सिद्ध कुमाखमा ७७६ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइदैँ

सल्यान, २४ माघ ।
सल्यान सहित देशभर सञ्चालन भैरहेको एचपिभी खोप अभियान अन्र्तगत जिल्लाको सिद्ध कुमाखकका ७७६ किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २९ गतेदेखी सिद्ध कुमाख गाउँपालिकाभरमा ७७६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको हो । खोप अभियानको दिन नजिकिदैँ गर्दा गाउँपालिकाले खोप अभियानलाई प्रभावकारी बनाउन समुदायस्तरमा जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सोही कार्यक्रमअन्तर्गत बुधबार गाउँपालिकामा एचपिभी खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा पालिकास्तरीय खोप समन्वय समिति र सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भरत गिरीले क्यान्सरजस्तो घातक रोगबाट बच्न एचपिभी खोप अनिवार्य रूपमा लगाउनुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले अभियानलाई सफल बनाउन सरोकारवालाहरूको सक्रियता आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र यादवका अनुसार पालिकाभित्र ७७६ जना किशोरीहरुलाई खोप लगाइनेछ । जसमा वडा नं. १ मा १३२, वडा नं. २ मा ११८, वडा नं. ३ मा २२४, वडा नं. ४ मा १०६ र वडा नं. ५ मा १९६ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ ।

गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था र विद्यालयहरूमा १७ वटा खोप केन्द्र स्थापना गरिने यादवले जानकारी दिनुभयो । उहाँले खोप अभियान सफल बनाउन पालिकाले जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताउनुभयो । कार्यक्रममा सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, पालिका भित्रका विभिन्न विद्यालयका शिक्षक, बिद्यार्थी लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कक्षा ६ देखी १० सम्म अध्यन गर्ने किशोरीहरु र विद्यालय नजाने १० वर्ष देखी १४ वर्ष उमेर समूहका किशोरी गरीलाई खोप लगाउने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस