कृषिमा यान्त्रिकीकरण : खेतबारी जोत्न किसानलाई मिनिटिलर

‘पहिलेले गोरु पाल्थ्यौँ, खेतवारी जोत्न नै गोरु प्रयोग हुन्थ्यो, हामीले बर्षदिन भरी गोरु पाल्छौँ, तर हिउँद, बर्खा गरि विभिन्न समयमा जोत्नका लागि बर्षमा १२/१५ दिन गोरु चाहिन्छ, यसले हाम्रो लागत धेरै भयो, घाँस, दानापानीमा खर्च धेरै हुने भयो, खेतवारी जोत्नपनि समय लाग्ने भयो’ उहाँले भन्नुभयो ‘अहिले गाउँपालिकाले मिनिटिलर दिएको छ, यसले जोत्न सजिलो हुन्छ, कम समयमा पनि धेरै काम गर्न सकिन्छ, धान, गहुँ, मकैँ सँगै तरकारी खेतीमा काम गर्न थप सहज भएको महशुस भएको छ ।’

सल्यान, १२ फागुन ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सल्यानको त्रिवेणी गाउँपालिकाले किसानलाई आधुनिक कृषियन्त्र वितरण गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रमा हुने लागतलाई कम गर्दै आम्दानीलाई बृद्धि गर्नका लागि पचास प्रतिशत अनुदानमा कृषि तथा पशुपालन सँग सम्बन्धित आधुनिक यन्त्र किसानलाई वितरण गरेको हो । गाउँपालिकाका आधाभन्दा बढी नागरिक कृषि तथा पशुपालन पेशामा संलग्न रहेकाले किसानलाई प्रविधिसँग जोड्दै समय, श्रम, लागतलाई कम गर्दै उत्पादनमा कृषि गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

सोही अनुसार गाउँपालिका भित्रका एक दर्जन किसान तथा कृषक समुहलाई विभिन्न यन्त्र हस्तान्तरण गरिएको छ । जसका कारण कृषि तथा पशुपालनको क्षेत्रमा लाग्न हौशला मिलेको किसान बताउँछन् । त्रिवेणी गाउँपालिका–१ का चोपबहादुर केसीले पहिले परम्परागत तरिकाले खेतीपाती गर्नुहुन्थ्यो तर अहिले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटिलर दिएपछि नयाँप्रविधिको प्रयोग गर्न पाउँदा खुशि हुनुहुन्छ ।

‘पहिलेले गोरु पाल्थ्यौँ, खेतवारी जोत्न नै गोरु प्रयोग हुन्थ्यो, हामीले बर्षदिन भरी गोरु पाल्छौँ, तर हिउँद, बर्खा गरि विभिन्न समयमा जोत्नका लागि बर्षमा १२/१५ दिन गोरु चाहिन्छ, यसले हाम्रो लागत धेरै भयो, घाँस, दानापानीमा खर्च धेरै हुने भयो, खेतवारी जोत्नपनि समय लाग्ने भयो’ उहाँले भन्नुभयो ‘अहिले गाउँपालिकाले मिनिटिलर दिएको छ, यसले जोत्न सजिलो हुन्छ, कम समयमा पनि धेरै काम गर्न सकिन्छ, धान, गहुँ, मकैँ सँगै तरकारी खेतीमा काम गर्न थप सहज भएको महशुस भएको छ ।’

त्रिवेणी गाउँपालिकाले हरेक वर्ष पशुपालक तथा व्यावसायिक तरकारी उत्पादक किसानको माग र आवश्यकताको आधारमा विभिन्न कृषियन्त्र वितरण गर्दै आएको छ । विगतमा प्रम्परागत रुपमा गोरुको सहायताले खेतीपाति गर्दै आएका किसानले गाउँपालिकाको सहयोगले आधुनिक प्रविधिको प्रयोग गर्न पाएका छन् । त्रिवेणी गाउँपालिका–२ का प्रेम बहादुर राम्जाले मिनिटिलर व्यावसायिक किसानको लागि आवश्यकता भैसकेको बताउनुभयो ।

‘एक हल जोरु किन्न पचास हजार पर्छ, तर बाह्रै महिना पाल्नुपर्छ, तर मिनिटिलरले समथर भुभाग भएको, ढुंगा कम भएको खेतबारीमा जोत्न सजिलो हुन्छ, हामीले आफैले मिनिटिलर किन्न महंगो पर्ने भयो, त्यही भएर गाउँपालिकाले दिने अनुदानबाट मिटिटिलर लिएका छौँ’ उहाँले भन्नुभयो । त्रिवेणी गाउँपालिका–६ का भैसीपालक किसान प्रकाशकुमार वलीले दाना पिस्ने मेसिन अनुदानमा पाउँदा खुसी लागेको बताउनुभयो ।

गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार यस वर्ष पनि मागको आधारमा किसानलाई आधुनिक कृषियन्त्रहरू वितरण गरिएको छ । तरकारी तथा पशुपालन व्यवसायमा संलग्न किसानलाई अनुदानमा उन्नत जातका बिउ बिजन, बोका र बाख्रा समेत वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुुमबहादुर केसीले किसानको माग र आवश्यकताका आधारमा कृषियन्त्र वितरण गरिएको बताउनुभयो ।

गाउँपालिकाको कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत किसानहरुलाई १२ वटा समूह, फर्म तथा सहकारीमार्फत ११ वटा मिनिटिलर र ६ वटा कम्बाइन मिल वितरण गरिएको छ । त्यस्तै पशु विकास कार्यक्रम अन्तर्गत ७ वटा समूह, फार्म तथा सहकारीमार्फत तीन वटा डिजिटल तौल मेसिन, तीन वटा दाना पिस्ने मेसिन, दुई वटा डी–फ्रिज, एक वटा च्याप कटर, एक वटा फलामको टोकरी र एक वटा कुखुराको प्वाँख खुइल्याउने मेसिन वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले कृषि र पशुपालनमा संलग्न भएका किसानलाई प्रोत्साहन गर्न र कुशलतापुर्वक कर्मगर्न प्रोत्साहनका लागि विभिन्न यन्त्र हस्तान्तरण गरिएको बताउनुभयो । ‘त्रिबेणीमा कृषि र पशुपालनको सम्भावना धेरै छ, पुराना किसानलाई सम्मान गर्ने, नयाँलाई प्रोत्साहन गर्ने, मागका आधारमा सामाग्री दिने र उत्पादनका आधारमा अनुदान गर्ने कार्य गर्दै आएका छौँ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस