
सल्यान, ११ बैशाख ।
सल्यानमा सञ्चालित क्रिकेट प्रतियोगितामा सेमिफाइनलको होडबाट बाहिरिएका सिद्धकुमाख गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाले सान्त्वना जीत निकालेका छन् । बिहीबार भएका खेलमा सिद्धकुमाख र बन्गाडले सेमिफाइनलमा नपुगेपनि लिग चरणमा एक/एक जीत निकालेका हुन् । लुहापिङ खेलमैदानमा भएको खेलमा समुह बि मा रहेको सिद्धकुमाख गाउँपालिकाले कालिमाटी गाउँपालिकालाई ४८ रनले हराएको हो । यस समुहबाट जीत विहीन रहदैँ कालिमाटी र तीन खेलमध्ये १ खेल जितेको सिद्धकुमाख सेमिफाइनल नपुगि बाहिरीएका छन् ।
यस्तै समुह ए मा रहेको बन्गाड कुपिण्डे नगरपालिकाले छत्रेश्वरी गाउँपालिकालाई ३ विकेटले हरायो । जीत विहीन रहदैँ छत्रेश्वरी बाहिरिदा तीन खेलमध्ये एक खेलमात्रै जितेको बन्गाड कुपिण्डे नगरपालिका पनि सेमिफाइनलमा नपुगि घर फर्किएको छ । समुह ए बाट विजेता बन्दै बागचौर नगरपालिका र उपविजेता बन्दै त्रिबेणी गाउँपालिका सेमिफाइनलमा पुगेका छन् । यस्तै समुह बि बाट सेमिफाइनलमा प्रवेश गरेका शारदा र कुमाखका विचमा शुक्रवार लिग चरणको अन्तिम खेल हुदैँ छ । यस खेलपछि सेमिफाइनलमा कुनकुन टिमविचमा प्रतिस्पर्धा हुने भन्ने बारेमा टुंगो लाग्ने छ ।
शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा भएको दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको सेमिफाइलन खेल शनिवार र फाइनल खेल आइतवार हुने छ । विजेताले एक लाख नगद तथा उपविजेताले पचाँस हजार नगद प्राप्त गर्ने छ ।