदाय सामु भरलाग्दो युवा संघ हुन जान्छ । यस्तो संगठनले मात्र देशमा संकट आइपर्दा बाटो देखाउन सक्छ । पानीपर्दा छाता भएर, अध्यारोमा टर्चलाईट भएर, बाटो भुल्दा पथिक भएर काम गर्न सक्छ ।
अन्त्यमा,
पदिय दायित्व गौण कुरा हो, हामी जुन ठाउँमा छौं त्यहीबाट समाजको प्रगतिशिल रुपान्तरणमा योगदान गर्न तयार हुनुपर्दछ । त्यसपछि हामीले पद होइन पदले नै हामीलाई खोज्दै आउने छ । यसर्थ कमरेडहरु, म होइन हामी, श्रेय लिने होइन दिने, अह्राउने होइन सिकाउने, हाकिम होइन नेताको रुपमा काम गर्नुपर्छ । अध्ययनको विकास गर्नुपर्छ । समयको मूल्यांकन गर्नुपर्छ, नियमित परिस्कृत सुसंस्कृत हुने हिम्मत गर्नुपर्छ । यसो गर्दा मात्र जनता र सिंगो युवा संघकै विकास हुन्छ । हामीसँग गर्विलो इतिहास छ, चुनौतिपूर्ण वर्तमान छ र आशालाग्दो भविष्य छ ।
यसर्थ हामीले चुनौतिका भिमकाय पहाड फोर्नु छ जसबाट भविष्यको सुनौलो ढोका खोल्नु छ । जुन काम हामी बीचको एकता, सहकार्यबाट सम्भव छ । तसर्थ हामीस“ग भएको नकारात्मक कुराहरु(अवगुणहरु)लाई घटाऔं, सकारात्मक कुराहरुलाई बढाऔं, हाम्रो एकता र निरन्तरतालाई गुणात्मक ढंगले बृद्धि गरौं अनि जिम्मेवारीलाई सहितवरले बाँडफाड गरौं । इतिहाँस निर्माण गर्ने जिम्मा हाम्रै हो । भविष्य हाम्रो हातमा छ !
0000
घर्ती नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सल्यानको जिल्ला कमिटी सचिव हुनुहुन्छ ।