सल्यान, १३ पुस ।
सल्यान स्थानीय तहले बालविवाह रोकथामको लागि रणनीतिक योजना बनाउन थालेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये तीन वटाले अवको केही दिनमा रणनीतिक योजना बनाइसक्ने गरि काम गरिरहेका छन् । जिल्लाको दार्मा गाउँपालिकाले भने यसअघि नै रणनीतिक योजना बनाएर बालविवाह न्युनिकरणमा काम गरिरहेको छ ।
जिल्लाको शारदा नगरपालिका, कपुरकोट गाउँपालिका र त्रिबेणी गाउँपालिकाले बालविवाह विरुद्धको साझा अभियान सञ्जाल सँगको प्राविधिक सहयोगमा रणनीतिक योजना तय गर्न लागेका हुन् । शारदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले विवाह गर्ने उमेरमा सम्बन्ध बिच्छेदका लागि अदालतसम्म आउने परिपाटीको अन्त्य गर्नका लागि रणनीतिक योजना बनाउन लागिएको बताउनुभयो ।
‘तीनै तहका सरकारले काम गरिरहेको भएपनि बालविवाहमा कमी आउन सकेको छैन्, प्रहरीसम्म होस् या अदालत सम्म आएका घटनालाई हेर्दा होस्, कुनै न कुनै हिसावले समुदायमा बालविवाह भैरहेको छ भन्ने पाइन्छ, हामीले बालविवाह हुनुको कारण पत्ता लगाएर निति तथा योजना निर्माण गर्नका लागि रणनीति बनाउदैँ छौँ’ उहाँले भन्नुभयो ‘आउँदो नगरसभामै खाका प्रस्तुत गर्नेगरि काम भैरहेको छ ।’
कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले गाउँ, समुदायसम्मै पुगेर तथ्यांक संकलनको काम भैरहेको बताउनुभएको छ । ‘पुस १५ गतेसम्म रणनीति बनाइसक्ने तयारी हो, काम गरिरहेका छौँ, समुदायबाट पछिल्लो ५ बर्षयताको तथ्यांक संकलन भैरहेको छ, अव यसलाई विश्लेषण गछौँ’ उहाँले भन्नुभयो ‘बालविवाहले शिक्षा, स्वास्थ्य देखी सबै क्षेत्रमा असर परेकाले न्युनिकरण गर्नुपर्छ भनेर लागिपरेका छौँ ।’
त्रिबेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले समुदायबाट संकलन गरिएको तथ्यांकलाई विश्लेषण गरेर मात्रै रणनीति बनाइने बताउनुभयो । ‘पहिले जस्तो सिधैँ बालविवाह नभएपनि अहिले यसका स्वरुप फेरिएका छन्, बालविवाह समुदायको विकास, उन्नती र प्रगतिमा बाधक बनिरहेको छ’ उहाँले भन्नुभयो ‘बालविवाह रोक्नु चुनौतीको बिषय भएकाले रणनीति बनाएर अघि बढ्दैछौँ ।’
बालविवाह बिरुद्धको साझा अभियान सञ्जालका जिल्ला संयोजक निम बहादुर नेपालीले पछिल्लो समय अभिभावकको मञ्जुरी नलिइ किशोरकिशोरी आफै भागेर विवाह गर्ने क्रम बढेकाले उनीहरुलाई सचेत गराउन पनि रणनीतिक योजना अपरिहार्य रहेको बताउनुभएको छ । समुदाय र अभिभावक सचेत हुदैँ गएको भएपनि लुकिछिपि हुने बालविवाहलाई सदाको लागि अन्त्य गर्न सबैको साथ र सहयोग आवश्यक भएको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले सबैक्षेत्रको सक्रियताले मात्रै बालविवाह न्युनिकरण सम्भव भएको बताउनुभएको छ । बालविवाहले व्यक्ति र परिवारलाई मात्रै नभएर सिँगो समुदाय र राष्ट्रलाई नै असर गरिरहेकाले विकास र समृद्धि हाशिल गर्न पनि बालविवाह अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।