सल्यानका २६ परिवारलाई नयाँ घर

‘घर थिएन्, जग्गा थिएन्, घर बनाउने पैसा पनि थिएन्, आफन्तको घरमा बस्दै आएका थियौँ, यस पटक नयाँ घर बनाउनका लागि सरकारले ३ लाख ५० हजार दिएपछि २ कोठे घर बनायौँ, शौचालय पनि बनाएका छौँ’ उहाँले भन्नुभयो ‘तीन जनाको परिवार छ, मैले २ वटा बाख्रा पाल्न थालेकी छु, श्रीमान केही दिन अघि मात्रै परदेश जानुभएको छ ।’

सल्यान, २ भदौँ ।

सल्यानको शारदा नगरपालिका–१५ स्यालपानीका मिछा नेपालीको नाममा घर र जग्गाजमिन केही थिएन् । चार बर्ष पहिले सासुससुरासँग बस्दै आउनु भएकी उहाँ अंशबण्डा भएपछि अमाजु (श्रीमानको दिदि) को घरमा बस्दै आउनुभएको थियो । त्यो बेला उहाँसँग सम्पतीको नाममा न घर थियो, न जग्गा जमिन । चार बर्ष अमाजुकै घरमा बस्नु भएकी उहाँले यस पटक नयाँ घर पाउनु भयो ।

विपन्नको घर निर्माण कार्यक्रम मार्फत २ कोठे नयाँ घरमा बस्न पाएकोमा उहाँ मख्ख हुनुहुन्छ । ‘घर थिएन्, जग्गा थिएन्, घर बनाउने पैसा पनि थिएन्, आफन्तको घरमा बस्दै आएका थियौँ, यस पटक नयाँ घर बनाउनका लागि सरकारले ३ लाख ५० हजार दिएपछि २ कोठे घर बनायौँ, शौचालय पनि बनाएका छौँ’ उहाँले भन्नुभयो ‘तीन जनाको परिवार छ, मैले २ वटा बाख्रा पाल्न थालेकी छु, श्रीमान केही दिन अघि मात्रै परदेश जानुभएको छ ।’

दार्मा गाउँपालिका–१ दहिटाकुराका पिवली सुनारको पनि घर थिएन् । पतिको मृत्यु पश्चात सिंगो घरको अभिभावकको भूमिका निर्वाह गर्दैैै आउनु भएकी उहाँले आमा र ३ छोराछोरीलाई पालनपोषण तथा अभिभावकत्व ग्रहण गर्दै आउनुभएको छ । सम्पतीका नाममा पाखो जमिन भएपनि बस्ने घर नहुदा उहाँलाई परिवारको व्यवस्थापन गर्न निकै गाह्रो भएको थियो ।

जनता आवास मार्फत २ कोठे घर निर्माणका लागि रकम आएपछि उहाँले नयाँ घर बनाउनुभएको छ । ‘हामी गरिब छौँ, आफैले घर बनाउन सक्ने अवस्था थिएन्, तर सरकारले घर बनाउन पैसा दिएकाले घर बनायौँ, राम्रो भयो’ उहाँले भन्नुभयो । नयाँ घर बनाउन सरकारले दिएको रकमले घर निर्माण भएपछि खुसी छाएको उहाँको भनाई छ ।

उहाँहरु त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । विपन्नको घर निर्माण कार्यक्रम र जनता आवास कार्यक्रम मार्फत नयाँ आवास निर्माण भएपछि सल्यानका २६ परिवार खुसी भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्य अनुसार आर्थिक बर्ष २०८०/०८१ मा जिल्लामा २६ वटा नयाँ घर निर्माण भएको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।

एकै बर्षमा विपन्नको घर निर्माण कार्यक्रमबाट २२ वटा र जनता आवास कार्यक्रमबाट २२ वटा गरेर जिल्लाभर ४४ वटा घर निर्माण गर्ने योजना भएपनि २६ वटा मात्रै घर निर्माण सम्पन्न भएकोे कार्यालयका असिस्टेन्ट सव इन्जिनियर महेश कुमार वलीले जानकारी दिनुभयो । अघिल्लो बर्ष जिल्लामा ४० वटा आवास निर्माण भएका थिए । तीन नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानिय तह भएको सल्यानमा विपन्नको घर निर्माण कार्यक्रम र जनता आवास कार्यक्रम मार्फत १३/१३ वटा घर निर्माण गरिएको हो ।

जसमा शारदा नगरपालिकामा ६ वटा, त्रिबेणी गाउँपालिकामा ५ वटा, बन्गाड कुपिण्डे नगरपालिकामा ३ वटा, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, दार्मा गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका र बागचौर नगरपालिकामा २/२ वटा आवास निर्माण गरिएको छ । यस्तै कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिकामा १/१ वटा घर निर्माण गरिएको वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर निर्माणका लागी प्रत्येक परिवारले ३ लाख ५० हजार मध्ये कन्सल्जेन्सी काटेर अधिकतम ३ लाख ३६ हजार रुपैँया प्राप्त गरेका छन् । आवासका लागि २ कोठा सहितको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको छ । जिल्लामा घर विहिनका लागि आवास निर्माण कार्यक्रम लोकप्रिय रहेको उहाँको भनाइ छ । यो लक्षित समुदायसम्म पुग्ने कार्यक्रम भएकाले उनीहरु पनि खुसी भएको उहाँले बताउनुभयो ।

चालु बर्षमा नयाँ आवास निर्माणका लागि विपन्नको घर निर्माण कार्यक्रममा ८० लाख र जनता आवास कार्यक्रममा ४० लाख रुपैँया प्राप्त भएको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस