शारदा मेयर कप क्रिकेटको उपाधि बागचौरलाई

सल्यान, १५ बैशाख ।
सल्यानमा सञ्चालित क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले जितेको छ । लुहापिङ खेलमैदानमा आइतवार भएको फाइनल खेलमा कुमाख गाउँपालिकालाई हराउँदै बागचौर नगरपालिकाले दोस्रो पटक दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । फाइनल खेलमा बागचौरले टस जितेर पहिले फिल्डिङ रोजेपछि कुमाखले ब्याटिङ गरेको थियो । अपराजित बागचौरले अपराजित कुमाखलाई ४ विकेटले हरायो ।

कुमाख निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रनमा समेटियो । कुमाखका लागि राजेश विकले सबै भन्दा धेरै ४७ रन जोड्नुभयो । उहाँले ४३ बलमा ४७ रनको पारी खेल्दै नटआउट रहनुभयो । यस्तै सुरज बुढाथोकीले २४ तथा जेनिस बुढाथोकीले १८ रन जोडेपनि अरु ब्याट्सम्यान लामो समय क्रिजमा टिकेनन् । कुमाखलाई सस्तैमा समेट्ने क्रममा बागचौरका सुरज चन्दले ४ ओभरमा २५ रन खर्चिदैँ २ विकेट लिनुभयो । यस्तै निर्मल डाँगी, हेमराज बस्नेत, राजन वली र गगन वलीले समान १/१ विकेट लिनुभयो ।

१२८ रनको लक्ष्य सहित मैदान छिरेको बागचौरले १७ ओभरमा ६ विकेट गुमाउँदै भेटायो । बागचौरको जीतका लागि किशोर वलीले ३८ बल खेल्दै ४९ रनको योगदान दिनुभयो । यस्तै निर्मल डाँगीले १९ तथा सुर्य सुनारले १५ रन जोड्नुभयो । कुमाखका सुमन भडेलले ४ ओभरमा २१ रन दिदैँ २ विकेट लिनुभयो । यस्तै सुरज बुढाथोकीले २ तथा कुशल डाँगी र जेनिश बुढाथोकीले समान १÷१ विकेट लिनुभयो । यस खेलमा बागचौरका किशोर वली प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

लिग चरण देखी नै अपराजित रहेको बागचौरले उपाधिसँगै एक लाख नगद र मेडल, कप तथा प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता बनेको कुमाखले पचास हजार नगद सहित मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपाधि जितेसँगै बागचौरका कप्तान बामदेव केसीले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रर्दशन गर्नसकेका कारण दोस्रोपटक उपाधि जितेको बताउनुभयो । उपविजेता कुमाखका कप्तान बालकृष्ण गिरीले आफ्नो पुरैटिमले गरेको प्रर्दशनको प्रशंसा गर्दै आगामी दिनमा हुने प्रतियोगितामा थप मेहनत गर्ने बताउनुभयो ।

शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा भएको दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई सम्मान गरिएको छ । जसमा आफ्नो खेलअवधिभर ब्याटिङमा ११६ रन तथा बलिङमा ८ विकेट लिएका त्रिबेणीका सुरज केसी प्लेयर अफ द सिरिज हुदैँ दश हजार प्राप्तगर्नुभयो । यस्तै वेष्ट बेलरको रुपमा कुमाखका बिष्णु वली, वेष्ट ब्याट्सम्यानको रुपमा कुमाखकै सचिन विक, वेष्ट फिल्टरको रुपमा कालिमाटीका बिष्णु चौधरी, इमर्जिङ प्लेयरको रुपमा त्रिबेणीका सुमित भण्डारी, वेष्ट किपरको रुपमा त्रिबेणीका मोहन केसी तथा फ्यान अफ द टुर्नामेण्ट नविन बस्नेतले प्राप्त गर्नुभयो ।

शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारको अध्यक्षतामा भएको समापन कार्यक्रममा बागचौर नगरपालिका प्रमुख जनक राज गौतम, कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका २ का वडाअध्यक्ष सविन हमाल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस