समुदायकै लगानीमा आत्मनिर्भर बन्दै सल्यानका सामुदायिक बिद्यालय

यथोचित रुपमा व्यवस्थापन हुन नसक्दा कैयौं सामुदायिक विद्यालयले स्रोतको अभाव झेलिरहेका छन् । एकातिर विद्यालय संचालनमा हम्मेहम्मे परिरहेको छ भने अर्कोतर्फ शैक्षिक गुणस्तर खस्कदै गएको गुनासो पनि छ तर जिल्लाका केही विद्यालय भने समुदायकै लगानीमा आत्मनिर्भरको बाटोमा अघि बढेका छन् ।

सल्यान, ५ मंसिर ।

सामुदायिक विद्यालय अथवा सरकारी बिद्यालय भनेका समुदायबाट संचालित विद्यालय हुन् । समुदायकै लगानीमा सञ्चालित भएपनि यथोचित रुपमा व्यवस्थापन हुन नसक्दा कयौँ सामुदायिक बिद्यालयले स्रोतको अभाव झेलिरहेका छन् । एकातिर बिद्यालय संचालनमा हम्मेहम्मे परिरहेको छ भने अर्कोतर्फ शैक्षिक गुणस्तर खस्कदै गएको गुणासो हुन थालेको छ । तर जिल्लाका केही बिद्यालय भने समुदायकै लगानीमा आत्मनिर्भरको बाटोमा अघि बढेका छन् ।

२०४५ सालमा स्थापना भएको जिल्लाको सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरमा रहेको निराजन माध्यमिक बिद्यालय झण्डै तीन दशक आर्थिक अभावमा गुज्रियो । बिद्यालयको आफ्नै स्रोत नहुदा बिद्यालय सञ्चालनमा समस्या थियो नै, स्तरीय शिक्षा र सक्षम बिद्यार्थी उत्पादनमा पनि चुनौती थपिएको थियो । २०७८ साल असोजमा बिद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले निराजन माध्यमिक बिद्यालय आत्मनिर्भर अभियान सञ्चालन गरेपछि यस बिद्यालयले हाल आर्थिक क्षेत्र सुदृढ गर्दै लगेको छ ।

प्रधानाध्यापकै भत्ताबाट आत्मनिर्भर अभियान सञ्चालन गरेको करिब ३ बर्षमा बिद्यालयको खातामा झण्डै आधा करोड रुपैँया संकलन भएको छ । प्रधानाध्यापक घर्तीले अभियान सञ्चालन गरेयता बिभिन्न निकायबाट बिद्यालयमा ४४ लाख ५१ हजार २५१ रुपैँया जम्मा भैसकेको जानकारी दिनुभयो । यो रकम बिद्यालयको उन्नयन र बिकासका लागि भएको उहाँको भनाइ छ ।

‘सामुदायिक बिद्यालय कहिलेसम्म अभावैअभावमा चल्ने ? बिद्यालयको आर्थिक स्रोत के ? बिद्यालयलाई कसरी आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउने ? यस्ता प्रश्न मनमा खेलिरहन्थे, बिद्यालयलाई व्यवस्थित र शैक्षिक गुणस्तरलाई सुधार गर्दै दिगो कसरी बनाउने भन्नेमा सानो प्रयासबाट थालनी भयो, सबैले सहयोग गर्नुभयो, करिब ३ बर्षमा साढेँ ४४ लाख बढी बिद्यालयको खातामा जम्मा भैसकेको छ, यसलाई ५० लाख वनाउने हाम्रो लक्ष्य छ’ प्रधानाध्यापक घर्तीले भन्नुभयो ‘सबै रुपैँया मुद्धति खातामा रहन्छ, बार्षिक रुपमा आएको व्याजले बिद्यालयमा बिभिन्न कार्य सञ्चालन गर्छौ ।’

बैँकबाट आएको व्याजले जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रबृद्धि दिने, शैक्षिक उन्नयन र उत्पादनका क्षेत्रमा लगानी गर्ने उहाँको भनाइ छ । ‘बिद्यालयमा व्याज आउन थालिसकेको छ, साँवा कहिल्यै पनि खर्च हुदैन्, व्याजबाट मात्रै बिद्यालयमा बिभिन्न कार्य गर्छाै, यसपटक मात्रै आँप बगैचा बनाउनका लागि १३० वटा बिरुवा रोपेका छौँ, बिद्यार्थीलाई छात्रबृद्धि लगाएतका बिभिन्न कार्यपनि सञ्चालन गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘आर्थिक रुपमा सक्षम भएपछि मात्रै बिद्यालय जीवन्त रहन्छ ।’ कक्षा १२ सम्म सञ्चालित यस बिद्यालयमा हाल साढेँ छ सय बिद्यार्थी अध्ययनरत छन् ।

कपुरकोट गाउँपालिका–५ रिममा रहेको जीवन ज्योति नमुना माद्यामिक बिद्यालयले जीवन ज्योति स्वावलम्बी उत्थान कोष सञ्चालन गरेको करिब २ महिना भयो । यो अवधिमा बिद्यालयको स्वावलम्बी उत्थान कोषमा ११ लाख ३ हजार ५०९ रुपैँया संकलन भैरहेको छ । कोषमा अहिलेसम्म सबैभन्दा बढी ५९ हजार ९९९ सम्मको रकम नगद सहयोग एउटै व्यक्तिबाट प्राप्त भएको बिद्यालयले जनाएको छ ।

प्रधानाध्यापक भुपाल साहुले विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न, अनाथ र अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी शैक्षिक सुधारमा टेवा पु¥याउने उद्देश्यका साथ कोष अभियान सञ्चालन गरिएको बताउनुभयो । ‘शिक्षक, बिद्यार्थी र अभिभावक बिचको त्रिपक्षिय सहकार्यबाट मात्रै बिद्यालय स्वावलम्बी बन्छ भन्ने हाम्रो निष्कर्ष रह्यो, सोही अनुसार २ बर्षमा ५० लाख रुपैँया कोषमा संकलन गर्ने हाम्रो लक्ष्य छ’ उहाँले भन्नुभयो ।

संकलित रकमको व्याजमध्ये विपन्न विद्यार्थीका लागि १५ प्रतिशत, अनाथ विद्यार्थीका लागि १५ प्रतिशत, अपांगता भएका विद्यार्थीका लागि ५ प्रतिशत, जेहेन्दार विद्यार्थीका लागि १५ प्रतिशत, शैक्षिक गतिविधिका लागि ३० प्रतिशत, दीर्घ रोगी र असहाय व्यक्तिका लागि ५ प्रतिशत, नव पर्वतन तथा खेलकुदका लागि १० प्रतिशत र कोष वृद्धिका लागि ५ प्रतिशत व्याज रकम खर्च गरिने प्रधानाध्यापक साहुको भनाइ छ ।

‘विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाहरू र अभिभावकहरूबाट कोषमा सहयोग प्राप्त गरिरहेका छौँ, यो सहयोग बिद्यार्थीकै उज्ज्वल भविष्य निर्माणमा खर्च गर्छौ, सरकारी वजेट जुन शिर्षकमा आएको हुन्छ, त्यही शिर्षकमा खर्च हुन्छ, यसले बिद्यालयको आर्थिक क्षेत्र बलियो भएन्, त्यसैले बिद्यालयलाई आर्थिक रुपमा बलियो बनाउने र सक्षम बिद्यार्थी उत्पादनमा जोड दिन कोष अभियान थालिएको हो’ उहाँले भन्नुभयो ।

निराजन र जीवन ज्योति मात्रै होइन्, छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा रहेको कालिका आधारभूत बिद्यालय पनि आर्थिक रुपमा सक्षम बन्दै गएको छ । बिद्यालयको आम्दानीको स्रोत कुनै नभएको अवस्थामा अभिभावककै सहयोगमा बिद्यालय सञ्चालन गरिएको र स्तरीय सिकाई तथा आत्मनिर्भर बिद्यालय बनाउनको लागि संग्राहलय निर्माण, करेसावारी खेती लगाएतका काम गरिएको बिद्यालयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित